यस पटक कांग्रेसले दुई तिहाइ ल्याउँछ, ०१५ साल दोहोरिन्छ : कबिर राणा

डिसी नेपाल
२३ माघ २०८२ १३:३२
288
Shares

काठमाडाैं। करिब चार दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका कबिर राणा नेपाली काँग्रेसका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्।

आफूलाई मिसन पत्रकारितामा स्थापित गराएका राणा आफ्नो क्षेत्रको विकास, जनताको कल्याण र सामाजिक न्याय सुनिश्चित गर्न निरन्तर प्रयासरत छन्। पार्टीको नीति र लोकतान्त्रिक मूल्य-मान्यतालाई आफ्नो क्षेत्रमा पुर्याउन क्रियाशील राणासँग नेपाल न्यूज बैंकले चुनाव केन्द्रीत कुराकानी गरेको छ।

चुनावको तयारी कसरी गरिरहनुभएको छ, मतदाताहरुको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?

विशेषत पार्टीका विभिन्न निकाय अन्तर्गत जिल्ला, क्षेत्रीय, नगर समितिसम्मको मिटिङ चलिरहेको छ। पार्टीको संगठनहरुलाई सक्रियता बढाउँदै गइरहेका छौं । फुर्सदको समयमा मतदाता पनि भेटिरहेका छौं ।

घरदैलो त सुरु गरेका छैनौं तर विभिन्न भेगमा पुगेर ज्येष्ठ नागरिकहरु, जात्रामात्रा, स्वस्थानी पूजा अन्य गतिविधिहरुमा सामेल भइरहेको छौं । भेटले उत्साहित बनाएको छ । कांग्रेस सच्चिएर र बदलिएर आएकाले थप उत्साह थपेको छ । विशेष परिस्थिति हुन लागेको चुनाव कांग्रेस सच्चिएर र नेतृत्व परिवर्तन गरेर आएकाले थप उत्साह थपेको छ ।

म झन्डै साढे चार दशक भन्दा बढीदेखि राजनीतिमा क्रियाशील छु । साढे तीन दशक भन्दा बढी पत्रकारितामा क्रियाशील भए । वकिल पनि भएकाले हरेक विषयमा जानकार पनि छु । दुःख गरेको, जेलनेल भोगेको र अनुभवी पनि भएकाले मतदाताहरुले स्नेह गरिरहनु भएको छ ।

०४९ सालमा स्थानीय चुनाव जितेर ०५४ सम्म भक्तपुर जिल्ला विकास समितिमा जिल्ला सदस्यको रुपमा पनि कार्यरत गरेको थिए । त्यसबेलाको कामप्रति भक्तपुरबासी अत्यन्तै खुशी पनि हुनु भएको छ ।

म पदमा हुँदा निर्विवाद र निष्कलंक भएको हुनाले नै जिल्लास्तरीय राजनीतिक हाइट बनेको थियो । त्यसलाई मैंले कायमै राखेको छु । मैंले टिकट पाउँदा जनता खुसी नै छन् । र कांग्रेसका समर्थक एवम शुभचिन्तक सबै खुसी छन् ।

चुनावी दौरानमा शुभेच्छुक र मतदाताको घरदैलोमा पुग्दा उहाँहरुको अपेक्षा चाहीं कस्तो पाउनुभयो ?

एकदमै सुन्दर ठाउँ हो भक्तपुर । जेनजी आन्दोलनपछि सबैले माग गरेको कुरा सुशासन नै हो । यस बीचमा धेरै कुशासन र भ्रष्टाचारका कामहरु भए । त्यसलाई निर्मुल पार्ने हाम्रो जिम्मेवारी छ ।

०६२-६३ को आन्दोलनपछि तीन चार जनाको नेतृत्वमा म्युजिकल चेयर जस्तो गठबन्धनको सरकार चलिरहयो । जसका कारण मान्छेहरु वाक्क दिक्क भएका थिए । जेनजी आन्दोलनले पनि सुशासन र सामाजिक संजाल निर्वाद संचालनको माग गरिएको हो ।

किनभने सामाजिक संजालबाट युवाहरुले स्वदेशमा बसी बसी मजाले कमाइरहेका थिए, त्यो रोकियो । सुशासनको कुरा उठाइरहेका थिए । त्यो रोकिएकाले विद्रोह भएको हो । अब हामीले त्यसलाई सम्बोधन गर्नैपर्छ ।

