मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न आग्रह

डिसी नेपाल
१५ फागुन २०८२ २२:४३
16
Shares

काठमाडौं। प्रेस काउन्सिल नेपालले आसन्न निर्वाचनलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ।

काउन्सिलको आज बसेको बैठकले निर्वाचनजस्तो संवेदनशील विषयमा निर्वाचनलाई प्रभाव पार्ने किसिमका, निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा उम्मेदवारलाई नकारात्मक असर पुर्याउने, मतदातालाई दिग्भ्रमित पार्ने खालका, निष्पक्ष मतदानमा असर पुग्नेगरी चुनावी विश्लेषणात्मक सामग्रीका साथै विदेशी सञ्चारमाध्यमबाट सम्प्रेषित निर्वाचनलाई प्रभाव पार्ने किसिमको प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न नगराउन आग्रह गरिएको छ।

“बिबिसी वल्र्ड न्यूज सर्भिसबाट २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा २०८२ फागुन १४ गते ‘सट लाइक इनिमिजः इनसाइड नेपाल्स जेनजी अपराइजिङ’ विषयक वृत्तचित्र बिबिसीको युट्युब च्यानलबाट समेत सम्प्रेषण भएको देखिएको छ”, काउन्सिलका सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली सञ्चारमाध्यमले उक्त वृत्तचित्रको विश्वसनीयताको परीक्षण नै नगरी आफ्नो धारणासहित विश्लेषण गर्दै सामग्री सम्प्रेषण गरिरहेको देखिएको छ।”

काउन्सिलले निर्वाचनको सम्मुखमा विदेशी सञ्चारमाध्यमबाट वृत्तचित्रको नाममा निर्वाचनलाई प्रभाव पार्ने किसिमबाट यस्ता सामग्री सम्प्रेषण भएको र बिबिसी विदेशी मुलुकबाट सञ्चालित भएको हुँदा उक्त सञ्चारमाध्यम र त्यसअन्तर्गतको सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको नियमन गर्ने विषय यस काउन्सिलको स्पष्ट क्षेत्राधिकारभित्र पर्ने नदेखिएकाले कूटनीतिक समन्वयमार्फत प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गरी पत्राचार गर्नेसमेत बैठकले निर्णय गरेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.