काठमाडौं ६ का सबै भेगको समस्या र संभावना बुझेको छु, चुनाव जित्छु : अमन मास्के

डिसी नेपाल
७ फागुन २०८२ १२:०३
996
Shares

काठमाडौं। काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले जनप्रतिनिधिको रूपमा आफूले निर्वाह गर्ने भूमिका दुई तहमा केन्द्रित हुने बताएका छन्।

उनले पहिलो, नीति निर्माण तहमा सक्रिय सहभागिता र दोस्रो, विकास निर्माणका लागि वार्षिक बजेटमा आफ्नो क्षेत्रको आवश्यकता समेट्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मास्केले काठमाडौं-६ को भौगोलिक बनावट विविध र जटिल रहेको उल्लेख गर्दै माथिल्लो भेगका साँगला, काभ्रेस्थली, धर्मस्थली जस्ता क्षेत्र र तल्लो भेगका मनमैजु, नेपालटार लगायतका बस्तीका आवश्यकताहरू फरक-फरक प्रकृतिका रहेको बताए।

त्यस्तै कोटेश्वर सिटी क्षेत्रको आवश्यकता पनि भिन्न रहेको भन्दै सबै क्षेत्रलाई समेट्ने समग्र योजना आवश्यक रहेको उनको भनाइ छ। पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उनले ‘बोटलनेक फ्री इन्फ्रास्ट्रक्चर’ निर्माणमार्फत ट्राफिक जाम न्यूनीकरण गर्ने लक्ष्य रहेको बताए।

शिक्षा, स्वास्थ्य र सहकारी पीडितका मुद्दा पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै भूमिहीन नागरिकका आधारभूत अधिकार गास, बास र कपास सुनिश्चित गर्न आवाज बुलन्द गर्ने उनले बताए।

यस क्षेत्रको सबैभन्दा जटिल समस्या खानेपानी भएको उल्लेख गर्दै मास्केले एकीकृत मास्टर प्लानमार्फत दिगो समाधान खोजिने बताए। मौनेश्वर, भण्डारे लगायतका मुहानको पानी संकलन गरी ठूलो रिजर्भ ट्यांकी र वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना गरेर वितरण प्रणाली सुदृढ गर्ने योजना रहेको उनले स्पष्ट पारे।

मेलम्ची खानेपानी आयोजनाको आपूर्ति र उपत्यकाको बढ्दो मागबीच सन्तुलन मिलाउन समय लाग्ने भए पनि स्थानीयस्तरमा तत्काल पहल आवश्यक रहेको उनको धारणा छ।

संस्कृति, सम्पदा र धार्मिक पर्यटनको संरक्षण तथा प्रवद्र्धन पनि आफ्नो एजेन्डामा रहेको उनले बताए । मनमैजु मन्दिर, तारकेश्वर, सपनतीर्थ, भुवनेश्वरीलगायत धार्मिक स्थललाई आपसमा जोडेर धार्मिक पर्यटकीय रुट विकास गर्न सकिने उनको भनाइ छ । साथै होमस्टे प्रवद्र्धन र पार्क निर्माणमार्फत क्षेत्रलाई हरित सहरका रूपमा विकास गर्ने लक्ष्य उनले अघि सारे।

स्वास्थ्य र प्राविधिक शिक्षाको पहुँच विस्तार आवश्यक रहेको बताउँदै उनले क्षेत्र नम्बर ६ मा मेडिकल कलेज र इन्जिनियरिङ कलेज स्थापनाको पहल गर्ने बताए। कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै अर्गानिक तथा व्यावसायिक खेतीतर्फ उन्मुख हुनुपर्ने र स्थानीय उत्पादनको बजारीकरण सुदृढ गर्नुपर्ने उनले जोड दिए।

खुला क्षेत्रको अभाव औंल्याउँदै मास्केले प्रत्येक टोलमा पार्क तथा खुला स्थानको व्यवस्था आवश्यक रहेको बताए। यस्ता स्थानले सबै उमेर समूहबीच अन्तरक्रिया बढाउनुका साथै विपद् व्यवस्थापन र जल पुनर्भरणमा समेत सहयोग पु¥याउने उनको भनाइ छ । २०७२ सालको भूकम्पको अनुभवले खुला क्षेत्रको महत्व झन् स्पष्ट पारेको उनले स्मरण गरे।

युवालाई लक्षित गर्दै ‘लर्निङ एन्ड अर्निङ’ अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्किल डेभलपमेन्ट, सूचना प्रविधि, एआई र आउटसोर्सिङ क्षेत्रमा तालिम तथा अवसर सिर्जना गरिने बताए। नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरका आईटी काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

मास्केले ‘पुराना’ र ‘नयाँ’ दलको विभाजनभन्दा सक्षम र असक्षम प्रतिनिधि छुट्याउन मतदातालाई आग्रह गरे। आफू प्रदेश तहमा सुशासन र भ्रष्टाचारविरुद्ध उभिएको अनुभवसहित अब संघीय संसद्मा क्षेत्र नम्बर ६ को आवाज बुलन्द गर्न उम्मेदवारी दिएको बताउँदै उनले मतदातासँग समर्थनको अपिल गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.