कविता : हँसाउने र रुवाउनेको साथ

शंकरप्रसाद रिजाल
९ फागुन २०८२ ८:२६
20
Shares

हिजो हँसाउने आज रुवाउने मान्छे चाहिएन
आज रुवाउने भोलि हँसाउने पनि चाहिएन
जीवनको सफरमा यस्ता मानिसको साथ र,
संगत र तीनका जीवन दर्शन कुनै चाहिएन

यहाँ हसाँउनेको कमी छैन र रुवाउनेको पनि
यहाँ ठूला पण्डित्याइँ गर्नेहरुपनि चाहिएन
ठूला ज्योतिष भनाउँदापनि चाहिएन,
ठूला धार्मिकपनि चाहिएन र ठूला शासकहरुपनि,

यहाँ ठूला गुरुहरुपनि चाहिएन, र शिष्यहरुपनि
सबै यसो हेर्दा ब्यापारी जस्ता देखिन्छन्,
मोलतोल, दान दक्षिणा, लेनदेनको ब्यापार त होनि
ज्ञान आफैं खोज, गुरु आफैं बन अनि शिक्षा आफैं

हँसाउनेपनि आफैं बन र रुवाउनेपनि आफैं बन
आँसु खसाल्नेपनि आफैं गर, पुछ्नेपनि आफैं गर
जीपनलाई मोलतोल नगर, भौतिकताबादी धेरै नबन
अध्यात्मबादीको पराकाष्ठामा पुग्ने काम नगर

सक्छौ भने आफूलाई चाहिने ज्ञानमात्र लिइ बस
धेरै ज्ञान र विज्ञानले अहमता पैदा हुन्छ, घमण्ड
जुरुक्क उठ्छ, रिस तुरुन्त उठ्छ, धेरै इच्छा जागृत
गराउँछ र आखिरमा जीबन फेरि दलदलमा फस्दछ

अतः सके राम्रो संगत गर नसके आफूजस्तै बिचारशील
साथी र संगीनिसँग बस्ने गर जसले तिमीलाई दुःख र
सुखमा साथ दिन्छन्।

हाँसो आफैंमा छ र रोदनपनि आफैंमा छ,
सुख आफैंसँग छ र दुखपनि आफैंसँग छ
प्रकृति आफैंसँग छ, ईश्वर आफैसँग छ
प्रेम र दया मायापनि आफैंसँग छ

आफूभित्रको माया दया र करुणा जगाऊ
आफू भित्रको ईश्वरलाई छम छम नचाऊ
ईश्वर हाँस्दछ हाँसोमा रोई जीवन नबिताऊ
ईश्वर हाँस्दछ हाँसोमा रोई जीबन नबिताऊ।

निर्माण र ध्वंश

यो संसारको आकासमा छ कति झिलिमिली
नौलाख तारा साँझमा बसेकाछन् मिलिजुली
कोही ठूला कोही साना छैन केही भेद भाब
सबै तृप्त शान्त छन् लिइ आफ्नो स्वभाव।

पृथ्वी तलमा हेर अरबौं अरब मानव छन्
नियाली सब हेरौं त कसरी दानव बनेका छन्
ठूलो सानो, धनी गरीब सब हेर ती छुट्टिने
कोही भ्यागुतासरी छन् बुर्लुक्क गरी उफ्रिने।

कोही नाफा खोरी छन् कोही छन् भूमाफिया
कोही डाँका लुटेरा छन् कोही छन् ज्यानमारा
किन हो यो भूमिमा यस्तो सधैं कोलाहल
झगडा र रिस राग बैमनश्यताको उजागर।

आन्दोलन झगडा लडाइँहरु छन् जताततै
निरीह जनताहरु मारी बाँचेका छन् जताततै
निर्माण गर्ने कुनै छैनन् गर्ने ध्वंश जताततै
रोएका छन् सबै जनहरु हेरी आफैंतिर कतै।

बुद्धि मानिसको हेर दम्भमात्र देखाउने
बेइमान मानिसको हेर ध्वंशमात्र गराउने
कोही निर्माण गरी बस्छन् देश राम्रो बनाउन
कोही बारुद लिइ हिँड्छन् महलमात्र जलाउन।

कोही पण्डित बनी हिँड्छन् धर्म दर्शन सिकाउन
कोही धर्म बेची हिँड्छन् आफ्नो धर्म बिकाउन
जलाए सबले देश जनता मारी मारीकन
ठूलो मानिस बनी हिँड्छन् धोभीकुत्ता बनीकन।

