मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

डिसी नेपाल
१४ फागुन २०८२ २२:२६
8
Shares

मध्यविन्दु (नवलपरासी) । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित र मुद्दा केन्द्रित बनाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवासमा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले लोकतान्त्रिक प्रतिस्पर्धा विचार, योजना र व्यवहारमा आधारित हुनुपर्ने बताए। ‘फिल्मको कथाजस्तो बनावटी शैलीमा देश चलाउन सकिँदैन, राष्ट्र सञ्चालनका लागि विज्ञ र अनुभवी टिम चाहिन्छ’, उनले भने।

कुनै एक व्यक्तिले मात्र देश परिवर्तन गर्न नसक्ने उल्लेख गर्दै उहाँले सामूहिक नेतृत्व र इमान्दारिताको आवश्यकता औँल्याए। उपसभापति शर्माले नेपाली कांग्रेस व्यक्तिकेन्द्रित राजनीति नभई संस्थागत र सहभागी नेतृत्वमा विश्वास गर्ने दल भएको स्पष्ट पारे।

‘कुनै एक व्यक्तिले देश बदल्ने होइन, सामूहिकता, जिम्मेवारी र इमान्दारिताबाट मात्रै परिवर्तन सम्भव हुन्छ’, उनले भने, ‘हामी कुनै एक व्यक्तिलाई अगाडि सारेर उहाँ आएपछि सबै ठीक हुन्छ भन्दै हिँड्दैनौँ, देश हामी सबै मिलेर बनाउने हो।’

विकास निर्माणका काममा ढिलासुस्ती अन्त्य गरिने उल्लेख गर्दै उनले प्रक्रियागत सहजीकरणमार्फत आयोजना समयमै सम्पन्न गर्ने वातावरण बनाइने बताए।

‘समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी र प्रक्रियागत रूपमा व्यवस्थित गर्दै काम छिटो सम्पन्न गर्ने र इमान्दार निर्माणकर्मीलाई राष्ट्रले सम्मान गर्ने व्यवस्था गर्नुपर्छ’, उनले भने।

उनले विभिन्न दलले सार्वजनिक गरेका वाचापत्र र भावी योजनामाथि खुला बहस गर्न कांग्रेस तयार रहेको उल्लेख गर्दै नीतिगत प्रतिस्पर्धाले नै लोकतन्त्र सुदृढ हुने धारणा व्यक्त गरे। ‘दलहरूले गरेका प्रतिबद्धता र योजनाबारे जुनसुकै नेतासँग पनि बहस गर्न हामी तयार छौं’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.