युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले
कैलाली । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को निरीक्षण तथा अवलोकन गर्दै उनले वर्तमान समयमा बढ्दो बेरोजगारी समस्याको समाधान सीप विकास र उद्यमशीलता प्रवर्द्धनमार्फत मात्रै सम्भव रहेको बताए।
उनले भने, ‘देशको ठूलो जनसंख्या युवाहरूको छ। यदि युवालाई समयमै प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्न सकियो भने उनीहरू रोजगार खोज्ने होइन, रोजगार दिने अवस्थामा पुग्न सक्छन्। त्यसैले युवाहरूलाई व्यवसायिक सीप सिकेर स्वरोजगार एवं आत्मनिर्भर बनाउनु आवश्यक छ।’
यसैगरी पूर्वमन्त्री आलेले युवाको रुचि र बजारको मागअनुसारका तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। परम्परागत तालिमभन्दा पनि सूचना प्रविधि, कृषि आधुनिकीकरण, पर्यटन, निर्माण, साना तथा घरेलु उद्योगजस्ता क्षेत्रमा आधारित तालिमले दिगो रोजगारी सिर्जना गर्न सक्ने उनको भनाइ थियो।
‘युवाहरुका चाहना अनुसारका विभिन्न प्राविधिक तथा व्यवसायिक सीप तालिम र कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘सीप विकाससँगै सहुलियत ऋण, बजार पहुँच र परामर्श सेवा उपलब्ध गराउन सके स्वरोजगार अभियान प्रभावकारी हुन्छ।’
उनले वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि पनि सीपमूलक तालिम अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याए। दक्ष जनशक्तिको अन्तर्राष्ट्रिय बजारमा उच्च माग हुने र सीपअनुसार पारिश्रमिक प्राप्त हुने भएकाले राज्यले प्रस्थानपूर्व सीप अभिमुखीकरणलाई अनिवार्य बनाउनुपर्ने उनको धारणा थियो।
‘सीप सिकेपछि स्वदेशमै उद्यम गर्न सकिन्छ। विदेश जाँदा पनि दक्ष जनशक्तिको माग उच्च हुन्छ र सीपअनुसारको पारिश्रमिक पाइन्छ,’ उनले भने।
सीप विकास कार्यक्रम प्रभावकारी बनाउन राज्यले बजेट तथा नीतिगत प्राथमिकता बढाउनुपर्नेमा जोड दिँदै उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए। बेरोजगारी न्यूनीकरण, गरिबी अन्त्य र आर्थिक समृद्धिका लागि सीपमूलक तालिम दीर्घकालीन समाधान भएको उनको विश्वास छ।
उनले सीपमूलक तालिम कार्यक्रमले युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उल्लेख गर्दै स्वरोजगारमा लाग्ने युवालाई प्रोत्साहन स्वरूप अनुदान, कर छुट तथा व्यवसाय दर्ता प्रक्रियामा सहजीकरण गर्नुपर्ने सुझाव समेत दिए।
धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ मा हाल ७ विधाअन्तर्गत २२ वटा तालिम सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार गत माघ ५ गतेदेखि सुरु भएको मेला एक महिनासम्म सञ्चालन हुनेछ।
मेलामा सिलाइ–कटाइ, ब्यूटिसियन, कम्प्युटर तालिम, इलेक्ट्रिसियन, प्लम्बिङ, मोबाइल मर्मत, कृषि तथा पशुपालनसम्बन्धी तालिमहरू समावेश गरिएका छन्। तालिममा सहभागी युवाहरूले छोटो अवधिमा उपयोगी सीप सिकेर आयआर्जनमा लाग्न सक्ने विश्वास गरिएको छ।
कार्यक्रमको अवलोकनका क्रममा पूर्वमन्त्री आलेले सीप मुलक मेला आयोजना गरेकोमा धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमाललाई धन्यवाद व्यक्त गरे।
स्थानीय तहले युवामैत्री कार्यक्रम ल्याएर उदाहरणीय कार्य गरेको उनको भनाइ थियो। उनले आगामी दिनमा पनि यस्ता सीप तथा रोजगारमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर व्यापक रोजगारी सिर्जना गर्न सकिने धारणा राखे।
सीप, श्रम र उद्यमशीलतालाई जोडेर मात्रै समृद्ध राष्ट्र निर्माण सम्भव हुने उल्लेख गर्दै उनले युवालाई अवसर दिन सके देशको आर्थिक अवस्था सुदृढ बन्ने विश्वास व्यक्त गरे। तालिमका छ सय जना युवाहरु सहभागी रहेका छन्।







डिसी नेपाल







Facebook Comment