श्रमजीवी मजदुरको हकहितका लागि नजिक भएर काम गर्दै आएको दलले जित्नु पर्छः लक्ष्मण बस्नेत
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन श्रमजीवी मजदुरको हकहितका लागि नजिक भएर काम गर्दै आएको दलले जित हात पार्नुपर्ने श्रम नेता लक्ष्मणबहादुर बस्नेतले बताएका छन् ।
निर्वाचनमा होमिएको नेपाली कांग्रेसले प्रतिज्ञा पत्रमा ५ वर्षमा १५ लाख रोजगारी सृजना गर्ने अवधारणा अघि सारेको बताउँदै नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष तथा मजदुर नेता महासचिव बस्नेतले मुलुकमा रोजगारी रहेको दाबी गरे ।
बस्नेतले भने, ‘मुलुकमा दुई किसिमको रोजगारी छ । औपचारिक र अनौपचारिक । अनौपचारिक क्षेत्रमा आबद्ध भएर काम गर्दै आएका श्रमिकका हकमा कांग्रेसले काम गर्न सक्नुपर्छ । सडकमा कामगर्नेहरुको शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा काम गर्न सक्नुपर्छ । त्यसलाई औपचारिक आर्थिक पाटोमा जोड्न सकिन्छ । विकेन्द्रित भएर काम गरिरहेकालाई कांग्रेस र मजदुरको सहयोगले मात्र एकताबद्ध गर्न सक्छ ।’
अनौपचारिक क्षेत्रका मजदुरलाई एक बनाएर उनीहरूको स्तरोन्नति गराउन सकिने बस्नेतले बताएका छन् । सामाजिक सुरक्षामा श्रमिकलाई आबद्ध गराउनुपर्नेमा जोडदिदैं ट्रेड युनियनकर्मीले भने, ‘सामाजिक सुरक्षा कोष मजदुरका लागि सकारात्मक प्लेटफर्म हो । यसलाई कांग्रेसले अङ्गीकार गर्नुपर्छ । जसमा उद्योगी मात्रको नभएर स्वयं श्रमिकले समेत केही प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ । जुन भइरहेको छ ।’
अनौपचारिक क्षेत्रमा काम गर्दै आएका श्रमिकलाई सङ्गठित हुने अधिकार दिदैं रजिस्ट्रेसन हुन दिनुपर्नेमा उनले जोड दिए । छरिएर रहेका श्रमिकलाई सङ्गठित गर्ने काम गाह्रो भएको स्वीकार गर्दै उनले स्थानीय तह, नगरले उनीहरूको पहिचान बनाइदिनुपर्नेमा जोड दिए । श्रमिकहरू सङ्गठित हुने अवस्था रहँदा उनीहरू आफै अधिकार रक्षा गर्न सक्षम हुने बस्नेतले प्रस्टाए ।
सत्ताको नेतृत्व कांग्रेसले गरिरहँदा उद्योग कलकारखाना बन्द भए श्रमिकले रोजगारीबाट वञ्चित हुनुपर्ने अवस्था आएको सन्र्दभममा ट्रेड युनियनकर्मी बस्नेतले पुराना उद्योगहरू आधुनिककरणसंगै समयानुकूल स्तरोन्नति गर्न नसक्दा समस्या देखिएको बताए । बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा रहेकाहरू बन्द भएको उनको भनाई छ ।
उनले भने, ‘प्रविधिमैत्री हुन नसकेको अवस्थामा रहेका उद्योगका उत्पादन लागत बढी हुन आउँछ । जुन उत्पादनले प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यो अवस्थामा रोजगारी आफै बन्द हुन्छ । हामीसँग आधुनिक स्तरका मेशिन नहुँदा समस्या भएका हुन् । अब नयाँ उद्योग र औद्योगिक क्षेत्रको वृद्धि गर्दै रोजगारी सृजना गर्न सक्नुपर्छ ।’
उमेरले ७ दशक नाघे पनि बस्नेत पछिल्लो समय मोरङको ६ वटै निर्वाचन क्षेत्रमा दैनिक सक्रिय रहँदै आएका छन् । ती क्षेत्रमा श्रमिक मजदुरको गुनासो र अपेक्षा बुझ्दै उनी प्रतिनिधि सभामा मजदुरको हक अधिकारको विषय राख् नसक्ने उम्मेदवारलाई चयन गर्नुपर्नेमा जोड दिदंै आएका छन् ।







डिसी नेपाल







Facebook Comment