मुस्ताङको संस्कृति र सम्पदाबारे राजधानीमा चर्चा

डिसी नेपाल
२७ माघ २०८२ २१:३३
20
Shares

काठमाडौं। मुस्ताङको इतिहास, संस्कृति तथा सम्पदाको उजागर गर्नुपर्नेमा मुस्ताङवासी र सरोकारवालाहरूले जोड दिएका छन्।

नेपाल समाज मिडिया प्रालिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले मुस्ताङको इतिहास र सम्पदाको जति ऐतिहासिक महत्त्व छ त्योअनुरूप त्यसको महत्त्व उजागर हुन नसकेको धारणा राखे।

कार्यक्रममा सोबारिया इन्टरनेशनल कलेजका संस्थापक निर्देशक आम्ची तेन्जिन धार्केले मुस्ताङको उपचार प्रद्धति र अभ्यासबारेमा जानकारी गराए। त्यहाँको उपचारविधि ‘एलोपेथी’, ‘होमियोपेथी’, र आयुर्वेदजस्तै रहेकाले देशव्यापी उपचार पद्धतिको रूपमा विकास गर्नुपर्ने उनले धारणा राखे।

हिमाली जडीबुटीबाट सस्तोमा औषधि उत्पादन हुने, उद्योग खोलेर रोजगारी दिन सकिने, वातावरणमैत्री हुने, पर्यटन प्रवद्र्धन र औषधि आयातमा कमी आउने भएकाले यसमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए।

योगी नरहरिनाथ बृहत् अध्यात्म परिषद्का महासचिव डा योगी दयानाथले मुस्ताङका बारेमा शिवपुराण, हिमवतखण्डमा तथा नरहरिनाथका एक दर्जन पुस्तकमा हिमाली जडीबुटी र त्यहाँको उपचार विधि उल्लेख भएको बताए।

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले मुस्ताङलाई धार्मिक एवं सांस्कृतिक पर्यटनको हब बनाउन सकिने बताए। उनले यसलाई बौद्ध तीर्थस्थलका रूपमा विकास गर्न सकिने बताए।

मुस्ताङका पूर्वअधिराजकुमार जिग्मे सेङ्गे पल्बरले मुस्ताङ १५ औँ शताब्दीमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसियालाई जोड्ने सेतु रहेको बताए। उनले नेपालको परिचय दिने मुस्ताङ पछिल्लो समय जलवायु परिवर्तन र बसाइँसराइको मारमा परेकाले मुस्ताङको संस्कृति परम्परा संरक्षणमा चुनौती देखिएको धारणा राखे।

विश्व वन्यजन्तु कोषका कन्ट्री डाइरेक्टर डा घनश्याम गुरुङले मुस्ताङको मौलिक संस्कृति जगेर्ना गर्नुपर्ने बताए।

नेपाल समाजका सल्लाहकार पुण्यप्रसाद पराजुलीले सरकारी तवरबाट मुस्ताङको महत्त्व उजागर गर्नेतर्फ ध्यान जान जरुरी रहेको धारणा व्यक्त गरे।

पद्यकन्या क्याम्पसका उपप्राध्यापक उमेश रेग्मीलगायतले मुस्ताङको इतिहास र सांस्कृतिक सम्पदाबारेमा चर्चा गरेका थिए। कार्यक्रममा नेपाल समाज डट कम अनलाइनका संस्थापक ध्रुव पौडेलले मुस्ताङको सम्पदा र संस्कृति संरक्षणमा आफ्नो संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.