नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन घोषणा
काठमाडौं। निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ। यो फिल्म आउँदो वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुनेछ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए।
उनले भने, ‘वितरकसँग छलफल गरेर प्रदर्शन तय गरेका हौं। नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै हाम्रो बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर डेट तय गरेका हौं। फिल्मको विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स-परिवार हल गएर हेर्न मिल्ने समयमा प्रदर्शन गर्दैछौं।’
‘बलिदान’ पछि मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ पछि सुनिल थापासँग काम गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वस्त छन्। उनले पुराना कलाकार झैँ नयाँमा पनि आफ्नो पात्र र काम प्रतिको समर्पण उस्तै पाएको बताए।
उनले भने, ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्म हेरिरहदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।’
ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायांकन गरेका छन्। भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन्।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।
यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्। रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ। यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो।







डिसी नेपाल







Facebook Comment