कर्णालीमा चुनावी माहोल : कांग्रेस र नेकपालाई विरासत जोगाउन सकस, एमालेलाई साख फिर्ता गर्नुपर्ने चुनौती
सुर्खेत। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा दलहरुको शक्ति परिक्षण हुँदैछ। तीन बर्ष अघि भएको प्रतिनिधीसभामा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनबाट जित निकालेका दलहरुलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने नेकपा एमाले कर्णालीमा आफ्नो गुमेको साख फर्काउने ध्याउन्नमा लागेको देखिएको छ।
२०७४ सालमा एमाले-माओवादी गठबन्धनले कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा नतिजाविहीन भएको नेपाली कांग्रेसले २०७९ मा तीन दलसँगको गठबन्धनमा १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा चार सिटमा जित हात पारेको थियो।
२०७४ मा एमाले माओवादी गठबन्धनबाट एमालेले छ सिट र माओवादीले पाँच सिटमा जित निकालेको थियो। त्यतिबेला हुँलाबाट छक्कबहादुर लामा स्वतन्त्रबाट चुनाव जितेर पछि माओवादी केन्द्रमै फर्किएका थिए।
२०७९ मा एकीकृत समाजवादी सहितको नेपाली कांग्रेस गठबन्धमा एमाले कर्णालीमा नतिजाविहीन भएको थियो। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चार चार ठाउँमा चुनाव जित्दा एकीकृत समाजवादीले तीन र जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जितेको थियो। फागुन २१ मा हुन लागेको निर्वाचनबाट यसअघि जितेका चार सिट जोगाउँदै नयाँ सिटमा जित निकाल्ने कसरत कांग्रेसको रहेको छ।
एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीलाई विगतका सिट जोगाउने चुनौती रहेको छ। कर्णालीमा राप्रपा, रास्वपा र श्रमसंस्कृति पार्टी सहितका नयाँ दलहरु पनि थपिएका छन्।
कांग्रेसले अघिल्लो निर्वाचन जितेको सुर्खेतको क्षेत्र नम्बर एक र दुईमा कांग्रेस छोडर रास्वपा प्रवेश गरेका उम्मेदवार भएकोले यी क्षेत्र जोगाउन कांग्रेसलाई निकै मेहनत गर्नु पर्नेछ।
नेकपा माओवादी केन्द्रले चुनाव जितेको कालिकोटमा माओवादी पृष्ठभुमीमा खड्कबहादुर बिश्वकर्मा र रुकुम पश्चिममा माओवादी केन्द्रका तत्कालिन उपमहासचिव जनार्दन शर्माले नेकपाका उम्मेदवारले चुनौती दिएका छन्।
यसअघि गठबन्धनलाई हराउँदै जित निकालेका राप्रपाका ज्ञानेन्द्र शाहीलाई रास्वपाकी विनिता कठायत र प्रलोपका मनऋषि धितालाई सामना गर्नु पर्नेछ।
२०७९ को समानुपातिक मत हेर्दा कर्णालीमा नेकपा एमाले पहिलो दल हो। एमालेले समानुपातिकतर्फ एक लाख ८३ हजार एक सय ३३ मत पाउँदा कांग्रेसले एक लाख ८० हजार नौ सय नौ मत पाएको थियो।
तेस्रोमा रहेको माओवादी केन्द्रले पाएको मत एक लाख ३५ हजार चार सय ९६ र नेकपा (एकीकृत समाजवादी) को २५ हजार पाँच सय ५५ मत ल्याएको थियो। त्यतिबेलाको समानुपातिक मतमा माओवादी केन्द्र र एकीकृत समाजवादीको जोड्दा पनि एक लाख ६१ हजार ५१ मत हुन्छ।
यस पटक कालिकोटमा र रुकुम पश्चिममा माओवादी र एकीकृत समाजवादीको भोट प्रगतिशिल लोकतान्त्रिक पार्टी र नेकपा माओवादीले काट्नसक्ने अनुमान गरिएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका भोट रास्वपाका उम्मेदवारमा जानसक्ने अनुमानले कुन दलको स्थान के हुने हो भनेर आँकलन गर्न सहज नभएको बिश्लेषकहरुले बताएका छन्।
दलहरू एक्ला–एक्लै चुनाव लड्दा कांग्रेस र नेकपालाई लाई अघिल्लो पटक जितेका क्षेत्र जोगाउनुपर्ने चुनौती छ भने नेकपा एमालेलाई गुमेको साख फिर्ता गर्नु पर्ने बाध्यता छ।















Facebook Comment