एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन

डिसी नेपाल
२६ माघ २०८२ १८:२६
24
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिएक छन्।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टोली तयारी निर्देशक ओलम्पियन दीपक विष्ट, उपनिर्देशक दीपक श्रेष्ठसहितको टोलीसँगको भेटमा यस्तो निर्देशन दिएकी हुन्।

आगामी असोजमा जापानमा हुने एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन आवश्यक बजेट र अन्य बन्दोबस्त मिलाउन पनि प्रधानमन्त्री कार्कीले सदस्यसचिव मेहतालाई निर्देशन दिइन्।

राखेपले एसियाली खेलकुदमा पदकलाई लक्षित गरी दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ। चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिनासम्म कार्यक्रम सञ्चालन हुने भएपछि बाँकी रकम व्यवस्थापनका लागि रकमको व्यवस्था गरिदिन निर्देशक विष्टले अनुरोध गरेका थिए।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पनि आवश्यक समन्वय गरिरहेको बताइन्। प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरी लक्ष्य पूरा गर्न भन्दै फागुन २१ को निर्वाचनलगत्तै विशेष प्रशिक्षण जारी राख्न पनि निर्देशन दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.