प्रधानमन्त्री कार्कीले भनिन्- प्रजातन्त्र र लोकतन्त्रको मार्गमा अघि बढ्न निरन्तर अभ्यास आवश्यक छ

डिसी नेपाल
२२ माघ २०८२ १९:२६
16
Shares

काठमाडौं। प्रधानमन्त्री शुसीला कार्कीले देशमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिन थालेको बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को मूल समारोह समिति गठन तथा कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको उल्लेख गरिन्।

उनले भनिन्, ‘अलिकति देशमा परिवर्तन पनि आएको छ। भदौ २३ र २४ को आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको छ। हरेक ठाउँमा नयाँ युवाहरूलाई, अहिलेको युवतीहरूलाई ठाउँ दिनुपर्ने भावना आएको छ मुलुकमा।’

प्रधानमन्त्री कार्कीले हरेक क्षेत्रमा नयाँ पुस्ता, विशेषगरी युवाहरू र युवतिहरूलाई अवसर दिनुपर्ने भावना बलियो हुँदै गएको बताइन्। यही भावनाबाट प्रजातन्त्र फस्टाउने र विकसित हुने उनको भनाइ थियो। उनले बनेको संविधानको मूल्यांकन गर्दै त्यसलाई कार्यान्वयनमार्फत अघि बढाउनु नै वर्तमान व्यवस्थाको प्रतीक भएको स्पष्ट गरिन्।

उनले वर्तमान व्यवस्था एकैदिनमा आएको नभई २००७ सालको परिवर्तन, २०१७ सालको राजनीतिक घटनाक्रम, २०६२/६३ को जनआन्दोलन तथा ऐतिहासिक संघर्षहरूको परिणामस्वरूप संविधान बनेको बताइन्। पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’ एक–दुई दिनको भए पनि भेलझै ठूलो प्रभाव पार्ने खालको भएको उनको भनाइ थियो।

उनले भनिन्, ‘प्रजातन्त्र फस्टाउने, फूलाउने एउटा संविधान जो बनेको छ त्यसको मूल्यांकन गर्ने मुलुकमा एउटा सिस्टमलाई हाँकेर लिएर जाने त्यसकै प्रतिक हो यो एउटा। यो व्यवस्था एक दिनको कुराले आएको होइन, २००७ सालमा आयो, २०१७ साल आयो, ६२, ६३ को आन्दोलन र इतिहासिक हिस्ट्रीले नै संविधान आएको हो। अब यो जेनजी आन्दोलन एक दुई दिनको भए पनि यो भेल जस्तो ठूलो आयो। हामीले परिवर्तित हुनु परेको पनि छ। प्रजातन्त्रको लागि, लोकतन्त्रको बाटोमा जानको निम्ती अभ्यास गर्नुपर्ने छ।’

प्रधानमन्त्री कार्कीले समयअनुसार आफूहरू पनि परिवर्तित हुनुपर्ने आवश्यकता औंल्याउँदै प्रजातन्त्र र लोकतन्त्रको मार्गमा अघि बढ्न निरन्तर अभ्यास आवश्यक रहेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.