‘अरुलाई आरोप लगाएर ओखलढुंगाको अपमान गर्दैनौं, आफ्नै एजेण्डा र उम्मेदवारका कारण जित्छौं’ : एमाले ओखलढुंगा
ओखलढुङ्गा। नेकपा एमालेले ओखलढुंगामा विपक्षीमाथि आरोप–प्रत्यारोप नगरी आफ्नै एजेण्डा र उम्मेदवारको आधारमा निर्वाचन जित्ने दाबी गरेको छ।
जिल्ला सदरमुकाम ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले जेनजी पुस्ताकी युवा, लोकप्रिय र कुनै दाग नलागेकी उम्मेदवार भएकाले पार्टीले सकारात्मक एजेण्डामार्फत जनताको विश्वास जित्ने प्रक्षेपण गरे।
उनले आफू संविधानसभा सदस्य तथा सांसद रहँदा अघि बढाइएका तर अधुरा रहेका विकास आयोजनाहरू अब युवा उम्मेदवार अस्मिता थापाको कार्यकालमा टुंगो लगाइने बताए। ‘समयको माग बुझेर पार्टीले जुझारु र स्वच्छ छवि भएको युवा नेतृत्वलाई उम्मेदवार बनाएको हो,’ सुनुवारले भने, ‘पालिका र वडास्तरमा पुग्दा उम्मेदवार अस्मिता थापाप्रति जनताको अपार समर्थन देखिएको छ।’
टिकट वितरणपछि केही व्यक्तिले पार्टी छाडे पनि त्यसको क्षतिभन्दा धेरै समर्थन आफूहरूले प्राप्त गरिसकेको उनको दाबी छ। ‘पहिले निष्क्रिय रहेका धेरै साथीहरू अहिले पार्टी जिताउन एकजुट भएका छन्, त्यसैले जितमा समस्या छैन,’ उनले भने।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार अस्मिता थापाले कसैलाई आरोप लगाएर वा वाद-विवाद गरेर ओखलढुङ्गाको अपमान नगर्ने स्पष्ट पारिन्। ‘म गाली- गलौज र आरोपको राजनीति गरेर होइन, एजेण्डा र कामको भरोसामा चुनाव लड्न चाहन्छु,’ उनले भनिन्।
युवा पुस्ताको भावना आफूले नजिकबाट बुझेको उल्लेख गर्दै थापाले गाउँमै बसेर भोगेका समस्या र समाधानलाई संसद्मा पुर्याउने प्रतिबद्धता जनाइन्। ‘आमा, दिदीबहिनी र युवाका पीडा मैले नजिकबाट देखेकी छु,’ उनले भनिन्, ‘अब ती आवाज विधि निर्माणको थलोमा बोल्नेछु।’
अग्रज नेताहरूले थालेका विकास कार्यलाई पूर्णता दिने र मानवीय पुँजी विकासमा केन्द्रित नयाँ योजनासहित जनतामाझ जाने उनले बताइन्। व्यवसायिक तथा रोजगारमूलक शिक्षा र आधारभूत स्वास्थ्य सेवा आफ्नो मुख्य प्राथमिकता रहने पनि थापाको भनाइ छ।
पत्रकार सम्मेलनमा एमाले जिल्ला संयोजक हर्कबहादुर राईले ओखलढुङ्गामा ठूलो विद्रोह भएको भन्ने प्रचार भ्रामक भएको दाबी गरे। उनका अनुसार ९ जनाले मात्र पार्टी छाडेका छन्। तीन जना निर्वाचित वडाध्यक्षलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए निर्वाचन आयोगमार्फत पदमुक्त गर्ने प्रक्रिया अघि बढाइने जानकारी पनि दिइयो।
पत्रकार सम्मेलनमा केन्द्रीय सल्लाहकार किशोर अधिकारी, प्रदेश कमिटी सचिवालय सदस्य नानीबाबु बुढाथोकी, मोहन श्रेष्ठलगायत नेताहरूको उपस्थिति रहेको थियो।







डिसी नेपाल






Facebook Comment