पाटन क्याम्पस नेपाली विभागको साप्ताहिक श्रृङ्खलामा ‘केवरत लोकसम्पदा’ माथि विमर्श
काठमाडौं। पाटन संयुक्त क्याम्पस नेपाली विभागको साप्ताहिक शृङ्खला ‘संज्ञान विमर्श’ को नवौँ अङ्कमा ’केवरत लोकसम्पदा’ माथि विमर्श गरिएको छ। विभागका सदस्य उपप्रा. चतुर्भुजलाल दास केवरतको नवीन कृति ‘केवरत लोकसम्पदा’ माथि विभागका अर्का सदस्य उपप्रा. माधवप्रसाद नेपालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका हुन्।
उनले लोकवार्ताको सौद्धान्तिक अवधारणा प्रस्तुत गरी कृतिको विश्लेषण गरे। नेपालले यस कृतिका माध्यमबाट केवरत जातिको लोकशैली, परम्परा, भाषा, शिल्पकलालगायत पक्षलाई नजिकबाट बुझ्न सकिने बताए। उनले यो कृति किनारामा रहेका केवरत जातिको पहिचान उजागर गर्न सक्षम रहेको बताए। कृतिको उपस्थितिका सन्दर्भमा यस जातिको भाषा, जनसङ्ख्या, कृषिपरम्परा आदि पक्षमा तथ्याङ्क सङ्कलनको प्रयत्नले पूर्णता पाउन नसकेको नेपालको अभिमत छ।
कार्यक्रममा यसै क्याम्पसका अङ्ग्रेजी विभागका प्रा.डा. भरत उपाध्यायले यस्ता कृतिले जातिको सांस्कृतिक अवस्थालाई पूर्वाग्रह नराखी प्रस्ट पार्नुपर्ने विचार राखे। उनले आजको नेपाली समाजमा जातीय विषय पनि राजनीतिभित्र प्रवेश गरी मौलिकता मास्ने अभियानमा अघि बढेको वास्तविकता हामीसमक्ष रहेकाले त्यस दिशामा कृतिकारको सचेतना आवश्यक हुने धारणा अघि सारे। यसै क्याम्पसका मानवशास्त्र विभागका मानवशास्त्री डा. विष्णु दाहालले मानिसको जीवनशैली, खेतीपाती, रैथाने ज्ञानपरम्परा, मौलिक संस्कृति आदि पक्षलाई अन्य जातिको धरातलसँग तुलना गरी अध्ययनलाई पूर्ण रूपमा प्रस्तुत गर्नु हरेक अनुसन्धाताको कर्तव्य हुने बताए। उनले जातीय विषय मानवशास्त्रसँग जोडिने भएकाले मानवशास्त्रीय दृष्टिकोणभित्र प्रवेश नगरी अध्ययनले पूर्णता प्राप्त नगर्ने तर्क राखे।
कार्यक्रमकी सभाध्यक्ष विभागीय सदस्य डा. शोभा ढुङ्गानाले भाषा, साहित्य, संस्कृति, लोकविश्वास, मिथक आदि राष्ट्रका धरोहर हुन् भन्ने धारणा राख्दै राज्यले पाखा लगाएको जाति केवरतको लोकसंस्कृति र सम्पदा उजागर गर्न अग्रसर स्रष्टा केवरतको मुक्त कण्ठले प्रशंसा गरिन्। कृतिकार केवरतले केवरत जाति राज्यको आँखामा पर्न नसकेको विचार प्रस्तुत गरे। उनले यो कृति यस जातिको पहिचान र परिचयसँग जोडिएको बताए। केवरतले वृद्ध पुस्ताको निधनसँगै त्यस समुदायको ज्ञान र सभ्यता मृत हुने ठानी कृतिमार्फत आफू ज्ञान सङ्कलकका रूपमा अघि बढेको धारणा प्रस्तुत गरे। नेपाली विषयका उपप्राध्यापक केवरतको केवरत जातिको सभ्यता, संस्कृति र पहिचान अध्ययन तथा अनुसन्धानका क्षेत्रमा विशिष्ट योगदान रहेको छ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. जीवनकुमार श्रेष्ठ, विभागीय प्रमुख सहप्रा. माधव उपाध्याय, उपप्रा. शोभा बराल चापागाईं, उपप्रा. पशुपति नेउपाने, डा. महानन्द जोशी, डा. शारदा लामिछाने, उपप्रा. विष्णु ज्ञवाली, सुरेश हाचेकाली लगायत प्राध्यापक, स्रष्टा र विभागीय सदस्यहरूले लेखकसमक्ष भाषिक तथा सांस्कृतिक सन्दर्भका जिज्ञासा प्रस्तुत गरे। ’नेपाल प्रज्ञा प्रतिष्ठान’ ले सार्वजनिक गरेको यस कृतिमा मोरङ क्षेत्रमा बसोबास गर्ने केवरत जातिको सभ्यता, संस्कृति, भाषा, जीवनशैली आदि पक्षमाथि विमर्श गरिएको छ। २०७८ को जनगणनादेखि मात्र राज्यले पृथक् जातिका रूपमा यस जातिको अस्तित्व स्विकारेको छ। केवरत जातिले आफूलाई जनजातिका रूपमा चिनाए पनि राज्यले भने हालसम्म मान्यता दिएको छैन।







डिसी नेपाल







Facebook Comment