सर्लाहीमा १५ वर्षका किशोरले मन्दिरमा पेस्तोल भेट्टाए, खेलौना ठानेर चलाउँदा आफैंलाई लाग्यो
काठमाडौं । सर्लाहीमा पेस्तोल पड्किएर एक किशोर घाइते भएका छन्। खेलौना ठानेर पेस्तोल चलाउँदा उनको दाहिने हातको पञ्जामा गोली लागेको हो ।
सर्लाही मलंगवा नगरपालिका वडा नं ४ ढाका गाउँ बस्ने रामविश्वास रायको छोरा १५ वर्षीय आकाश रामले स्थानीय मन्दिरमा रातो कपडाले बेरेको अवस्थामा बेवारिसे पेस्तोल फेला पारेका थिए । पेस्तोल खेलौना ठानेर चलाउँदा उनको हातमा लागेको हो ।
उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार आकाशको घरदेखि सय मिटर पूर्वतिर निर्माणाधीन हनुमान मन्दिरभित्र कुनामा रातो कपडाले बेरेर राखिएको पेस्तोल फेला पारेका थिए ।
पेस्तोल नक्कली होला भनी चलाउने क्रममा पेस्तोल पड्किएर उनको हातमा लागेको थियो। घटनास्थलबाट पेस्तोल एक थान, पड्किएर पेस्तोलमा अड्किएको खोका एक थान फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।







डिसी नेपाल







Facebook Comment