त्यो सम्बोधन गर्नका कांग्रेसमा चौथो पुस्ताका भनौं जेनजी खालकै नेतृत्व आएको छ । उनीहरुको पहिलो बैठकबाटै निर्णय गर्दै पार्टी बदलिएको सन्देश दिइसकेका छन् । अब देश बदल्नुपर्छ । जेनजीको भावनाको सम्बोधन हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं ।

भक्तपुरको कुरा गर्दा यो कला, संस्कृति र सम्पदाको धनी जिल्लाको हो । यहाँको कला संस्कृति सम्पदामा अझ सुधार गरेर र संरक्षण गरेर अघि बढ्नुपर्छ भन्ने लाग्छ ।

विश्वकै एक नम्बर टुरिस्ट हब बनाउनेगरी काम गर्नु पर्नेछ । संघीय संसद भनेको नीति निर्माता हो, जो सरकारले संचालनका लागि आवश्यक छ । त्यसका लागि मेरो भूमिका अर्थपूर्ण हुन्छ । पत्रकार भनेको स्थायी प्रतिपक्ष हो।

चौथो अङ्ग वाचडगका रुपमा काम गर्नुपर्ने, सरकारको विपक्षमा काम गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि पोख्त छु । कानुनको पनि विद्यार्थी भएको हुनाले संसदमा मलाई सजिलो पनि हुन्छ । हरेक विधेयक वा ऐन बनाउने कुरामा भूमिका म अब्बल सावित हुनेछ । यो कुरा भक्तपुरका जनताले बुझेका छन् ।

म चुनाव लडेको क्षेत्र खानेपानीको हाहाकार भएको ठाउँ हो, भर्खरै भर्खरै मेलम्चीको पानी आएको छ । तर यहाँ मेलम्चीको पानी बर्खा याममा त आउँदै आउँदैन । त्यसको लागि स्थायी रुपले केही न केही काम गर्नुपर्नेछ । यता आशापुरीमा एउटा स्थायी खानेपानीको स्रोत छ ।

त्यसलाई स्रोत बनाएर पानी संकलन गरेर क्षेत्रभरि वितरण गर्न सकियो भने केही वर्षसम्मको लागि सहज हुनेछ । बस्ती बढ्दै गएकाले खानेपानीको समस्या समाधान गर्नैपर्ने वाध्यता छ । नैचालमा पनि पानीको स्रोत भएकाले त्यहाँबाट पनि खानेपानी ल्याउन सकिने आधारहरु छन् । यसमा म पहल गरेर काम गर्नुसक्छु ।

त्यसबाहेक भक्तपुरमा मुख्य नदीको रुपमा रहेको हनुमन्ते खोला जसको ०३७।३८ सालसम्म हामी त्यही नुहाएर त्यहीको पानी लगेर पुजा गरेर खाने खान सक्ने अवस्था थियो । अहिले त्यहाँ खुट्टा डुबाउन सक्ने अवस्था पनि छैन । त्यहाँ ढल मिसाउन रोकेर ट्रिटमेन्ट गरेर सफा हनुमन्ते बनाउन पहल गर्नुपर्नेछ ।

हनुमन्ते करिडोरको नारा उठेको छ, त्यो तर नारामै सिमित छ । अहिलेसम्म त्यो अगाडि बढ्न सकेको छैन । त्यसलाई पूरा गर्नुपर्नेछ । भक्तपुरमा सहरीकरण बढेको छ तर अव्यवस्थित छ । अब व्यवस्थित सहरीकरण गरेर भक्तपुर नमुनाको शहर बनाउन पनि लागि पर्नेछु ।

अन्य मुद्दा र अपेक्षा के के छन् ?

भक्तपुरमा धेरै धार्मिक एवम सांस्कृतिक स्थलहरु छन् । सुर्यविनायकमा केदारनाथको शिर डोलेश्वर आशापुरी, अनन्त लिङ्गेश्वर जस्ता धार्मिक तीर्थस्थलहरु छन् । प्राणी उद्यान केन्द्रको पनि काम भइरहेको छ । सदर चिडियाखाना यहाँ सार्ने कुरा पनि भइरहेको छ । त्यसका लागि काम सुरु भइसकेको छ, त्यसका लागि थप पहल गर्नुपर्नेछ । मध्यपुर भनेको कला र संस्कृतको नगर हो, त्यहाँ जात्रा र भजन मण्डली धेरै हुन्छन् त्यसको संरक्षण गर्नुपर्नेछ ।

