‘टक्लु दाई’को विश्वकप डेब्यू
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आगामी पुरुष टी-२० विश्वकप २०२६ का लागि कमेन्टेटरहरूको विस्तृत सूची सार्वजनिक गरेको छ। यसपटकको प्यानलमा विश्व क्रिकेटका दिग्गज खेलाडी, पूर्व कप्तान, अनुभवी प्रसारक तथा महिला कमेन्टेटरहरू समेत समावेश छन्।
नेपाली फ्यानमाझ टक्लु दाईको नामले चर्चित क्रिकेट कमेन्टेटर एन्ड्रयु लियोनार्डले पनि यसपटक विश्वकपका खेलको कमेन्ट्री गर्नेछन् । यसअघि विश्वकप छनोटसम्मको कमेन्ट्री गर्ने अवसर पाएका उनले विश्वकपमै अवसर पाएको पहिलो पटक हो ।
कमेन्टेटरको सूचीमा रवि शास्त्री, नासिर हुसेन, इयान स्मिथ, इयान बिशप, कुमार संगकारा, दिनेश कार्तिक, आरोन फिन्च, कार्लोस ब्रेथवेट, रोबिन उथप्पा, वसिम अकरम, सुनिल गावस्कर, म्याथ्यु हेडन, रमिज राजा, डेल स्टेन, वकार युनुस, साइमन डुल, शन पोलक, इओइन मोर्गन लगायतका नाम छन्।
त्यसैगरी महिला कमेन्टेटर केटी मार्टिन, नाटाली जर्मानोस, क्यास नाइडु पनि प्यानलमा छन्। अफ्रिका, एसिया र युरोपका क्षेत्रीय आवाजहरूमा म्पुमेलेलो म्बाङ्ग्वा, अथर अली खान, बाजिद खान, रौनक कपूर, नील ओ’ब्राइन, प्रेस्टन मोम्सेन लगायतका नाम समावेश छन्।
विशेष रूपमा नेपालमा लोकप्रिय एन्ड्रयु लियोनार्ड (टक्लु दाई) पनि यसपटकको आधिकारिक कमेन्ट्री टोलीमा परेका छन्। उनले एसोसिएट राष्ट्रहरूको क्रिकेटलाई विश्व स्तरमा आवाज दिने काम गर्दै आएका छन्।
आइसीसीका अनुसार यो प्यानलले विश्वकपका सबै खेलहरूमा प्रत्यक्ष प्रसारणमार्फत दर्शकलाई रोमाञ्चक अनुभव दिनेछ।








डिसी नेपाल






Facebook Comment