नेमकिपाको निर्वाचन घोषणापत्र सार्वजनिक, देश र जनताको निःस्वार्थ सेवामा जोड
काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
पार्टीले आफ्नो स्थापनाकालदेखि देश र जनताको हितमा किसान आन्दोलन, सार्वभौमिकता संरक्षण र साम्राज्यवादविरोधी आन्दोलनको नेतृत्व गर्दै आएको बताएको छ।
पार्टीले, पछिल्ला ३५ वर्षमा पालैपालो सरकार सञ्चालन गर्ने शासक दलहरूले जनताको समस्या समाधान गर्न नसकेको जनाएको छ। भदौ २३ र २४ को घटना र त्यसपछिका निर्वाचन घोषणा सन्दर्भमा नेमकिपाले जनतालाई राजनीतिक शिक्षा दिने र पुँजीवादी व्यवस्थाप्रति सचेत पार्ने उद्देश्यले निर्वाचनलाई समाजवादी प्रचार अभियानको अवसर बनाएको जनाएको छ।
नेमकिपाले प्रत्यक्ष निर्वाचनमा १२० उम्मेदवार उठाएको छ, जसमा महिला उम्मेदवार ४५ प्रतिशत रहेका छन्। समानुपातिक सूचीमा १०९ उम्मेदवार छन्, जसमा महिला उम्मेदवार ५३ प्रतिशत छन्। पार्टीले पुँजीवादी पार्टीहरूले निर्वाचनमा पद, पैसा र सत्ताको दुरुपयोग गर्ने चेतावनी दिएको छ।
घोषणापत्र अनुसार, नेमकिपाले संसद्को कामलाई केन्द्रित गर्ने लक्ष्य राखेको छ, जसमा नीति निर्माण, ऐन निर्माण, बजेट र द्विपक्षीय–बहुपक्षीय सम्झौता सम्बन्धी छलफल समावेश छन्।
जन्मको आधारमा विदेशीलाई दिइएको नेपाली नागरिकता खारेज गर्ने, दुर्गम क्षेत्रमा रेलमार्ग, सुरुङमार्ग निर्माण, सहकारी संस्थामार्फत मध्यम र गरिब किसानको आर्थिक सशक्तिकरण, जलविद्युत राष्ट्रियकरण, भ्रष्टाचारीको कानुनी कारबाही, स्वास्थ्य बीमा विस्तार जस्ता विषय घोषणापत्रमा प्राथमिकतामा रहेका छन्।
पार्टीले समाजमा आमूल परिवर्तनका लागि जनता, मजदुर, किसान, युवा, महिला, शिक्षक, बुद्धिजीवी, उद्योगी, स्वास्थ्यकर्मी लगायत सबैलाई समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचनमा नेमकिपाका उम्मेदवारलाई समर्थन गर्न आह्वान गरेको छ।







डिसी नेपाल







Facebook Comment