पत्रकार राजेश खनाललाई ५० हजार नगद राशिको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार

डिसी नेपाल
१० फागुन २०८२ १५:४८
28
Shares

काठमाडौं। राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापना, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदिको व्यवस्था गर्दै उक्त क्षेत्रका उत्थानमा समर्पित रहेर नेपाली कलासाहित्यलाई विश्वपरिवेशमा परिचित गराउन प्रतिबद्ध संस्था ‘नेपाली कलासाहित्य डट कम प्रतिष्ठान’ले यस वर्ष पनि ६ साधकलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।

सोमबार काठमाडौंमा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा यस वर्षको ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान-२०८२’ सम्मानस्वरूप १ लाख एक हजार नगद राशि श्रद्धाभेटीसहित विशिष्ट साहित्य तथा नाट्य साधक मनबहादुर मुखियालाई समर्पण गरियो ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज चित्रकार किरण मानन्धर, प्रा.डा. गोविन्दराज भट्टराई, शंकर कोइराला र मोमिलाले सम्मानित व्यक्तित्वलाई सम्मान अर्पण गरे ।

उक्तअवसरमा कलासाहित्यका साधक एवम् साहित्यिक अभियन्ता ओम श्रेष्ठ ‘रोदन’लाई नगद राशि १ लाखसहित ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०८२’, कवि निमेष निखिललाई ७५ हजार नगद राशिसहित ‘स-सिद्धि राष्ट्रिय कलाश्री पुरस्कार-२०८२’, मिथिला चित्रकारिताका साधक एससी सुमनलाई ६० हजार रुपैयाँ नगद राशिसहित ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार–२०८२’, साहित्यिक पत्रकार एवम् स्रष्टा राजेश खनाललाई ५० हजार नगद राशिसहित ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार–२०८२’ र नेपाली लोकसाङ्गीतिक जगतकी स्रष्टा झुमा लिम्बूलाई नगद राशि ५० हजार सहित ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार-२०८२’ समर्पण गरियो ।

कार्यक्रमका प्रमुख अतिथि कलाकार मानन्धरले साहित्य र चित्रकला एक अर्काको परिपुरक भएको बताउँदै आफूलाई लेख्न नआए पनि साहित्य पढ्न मनपर्ने बताए ।

सम्मानित व्यक्तित्व नाट्यकर्मी मुखियाले आफ्नो नाटक ‘अनि देउराली रुन्छ’को लेखन र दाजीर्लिङ तथा नेपालमा भएको मञ्चनको प्रसंग स्मरण गरे ।
साहित्यकार ‘रोदन’ले आफ्नो लेखन यात्राकाबारेमा बताउँदै आफूलाई यस पुरस्कारले साहित्यप्रति अझ बढी उत्तरदायी बनाएको बताए ।
अर्का पुरस्कृत सर्जक कवि निखिलले प्राप्त पुरस्कारले आफूमा उर्जा थपेको उल्लेख गरे ।

कार्यक्रममा महेश पौड्यालले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको परिचय दिए भने साहित्यकार मोमिलाले प्रतिष्ठानले बितेको १८ वर्षदेखि निरन्तर साहित्य सेवा गर्दै साहित्यकार तथा सर्जकहरूलाई सम्मानित गर्दै आएको बताइन् ।

प्रतिष्ठानले यसअघि राष्ट्रिय कलाश्री सम्मान क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला, प्रेमध्वज प्रधान, रामेश, परशु प्रधान, किरण मानन्धर, यादव खरेल र वीणा पौडेललाई प्रदान गरिसकेको छ ।

त्यस्तै राष्ट्रिय कलाश्री पुरस्कार क्रमशः इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र विमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईं, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ, गणेश रसिक, अशेष मल्ल, मञ्जु काँचुली, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, भागीरथी श्रेष्ठ र विश्वविमोहन श्रेष्ठलाई प्रदान गरिसकेको छ ।

विगत १४ वर्षदेखि प्रदान गरिँदै आएको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार विप्लव ढकाल, श्रवण मुकारुङ, युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनु मञ्जिल, मणि लोहनी, सुमन पोखरेल, सरस्वती प्रतीक्षा, ठाकुर बेलवासे, केशव सिग्देल, भूपिन, कृसु क्षत्री र चन्द्र गुरुङलाई प्रदान गरिएको थियो । यस्तै बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार यसअघि जयदेव भट्टराई, फूलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, लक्ष्मी उप्रेती, धीरेन्द्र प्रेमर्षि, डा. टंक उप्रेती, अश्विनी कोइराला र बसन्त बस्नेतलाई प्रदान गरिएको थियो ।

त्यस्तै थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार–२०७५ चित्रकार एरिना ताम्राकार, २०७६ मा मूर्तिकार विक्रमश्री, २०७७ मा विधाता के.सी., २०७८ मा ओम के.सी, २०७९ मा फोटोकार जगदीश तिवारी, २०८० मा सम्झना राजभण्डारी र २०८१ म सुनील सिग्देलले प्राप्त गरिसकेका छन् । त्यस्तै विगत ६ वर्षदेखि प्रदान गरिएको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार यसअघि क्रमशः शिशिर योगी, मिलन नेवार, शिव परियार, मेलिना राई, सन्तोष श्रेष्ठ र कमलीकान्त भेटवाललाई प्रदान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.