ज्ञानी ज्ञान बोकी हिँड्छन् आफ्ना दर्शन छाँट्न
अर्काको बिचार चोरी गरि आफ्नो दर्शन घुसाउन
आफ्नो भन्नु कुनै छैन छिन छिनमा रंग फेरने
राष्ट्रको ढुकुटी माथि आफ्नो धाक जमाउने।

ध्वंशको ज्ञान भो धेरै खोइ निर्माता कहाँ गए
संसार कुल्चिदै हिँड्ने कस्ता मानिस जन्मिए
भो चाहिन्न अहंकार यसले ध्वंश त गर्छ नै
सुविचार भित्रको खोलौं निर्माण त हुन्छ नै।

पाउन्नौ जिन्दगी यस्तो अबको जुनीमा कहीं
निर्माता बनी हेर संसारमा जहीं कहीं
राखेर नाम कीर्तिको इतिहास कोरिइकन
पछिका पुस्ताले खोली पढून हेक्का राखिकन।

ध्वंशले सम्पूर्ण नाश गर्छ सबको सधैंभरी
छैन है सबको जीवन अविनाशी र अजम्बरी
रिस हो ध्वंशको ज्वाला दम्भ हो कुमति
पाउन्नौ यसले पुण्य यो जुनीमा सद्गति।

गजल

यो आकास च्यातिए के हुन्छ, नयाँ आकास बनाउँछु।
यो धर्ति फाटिए के हुन्छ, नयाँ धर्ति बनाउँछु ।।

यो जीवन व्यर्थ भएर के भयो, नया जीवन खोज्नेछु।
मेरा साथीसंगी छुटे त के भयो, नयाँ साथीसंगी बनाउँछु।।

किनकि म मा आत्मबलको तत्व जागृत भएको छ।।
म त्यो पंक्षी होइन, जो उड्दै नउडी जीवन बिताउने।

म त्यो पंक्षी हुँ जो उडेरै नयाँ जीवन बिताउने।।
मेरो आत्मबलको अभ्यासबारे मलाइ नसोध,

यस भित्र म के के पाउँछु।।
यस भित्र अरु होइन म संसार पाउँछु।

संसारमात्र हैन ब्रम्माण्ड पाउँछु।।
किनकि म भित्र आत्मबलको उद्बेग पाउँछु।।

यसैमा एउटा नयाँ संसार खोज्ने प्रयास गरिरहेकोछु।
किनकि म मा आत्मबल र बिश्वाश बढेको छ ।।

तसर्थ यो भव सागर छुटे त के भयो?।
नयाँ सागर खोज्नेछु।।

किनकि म त्यो डुंगा होइन जो तैरिन सक्तैन।
र त्यो “किनारा” पनि होइन जो नदीलाई किनारा लगाउन सक्तैन।।

आत्मबलको निरन्तर अभ्यासले म भोलि संसार हैन ब्रम्माण्ड छोप्छु।
संसारलाई युद्ध र झगडा नगर्न म शान्तिका घोडा दौडाउँछु।।

संसार मधुशाला बनी रहोस्, म निर्धाहरुसँग बसी रहन्छु।
कसैले गर्न नसक्ने काम गर्छु, किनकि म मा आत्मबल र बिश्वाश छ।।

एक्लो छु म मानिसको भिडमा, तर आत्म बिश्वास छ मनमा।
त्यसैले म एक्लो भएपनि संसारलाई हेर्छु र देख्छु।।

तर संसार भने मदेखि धेरै टाढा छ,
म भित्रको ‘म’ लाई बुझ्न नसक्ने भएको छ।।

मलाई थाहै भएन म भित्रको आत्मतत्व।
कुनबेला साधक बनिसकेको रहेछ।।

हिजोसम्म आत्मालाई पछ्याउँदै हिड्ने म मान्छे।
आज त्यही आत्माले मलाइ पछ्याउँदै हिँड्न थालेछ।।

मेरो आत्मबिश्वाश आज ठूलो भएको छ।
बलियो भएको छ। बलियो भएको छ।।

यही आत्मबलको जोडले म गरीबलाई धनी र पापीलाई धर्मात्मा बनाइ दिन्छु।
सारा समुद्र सुकाई अफ्रिकाको उजाड मरुभुमी र भारतको गोबी मरुभूमिमा पानिले भरी दिन्छु ।।

भोका नांगा म जस्तै कसैको छोरा छोरीहरुलाई टन्न खान दिन्छु।
एक ठाउंमा बस्न दिन्छु र शिपको तालीम दिन्छु किनकि म मा आत्मबल छ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.