म सलाम खान होइन, देश र जनताको सेवा गर्न उम्मेदवार बनेको हुँ : श्यामबाबु गुप्ता

डिसी नेपाल
१० फागुन २०८२ १२:२७
324
Shares

बारा। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छन् जेनजी युवा श्यामबाबु गुप्ता।

सिमराका स्थानीय गुप्ता अहिले आफ्नो पक्षमा मत माग्न मतदाताका घरघर पुगिरहेका छन्। आफू पद, कुर्सी र सलाम खानका लागि राजनीतिमा नआएको बताउँदै उनी जनता र देशको सेवा गर्ने ध्येय बोकेर उम्मेदवार बनेको बताउँछन्। उनै गुप्तासँग गरिएको संक्षिप्त कुराकानी :

बारा क्षेत्र नम्बर ४ मा तपाइँलाई मतदाताले मत किन दिने ?

नेपाली कांग्रेस बदलिएको छ। अब कांग्रेसको नेतृत्वमा देशलाई बदल्नु छ। नेपाली जनताको चाहना र इच्छा आकांक्षा देशमा भ्रष्टाचारको अन्त्य होस भन्ने छ। सुशासन कायम होस भन्ने छ। देश कसरी अगाडि बढ्छ भन्ने चिन्ता जनजनमा छ।

भाद्र २३ र २४ को जेनजी आन्दोलन पनि त्यही कारणले भयो। अब सोही आन्दोलनको मर्म र जनताको भावनालाई सम्बोधन गर्न पनि कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आवश्यक छ । मेरो उम्मेदवारी त्यसैका लागि हो। अहिले म यही विषय लिएर जनताको माझमा मत माग्दै पुगेको छु।

तपाईं जेनजी युवा हुनुहुन्छ, मतदाताका नजरमा नयाँ उम्मेदवार पनि हुनुहुन्छ, यो क्षेत्रको मतदाताको मनोविज्ञान चाहिँ कस्तो पाउनु भएको छ ?

अहिले जेनजीको मुद्दा भनेको नेता सुध्रनुपर्छ। देशलाई भ्रष्टाचारबाट मुक्त गराउनुपर्छ। मुलुकमा सुशासन कायम हुनुपर्छ भन्ने हो। यो क्षेत्रको जनताको माग पनि त्यही हो। देश विकासका लागि हामीसँग प्रसस्त आधारहरु छन्।

अहिले नेपालका जनता कि करको कि रेमिट्यान्सका कारण बाँचेको अवस्था छ। देशलाई कसरी पर्यटनमार्फत अघि बढाउन सकिन्छ। कसरी रोजगारी सिर्जना गर्न सकिन्छ। भएकै पूर्वाधारलाई कसरी प्रयोग गरेर नेपाललाई चिनाउन सकिन्छ भन्ने चिन्ता आम मतदाता, युवा जेनजीहरुको मनोविज्ञान हो।

दलहरुसँग मतदाताको गुनासो चाहीं कस्ता विषयमा आइरहेको पाउनु भयो ?

अहिले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि लगायतमा समस्या छ। किसानले मल खाद पाइरहेका छैनन्। सिंचाइका लागि जनताले पानी र मोटर पाइरहेका छैनन्। विजुलीका लागि पोल पाइरहेका छैनन्।

बाटोघाटो कमसल बनिरहेको छ। सानासाना आधारभूत विषयमा जनता आजित छन्। हामीले हाम्रो नीतिलाई बदलिएर अब काम गर्नु पर्ने छ । बाटो कुन बेला बनाउने, किसानलाई मल कुन बेला दिने, कोल्डस्टोर कहाँ बनाउने भन्ने सानासाना विषयमा अब काम गर्न ढिला भइसकेको छ।

यी सामान्य विषय हिजो भएन, अब सम्भव छ ? मतदातालाई कसरी विश्वास दिलाउने ?

