गौर-६ सवगढामा सामाजिक सद्भाव कायम राख्न ६ बुँदे सहमति : विथोल्नेलाई कानुनी कारबाही गरिने

डिसी नेपाल
९ फागुन २०८२ ७:५०
24
Shares

रौतहट। रौतहटको गौर नगरपालिका वडा नं. ६ सवगढामा केही समयदेखि देखा परेको विवाद समाधान गर्दै गाउँमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रतिनिधि र समाजसेवीहरूबीच ६ बुँदे सहमति भएको छ।

फागुन ८ गते (हिजो) बसेको सर्वपक्षीय बैठकले गाउँको शान्ति सुरक्षा र आपसी भाइचारालाई मजबुत बनाउने निर्णय गरेको हो। बैठकले गाउँको सामाजिक सद्भाव विथोल्न खोज्ने तत्वहरूप्रति सामूहिक खेद व्यक्त गर्दै त्यस्ता गतिविधिलाई निस्तेज पार्ने प्रतिबद्धता जनाएको छ। नेपाल प्रहरीको आधिकारिक पोर्टल मार्फत प्राप्त हुने सुरक्षा मापदण्ड र स्थानीय प्रशासनको समन्वयमा शान्ति कायम गरिने बताइएको छ।

गाउँमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी र अपाङ्गता भएका व्यक्तिहरूको संवेदनशीलतालाई मध्यनजर गर्दै धार्मिक र सांस्कृतिक कार्यक्रमहरू आपसी छलफल र सौहार्दपूर्ण वातावरणमा मात्र सञ्चालन गर्ने सहमति भएको छ।

पुर्खादेखि चलिआएको सद्भावलाई कायम राख्न मिति २०८१ चैत ६ गते भएको सर्वपक्षीय सहमतिको अक्षरशः पालना गर्ने, हाल विवाहको लगन र मुस्लिम समुदायको पवित्र महिना रमजान नजिकिएको सन्दर्भमा एक समुदायले अर्को समुदायको संस्कृतिको सम्मान गर्ने विषयमा पनि सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए।

उनका अनुसार कुनै पनि अवरोध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई सहयोग गर्ने, आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका लागि अनुकूल र शान्तिपूर्ण वातावरण तयार पार्न आजैका मितिदेखि सबै विवाद अन्त्य गर्ने निर्णय गरिएको छ।

यदि कसैले सामाजिक सञ्जाल वा प्रत्यक्ष रूपमा सद्भाव भड्काउने कार्य गरेमा तुरुन्त प्रहरीलाई खबर गर्ने र प्रशासनले जिल्ला प्रशासन कार्यालय रौतहट को समन्वयमा कडा कानुनी कारबाही अगाडि बढाउने सहमति भएको छ।

यो सहमतिसँगै सवगढाबासीले अब गाउँमा शान्ति र एकताको नयाँ सन्देश जाने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.