देशभरका सहकारी पीडितको बचत फिर्ता र दोषीमाथि कारबाहीका लागि लड्छु : नैनसिंह महर

डिसी नेपाल
८ फागुन २०८२ १८:०४
52
Shares

डडेल्धुरा । नेपाली कांग्रेसका डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरले शिव शिखरलगायत देशभरका सहकारीबाट ठगिएका नागरिकको रकम फिर्ता गराउन संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।

डडेल्धुरा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता महरले सहकारीका नाममा देशव्यापी रूपमा मौलाएको ठगी धन्दालाई निरुत्साहित गर्न र बचतकर्ताको डुबेको रकम ब्याजसहित फिर्ता गराउन आफूले विशेष पहल गर्ने उद्घोष गरे।

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले डडेल्धुराका सर्वसाधारण र साना व्यापारीको करिब ४० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको तथ्य औंल्याउँदै महरले यो समस्या डडेल्धुराको मात्र नभएर राष्ट्रिय संकटको रूपमा देखा परेको बताए।

आफ्नो बचत डुबेपछि न्यायको याचना गरिरहेका नागरिकलाई आश्वस्त पार्दै उनले भने, ‘सहकारी सञ्चालकहरूले गरिब जनताको पसिनामाथि रजाइँ गरेर उनीहरूलाई सडकमा पुर्‍याएका छन्। यो अन्याय टुलुटुलु हेरेर बस्न सकिँदैन।’

सम्बोधनका क्रममा महरले आफ्नो संसदीय एजेन्डा प्रस्ट पार्दै भने, ‘तपाईंहरूले मलाई विश्वास गरेर संसदमा पठाउनुभयो भने मेरो पहिलो लडाइँ नै सहकारी पीडितको पक्षमा हुनेछ। संसदको रोस्टममा उभिएर म डडेल्धुराका शिव शिखर पीडितदेखि देशभरका सहकारी पीडितको आवाज घन्काउनेछु। सरकार र सम्बन्धित निकायले पीडितको एक–एक पैसा फिर्ता गराउन र ठगहरूलाई हतकडी लगाउन बाध्य हुनैपर्नेछ।”

उनले सहकारी ठगी प्रकरणमा संलग्न जोकोही जतिसुकै शक्तिशाली भए पनि कानुनी कठघरामा ल्याएरै छाड्ने दाबी गरे। ‘गरिबको आँसुको सराप लाग्नेछ, उनीहरू उम्कन पाउने छैनन्,’ महरले थपे, ‘कानुनमा आवश्यक संशोधन गरेरै भए पनि सहकारी सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण म संसदबाटै मिलाउनेछु।’

सहकारीले रकम हिनामिना गरेर कार्यालय बन्द गरेपछि डडेल्धुरा लगायत देशभरका लाखौं बचतकर्ता बिचल्लीमा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.