सञ्चार माध्यमको कर्तव्य र क्षमता विशाल छः मन्त्री शाह
कर्णाली। कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सञ्चार माध्यमको कर्तव्य र क्षमता विशाल रहेको बताएका छन्।
राष्ट्रिय समाचार समितिको ६५औं स्थापना दिवसको अवसरमा रासस कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शाहले समाजलाई सचेत र गतिशील बनाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।
उनले भने, ‘रासस मुलुकको गौरवमय इतिहास बोकेको समाचार संस्था हो। यसले प्रवाह गरेको सेवा स्वच्छ, भरपर्दो र विश्वसनीय छ।’ जनतालाई सुसूचित गर्ने उद्देश्यले स्थापना भएको राससले आफूलाई अझ बढी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शाहले यसले आफ्नो छवि र विश्वसनीयतालाई डगमगाउन नदिएको बताए। आग्रह पूर्वाग्रहबाट नभई सरकारका राम्रा र नराम्रा गतिविधि दुवै औँल्याएर जनतालाई सूचित गर्न पत्रकारहरुलाई उनले अनुरोध गरे।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्य समितिका उपाध्यक्ष अप्सरा विष्टलगायतले समेत आ–आफ्नो धारणा राखेका थिए।







डिसी नेपाल







Facebook Comment