जात्रा र संस्कृतिको सहर भएकाले त्यसको संरक्षण गर्नुछ । सम्पूर्ण भक्तपुरको कला संस्कृति सम्पदालाई संरक्षण गर्नुपर्ने मेरो दायित्व छ । भक्तपुरबासी उद्योग धन्दामा पनि बढि सक्रिय भएकाले इँटाभट्टा उद्योगहरु, कृषि उद्योगहरु, जग्गा प्लटिङको समस्याहरु छन् । जसमा नीतिगत मात्र होइन अन्य व्यवहारिक समस्याहरु पनि रहेकाले त्यसको समाधानमा काम गर्नुपर्नेछ ।

इँटाभट्टा र प्लटिङको चाहीं कस्ता किसिमका मुद्दाहरु उठेका छन् ?

इँटाभट्टाले त धेरैलाई रोजगारी दिएको छ र व्यवसाय पनि चलेको छ । यसले प्रदूषण ल्यायो भन्ने छ र उब्जनीमा र्हास गर्यो भन्ने छ । इटाभट्टा क्षेत्रको जग्गामा उब्जनी राम्रोसँग हुँदैन भन्ने छ । तर अहिले यस्ता उद्योगहरु आधुनिकरण भइसकेका छन् । पहिलेजस्तो प्रदूषण हुँदैन् । स्थानीय मात्र होइन देशभरिका मान्छेलाई रोजगारी दिइरहेको छ । पछिल्लो समय यस्ता उद्योगहरु वातावरणमैत्री भइसकेका छन् । जहाँसम्म प्लटिङको कुरा छ त्यो सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

किनभने साना साना टुक्रामा जग्गा टुक्राएर बन्ने शहर व्यवस्थित हुँदैन । आधुनिक किसिमले गरिएको प्लटिङबाट मात्र व्यवस्थित शहर बसाल्न सकिन्छ । यसका लागि सरकारले मै सामेल भएर नयाँ नीति ल्याउनु पर्नेछ । त्यसका लागि म पूर्ण रुपमा सक्रिय हुनेछु ।
पछिल्लो समय वैकल्पिक भनिएका नयाँ दलहरु खुलेका छन् र चुनावी मैदानमा छन् । उनीहरु पूराना पार्टीहरुप्रति घेरावन्दी र मोर्चावन्दी गरिरहेका छन् । त्यस्तो

चुनौतीको सामना कसरी गर्दै हुनुहुन्छ ?
उहाँहरुले पूराना भनिएका पार्टीहरुप्रति विभिन्न आरोप लगाइरहेका छन् । त्यो सबै मिथ्या छ । किनभने उहाँहहरुले पनि अघिलो चुनावमा जितेर सांसद बन्नुभएको र गृहमन्त्री वा उपप्रधानमन्त्री बनिसक्नुभएको हो । अनि सरकारमा जाँदा एउटा भाषा, प्रतिपक्षमा बस्दा अर्को भाषा बोल्न सुहाँउँछ ? नयाँ भन्ने दलका मान्छेको चरित्र र व्यक्तित्व एक पटक राम्ररी हेर्नुहोला । उहाँहरुमाथि पनि आरोपै आरोप छ ।

सबै उम्मेदवार माथि आरोप छ । कांग्रेस मात्र यस्तो पार्टी हो जो नयाँ भयो, हालै विशेष महाधिवेशनपछि नयाँ कांग्रेस आएको छ । नयाँ नेतृत्व आएको छ । हालको चुनावमा पनि कांग्रेसको झण्डै झण्डै दुई तिहाई नयाँ अनुहार उम्मेदवार छन् । अहिले १६५ मा १०६ त नयाँ अनुहारले टिकट पाएका छन् । लोकतन्त्र, समाजवाद राष्ट्रियता स्थापित नारा स्थापना कालदेखिकै हो । केन्द्रीय समितिले १० वटा बुँदा नारा सबैभन्दा नयाँ छ। अनि कसरी अरु नयाँ पार्टी हुन्छन् ?

तपाईको पार्टी कांग्रेसभित्र पनि एउटा पक्ष त असन्तुष्ट छ नि ?

