रामेछाप । माघ २७ गते मन्थली नगरपालिका–६ भलुवाजोरको लिलौतिमा भएको भीषण बस दुर्घटनापछि १५ दिनदेखि बन्द रहेको नेपाल अरनिको यातायात सेवा प्रालिको मन्थली हुँदै चल्ने बस सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । मन्थली हुँदै ग्रामीण क्षेत्रमा चल्ने बस सेवा बन्द हुँदा स्थानीयले हैरानी खेपेका थिए ।

उक्त दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने आठ जना घाइते भएका थिए । दुर्घटनापछि मृतकका आफन्तहरूले राहत तथा क्षतिपूर्तिको विषयमा असन्तुष्टि जनाउँदै अरनिको सेवा प्रालिका यात्रु बोकेका बसहरू बाटोमै रोकेर चालकहरूमाथि दुव्र्यवहार गरेका भन्दै सो कम्पनिले सेवा मन्थली रुटमा चलेन् बस सेवा रोकेको थियो ।

मन्थली हुँदै ग्रामीण क्षेत्रमा ओहोरदोहोर गर्ने बस सेवा बन्द भएपछि रामेछाप र ओखलढुंगाको लिखु क्षेत्रको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित भएको थियो । ग्रामीण भेगबाट सदरमुकाम मन्थली तथा काठमाडौं र तराई आउ–जाउ यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको थियो । यातायात सेवा बन्द हुँदा बिरामी, विद्यार्थी र ज्यालादारी मजदुरी गर्नेहरू सबैभन्दा बढी मारमा परेका थिए ।

बस सेवा ठप्प भएपछि नागरिक स्तरका विभिन्न संघ–संस्थाहरूले राज्य संयन्त्रले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले पीडितलाई न्याय र यातायात सेवा दुवै सुनिश्चित गराउन स्थानीय प्रशासनलाई दबाब दिएका थिए ।

दुर्घटनामा ज्यान गुमाएका १५ जनाका परिवारलाई बीमा सुविधा बापत ५ लाख रुपैयाँ र काजक्रिया खर्च बापत १ लाख रुपैयाँ उपलब्ध गराउने तयारी भइरहेको प्रालिले जनाएको छ । तर मृतकका आफन्तहरूले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । क्षतिपूर्ति रकमको विषयमा अझै सहमति जुट्न सकेको छैन ।

दुर्घटनामा घाइते भएका ८ जनाको उपचारको सम्पूर्ण जिम्मेवारी प्रालिले लिएको जनाएको छ। घाइतेहरूको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । नेपाल अरनिको यातायात सेवा प्रालिका रामेछाप जिल्ला इन्चार्ज सुबाश फूयाँलले मन्थली रुट हुँदै गुड्ने बसहरू पुनः सञ्चालनमा आएको जानकारी दिए । यातायात सेवा पुनः सुरु भएसँगै बजार क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।