आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

डिसी नेपाल
२९ माघ २०८२ २१:२०
28
Shares

कास्की। पोखरामा सञ्चालन भइरहेको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालामा आज भएको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगको खेल २–१ गोल अन्तरले जित्दै मनाङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो।

एपिएफले पहिलो हाफमा एक गोलको अग्रता बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरियो। एपिएफले खेलको ११औँ मिनेटमा युवराज राईको गोलबाट खेलमा अग्रता लिएको थियो। दोस्रो हाफमा मनाङ लयमा फर्कियो। खेलको ५७औँ मिनेटमा रोनिश राजभाकले गोल गरेर खेल बराबरीमा ल्याए।

यसैगरी, खेलको ७७औँ मिनेटमा सुरेश कुमालले निर्णायक गोल गरेपछि खेलको नतिजा मनाङले आफ्नो पक्षमा पार्न सफल भयो।

प्रतियोगितामा शुक्रबार फ्रेन्डस् क्लब र प्लानिङ ब्वाइज युनाइटेडकाबीच खेल हुनेछ। सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीको सहभागिता छ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार र उपविजेता टोलीले रु सात लाख एक हजार नगद र ट्रफी पुरस्कार पाउने छन्। सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको हो।

गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.