भक्तपुरको हकमा त्यस्तो असन्तुष्टि केही छैन । आठ आकांक्षीमध्ये एक जना आधिकारिक उम्मेदवार भइसकेकाले केही दिन सामान्य असन्तुष्टि जस्तो देखिएको हो, त्यो मानवीय स्वभाव पनि हो । त्यो सम्पूर्ण रुपमा मिलिसकेको छ । आन्तरिक गुट चाहीं कांग्रेसमा जहिले पनि छ । २०१२ सालमा गणेशमानजी र सुवर्ण सम्शेरजी चुनाव लडेकै हो । त्यसबेलादेखि धेरै चुनावहरु भए, महाधिवेशन भए । सर्वसम्मत नेतृत्व भनेको त किसुनजी मात्रै हो ।

त्यसबाहेक सधै चुनाव भएका छन् । लोकतान्त्रिक पार्टीमा चुनावी प्रतिस्पर्धालाई गुट वा विवादका रुपमा लिनु हुँदैन । कांग्रेसमा एउटा संस्कार राम्रो के छ भने टिकट बाँड्नु अगाडि जतिसुकै विवाद भएपनि टिकट पाएपछि सबै रुखलाई बोकेर हिड्छन । पार्टीका सबै नेताहरु परिपक्व हुनुहुन्छ । सबैजना अभिभावकका रुपमा हुनुहुन्छ ।

विगतको मत परिणामलाई चाहीं कसरी हेर्नुहुन्छ ?

भक्तपुर २ को सन्दर्भका कुरा गर्दा ०४८ सालपछि मत खस्ने जुर परिपाटी र अवस्था हेर्दा कहिले नेपाली कांग्रेस कहिले नेपाल मजदूर किसान पार्टीले मतमा तलमाथि हुँदै आएको हो । ०१५ साल, ०४८ सालमा कांग्रेसले जितेको हो । ०५१ मा नेमकिपा पहिलो, दोस्रो राप्रपा, तेस्रो कांग्रेस, चौथो एमाले भएको हो ।

०५६ मा कांग्रेसले जित्यो, दोस्रो नेमबकिपा, तेस्रो एमाले भएको हो । ०६४ मा नेमकिपा पहिलो हुँदा हामी दोस्रो भएका हौं । त्यसपछिका चुनावमा पनि हामीले वाजी मारेका छौं । पूर्वसभामुख दमननाथ ढुंगाना चुनाव लडेको बेला टेक्निकल्ली समस्या भयो । वास्तवमा एमाले यस क्षेत्रमा तेस्रो हो । जुनसुकै हालतमा पनि नेपाली कांग्रेस यस क्षेत्रमा बलियो हो । ०१५ सालदेखि भक्तपुर २ नेपाली कांग्रेसको गढ क्षेत्र हो ।

तर पछिल्लो समय मतदाताहरुको मनोविज्ञान अलिकति खलबलिएको जस्तो देखिन्छ, यस पटक मत परिवर्तन गर्ने संकेत देखिएको छ नि ?

सामान्य ह्वीम जस्तो देखिन्छ तर हामी मतदाताहरुको घरमा पुग्दा धेरै भिन्नता पाएनौं । पाका र युवा मतदातामा थोरै फरकपन पाएका छौं । हालै नेपाली कांग्रेस आयोजना गरेको भेलामा करिब २५ प्रतिशत सहभागी २५ बर्ष उमेर समूह मुनीका थिए । पार्टीभित्र जेनजीहरुको वाहुलियता छ ।

चुनावमा जेनजीलाई सम्बोधन गर्ने भनेरै हाम्रा प्रतिबद्धता पत्र अनि संकल्प पत्र लिएर आइसकेका छौं । गत भदौ २३ को घटनापछि कांग्रेसका तत्कालीन महामन्त्रीद्वयले माफी मागेर जेनजीका भावनासँग सहमत रहेको जानकारी दिइसक्नु भएको छ ।

जेनजीहरुको भावना र उनीहरुले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्नेगरी प्रधानमन्त्री नै घोषणा गरेर जाने परिस्थिति निर्माण भएको छ । ०१५ सालमा पनि बिशेष महाधिवेशन गरेर सुवर्ण शमशेरजी बिपी कोइरालालाई भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा कांग्रेसले दुई तिहाई बहुमत पाएको थियो ।

