डाक्टर पेसा त्यागेर राजनीति रोजेका प्रविन भोट माग्न घरदैलोमा

डिसी नेपाल
८ फागुन २०८२ १६:४१
116
Shares

मकवानपुर। राक्सिराङ गाउँपालिकाका युवा नेता प्रविन स्याङ्तानले चिकित्सक (डाक्टर) पेसा त्यागेर राजनीतिमा होमिएका छन्।

उनी उज्यालो नेपाल पार्टीबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का लागि उम्मेदवार बनेका हुन्।

उन्नाइस वर्षकै उमेरमा राजनीतिमा सक्रिय स्याङ्तानको यो पहिलो प्रतिनिधिसभा निर्वाचन हो।

नयाँ पार्टी र नयाँ शक्तिको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिनु चुनौतीपूर्ण भए पनि आफू जिततर्फको यात्रामा अघि बढिसकेको स्याङ्तान बताउँछन्।

‘चुनौती स्वाभाविक छ, तर नागरिकले परिवर्तनको अनुभूति गरिसकेका छन्,’ उनले भने, ‘कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टीले अठार घन्टासम्मको लोडसेडिङबाट देशलाई लोडसेडिङमुक्त अवस्थासम्म ल्याएको तथ्य नागरिकले बुझेका छन्। यही हाम्रो पहिलो आधार हो।’

स्याङ्तानका अनुसार दोस्रो आधार पार्टी र उम्मेदवारको इमानदारी, कर्मठता र शिक्षित जनशक्ति हो। ‘हामी समाजको आवश्यकतालाई बुझ्छौँ, त्यसैले जनताले हामीलाई विश्वास गरिरहेका छन्,’ उनले थपे।

हाल घरदैलो अभियानमा व्यस्त रहेका स्याङ्तानले मतदाताको मनमा आशा र गुनासो दुवै रहेको बताए।

मकवानपुरको पश्चिम, उत्तर र दक्षिणी क्षेत्रका गाउँहरूमा आधारभूत पूर्वाधार र विकासको कमीले जनतामा लामो समयदेखि असन्तोष रहेको उनको भनाइ छ।

‘हिजोका गल्ती, बेवास्ता र विकासको अभावबाट जनता पीडित छन्। यदि हामीले प्रतिनिधित्व गर्ने अवसर पायौँ भने ती विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौँ,’ उनले भने।

आफूलाई किन जिताउनुपर्छ भन्ने प्रश्नमा स्याङ्तानले स्पष्ट शब्दमा भने, ‘हामी गफभन्दा काम र परिणाममा विश्वास गर्छौँ। परिणामले मात्रै देश र समाज परिवर्तन हुन्छ।’ युवा वर्गको बढ्दो निराशा र वैदेशिक रोजगारीको बाध्यतालाई समाधान गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याए।

उनका अनुसार विगतका दशकौँसम्म जनताले जिताइरहेका दल र व्यक्तिहरूले अपेक्षित विकास र परिवर्तन दिन नसकेकाले अब मतदाताले गल्ती दोहोर्याउनु हुँदैन। ‘जनताले परिवर्तन खोजिरहेका छन्, हामी त्यही परिवर्तनको प्रतिनिधि हौँ,’ स्याङ्तानले विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.