शोभा ज्ञवालीको ‘मन्दाकिनी’ सार्वजनिक
काठमाडौं। साहित्यकार शोभा ज्ञवालीको तेस्रो कृति ‘मन्दाकिनी’ एक समारोहबीच विमोचन गरिएको छ। साहित्यकार, कवि, समालोचक तथा पाठकहरूको उल्लेख्य उपस्थितिकाबीच कृतिको विमोचन गरिएको हो।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै कवि डा. नवराज लम्सालले ज्ञवालीको लेखनले समाजभित्र रहेका अन्तरविरोध, पीडा, संघर्ष र चेतनाको गहिराइलाई अभिव्यक्त गर्ने क्षमता राख्ने बताए।
उनले ज्ञवालीले उठाउने विषयवस्तु समाजका जटिल यथार्थसँग जोडिएको उल्लेख गर्दै भने, ‘उहाँले टिपेका विषयहरू समाजका अप्ठ्यारामा परेका मान्छेहरूको कथा हुन्। ती विषयहरू दैनिक जीवनदेखि चेतनाको गहिरो तहसम्म फैलिएका छन्। उहाँ चेतनाको चौथो तहबाट लेखिरहनुभएको अनुभूति हुन्छ, त्यसैले उहाँको लेखन मलाई अत्यन्त मन पर्छ। विषयवस्तुमा परिपक्वता छ, भाषामा आफ्नै पकड छ, शैली सरल छ तर प्रभाव गहिरो छ। उहाँको लेखनमा मिठास पनि छ, चोटिलोपन पनि छ।’
यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै लेखक ज्ञवालीले ‘मन्दाकिनी’ आफ्नो सिर्जनात्मक यात्राको भावनात्मक मोड भएको बताइन्।
उनले पुस्तक लेखन प्रक्रिया सजिलो नभएको उल्लेख गर्दै भनिन्र्, यो कृति केवल शब्द र कलमको उत्पादन होइन, धेरै मौनता, आँसु र पीडाबाट जन्मिएको पुस्तक हो।
यो कुनै कल्पनाको संसार होइन, हाम्रो वरिपरि बाँचिरहेका मानिसहरूको जीवनसँग जोडिएको कथा हो। समाजका साधारण देखिने तर भित्रैदेखि संघर्ष गरिरहेका पात्रहरूको जीवनलाई समेट्ने प्रयास मैले गरेकी छु।’
उनले साहित्यलाई केवल मनोरञ्जनको साधन नभई समाज बुझ्ने ऐना मान्दै आफ्ना लेखनमा मानवीय संवेदना, सम्बन्ध, पीडा र आशाका पक्षहरूलाई केन्द्रमा राख्ने प्रयास गरेको बताइन्। कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूले ज्ञवालीको लेखन यात्रालाई निरन्तरता दिन आग्रह गरेका थिए।







डिसी नेपाल







Facebook Comment