हामी त अब बदलिएर आएका छौं। कांग्रेस अब बदलिएको छ। बदलिएको कांग्रेसले नै देश बदल्न सक्छ भन्ने अठोट हामीसँग छ। कांग्रेसले धेरै ठाउँमा नयाँ र युवा उम्मेदवारलाई यसपटक उम्मेदवार बनाएको छ। हिजोको काम गर्ने तरिका भएन भनेर नै अब हामी आएका हौं।

अब कहाँ मलको फ्याक्ट्री बनाउने ? कहाँ उद्योग खोल्ने, पर्यटनका पूर्वाधार कहाँकहाँ बनाउने ? स्थानीय नागरिकलाई नै उद्योगमा कसरी रोजगारी दिने भन्ने अब हाम्रो मुद्दा हो। अब आजित भएका जनताले उम्मेदवार चिनेर जानेर मत दिनुपर्छ। गफ होइन, आश्वासन होइन काम गर्ने उम्मेदवारलाई मत दिनुपर्छ।

यहाँको निर्वाचन क्षेत्र देशकै मुख्य औद्योगिक क्षेत्र पनि पर्छ, युवालाई स्थानीय स्तरमा नै रोजगारी दिन कस्तो छ योजना ?

अहिले यहाँका उद्योगमा स्थानीय भन्दा बढी बाहिरका ब्यक्तिहरुले बढी रोजगारी पाइरहेका छन्। हामी स्थानीय तहसँग मिलेर, उद्योगसँग समन्वय गरेर नीति बनाएर नै स्थानीय नागरिकलाई यहाँ रोजगारीका लागि जोड्न चाहन्छौं। यहाँका उद्योगहरुसँग सामाजिक उत्तरदायित्वका कार्यक्रममा हामी यहीका युवाहरूलाई जोड्न चाहन्छौं। त्यसका लागि म योजना बनाएरै सहकार्यको नीति लिएर काम गर्छु।

सुशासनका सवालमा के के योजना बनाउनु भएको छ ?

हामी अहिले काम भन्दा भाषणमा रमाइरहेका छौं। जनताले डेलिभरी खोजेका छन्। सेवा प्रवाहमा झ्यालझ्याल धाउनुपर्ने अवस्थाको अन्त्य जनताको चाहना छ। अब घरमै बृद्ध भत्ता पुर्याउनपर्छ। कुन काम कसरी गर्ने भन्ने मास्टर प्लान बनाउनुपर्छ। कागजमा योजना थन्काएर हुँदैन, नक्सा मात्रै बनाएर पनि अब चल्दैन। काम देखिनु पर्यो। मेरो भुमिका अब त्यता केन्द्रित हुन्छ।

तपाइँको निर्वाचन क्षेत्रमा स्वास्थ्य पूर्वाधार पर्याप्त छैन, जनताले भरपर्दो उपचार सेवा पाउन सकेका छैनन्, यसतर्फ तपाइको योजना केछ ?

हो। बारा ४ मा धेरै उद्योगधन्दा छन्। प्रदुषणको अवस्था बढ्दो छ। जनताको स्वास्थ्यका सवालमा चिन्ता लिनुपर्ने अवस्था टड्कारो छ। सामान्य उपचार बाहेकको सेवा लिन यो क्षेत्रका जनतालाई सहज पक्कै छैन। विशेषज्ञ उपचार सेवाको भरपर्दो ब्यवस्था, सुविधासम्पन्न अस्पताल यो क्षेत्रका लागि अपरिहार्य छ।

स्वास्थ्य उपचारका लागि नजिकको शहर बिरगंज र भरपर्दो उपचारका लागि काठमाडौं नै जानुपर्ने अवस्थाको अन्त्य मेरो प्राथमिकतामा रहनेछ। म निर्वाचित भएपछि त्यसका लागि म केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरेर स्थानीय सरकारसँग सहकार्य गर्दै योजना बनाएर काम गर्छु।

अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?

अब दायाँबायाँ केही नसोच्नुस। म युवा हुँ, त्यसमाथि पनि जेनजी युवा हुँ। म ठूलो बन्न, सलाम खान उम्मेदवार बनेको होइन। देशको सेवा गर्न उम्मेदवार बनेको हुँ। नेपाललाई पर्यटनका क्षेत्रमा धेरै काम गर्न सकिन्छ। जलका मार्फत हामीले नेपाललाई चिनाउन सक्छौं। मलाई सेवा गर्ने अवसर दिनुस्। यही भन्छु, मौका दिनुस्, मलाई रुखमा मत दिनुस्। गरेर देखाउँछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.