०५१ मा हामी दोस्रो पार्टीमा खुम्चिएका थियौ । ०५६ मा किसुनजीलाई भावी प्रधानमन्त्री भनेर प्रस्तावित गरेर जाँदा ०४८ को इक्वेसनमा फर्केका थियौं । हाल गगन थापाजी युवाहरुमाझ वा जेनजीहरुमाझ सबैभन्दा प्रभावशाली र प्रभावकारी देखिनु भएकाले पार्टी उपसभापति एवम पूर्वमहामन्त्रीले आफूभन्दा जुनियरलाई आफ्नै कार्यसमितिको सभापति बनाउनुभयो र प्रधानमन्त्रीको प्रस्ताव पनि उहाँले गर्नुभयो । केन्द्रीय समितिले सर्वसम्मतले पास नै गर्यो । जसका कारण जनतामा युवा कांग्रेस वा नयाँ कांग्रेस र जेनजीको भावना अनुसार चल्ने कांग्रेस भन्ने सन्देश गएको छ । त्यसले कांग्रेसको मत बढाउँछ जस्तो लाग्छ ।

त्यसोभए भक्तपुर २ मा तपाईको मुख्य प्रतिस्पर्धी को हो त ?

यसबीचमा धेरै मिडियाहरुमा अन्तरवार्ता दिएको छु । सबैमा मैंले जनतालाई जनार्दन मानेको छु । जनताको मन जितेर मतदान जित्नेमा विश्वस्त छु । म जनता बाहेक कसैलाई सोध्दा नि सोध्दिन हेर्दा नि हेर्दिन । कुनै पार्टी वा कुनै उम्मेदवारलाई मेरो वैरभाव छैन् । कसैलाई आलोचना गर्नु पनि छैन । त्यसैले मेरो प्रतिस्पर्धा भनेको जनता हो । जनताको मन जित्ने हो । कसैलाई प्रतिस्पर्धी मानेर होच्याउन पनि चाहन्न । सबै साथीहरु जनतामा जानुपर्छ, जनताको मन जित्न लाग्नुपर्छ ।

मन जित्ने कुरामा म एक नम्बर हुन्छु भन्नेमा विश्वस्त छु । जनताको सेवक हुन लागेको हुँ, शासक होइन । राजनीति भनेको पेशा होइन, समाजसेवा हो नि । म झण्डै पाँच दशकदेखि राजनीतिमा क्रियाशील छु, नजिकबाट नियालिरहेको छु । जनताको सेवक बाहेक मैले आफुलाई शासक रुपमा कहिले काम गरेको छैन् । किनभने म कुनै सार्वजनिक पदमा छैन । तर सरकारको नजिक भएर जजिसक्दो जनताको सेवा गरेको छु । मेरो हैसियतले भ्याएसम्म सेवा गरेको छु । जनताको मन जित्ने मान्छे हुँ, अहिलेपनि जनताको मन जित्न लागिरहेको छु ।

मतदाताप्रति तपाईको सन्देश के छ ?

जेनजी विद्रोहपछि हुन लागेको विशेष परिस्थितिको यो चुनावमा सबै सचेत हुनुपर्छ भन्न चाहन्छु । यतिबेला गरेको मतदानले गैरजिम्मेवार शक्तिको उदय नहोस । अराजनीतिक शक्ति उदय हुँदा राष्ट्र नै संकटमा पर्नसक्ला वा तानाशाह जन्मेला भन्नेमा सबैजना सचेत हुनुपर्नेछ । मुलुक विषम परिस्थितिमा छ , लोकतन्त्र संकटमा छ भन्ने चर्चा भइरहेकाले यसमा सबै मतदाता सचेत हुनुपर्नेछ ।

०७ साल, ०४६ साल, ६२।६३ सालको आन्दोलनको नेतृत्व गरेको कांग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन प्रमूख भूमिका निर्वाह गरेको कांग्रेस पाको हो तर युवा नेताले हाँकेको पार्टीलाई मतदाताले मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।

बिपी कोइरालाले भनेको जस्तो ‘आफूमा कन्फ्युजन हुन लाग्यो भने आफू बसेको धर्तीको एक मुठी माटो लिएर आत्मालाई सोचेर निर्णय गर्नु’ भनेको जस्तो अहिलेका मतदाताले पनि त्यही गर्नुपर्ने अवस्था छ । त्यससैले देशभरका मतदाताहरुलाई आब्हान गर्छु– फागुन २१ गते नेपाली कांग्रेसका देशभरिका उम्मेदवारलाई मतदान गरी कांग्रेसको सरकार बन्ने वातावरण बनाइदिनुहोला भन्न चाहन्छु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.