किमद्वारा राइफल उपहार, छोरी फेरि केन्द्रमा
साेल। उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीहरूलाई नयाँ स्नाइपर राइफल उपहार दिएका छन्। राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उनकी किशोर छोरीको उपस्थितिलाई विशेष रूपमा देखाइएको छ, जसले उत्तराधिकार सम्बन्धी अड्कलबाजीलाई पुनः बल दिएको छ।
कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले शुक्रबार पार्टी र सेनाका वरिष्ठ अधिकारीहरूलाई राइफल हस्तान्तरण गर्दै सन् २०२१ को अघिल्लो महाधिवेशनयता पाँच वर्षको अवधिमा देखाएको प्रतिबद्धताप्रति ‘पूर्ण विश्वास’ र कृतज्ञता व्यक्त गरेकाे बताइएको छ। सुटिङ रेन्जमा आयोजित कार्यक्रममा किम यो जोङसहित अन्य उच्च अधिकारीहरूले राइफल परीक्षण गरेको तस्बिर सार्वजनिक गरिएको छ।
रिपोर्टले किमकी बहिनी किम यो जोङ हाल पार्टीको केन्द्रीय समितिको सामान्य मामिला निर्देशकको जिम्मेवारीमा रहेको पुष्टि गरेको छ। उहाँले पछिल्ला वर्षहरूमा वासिङ्टन र सियोलप्रति कडा धारणा राख्दै प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए। नयाँ जिम्मेवारीले पार्टीको आन्तरिक प्रशासन र सञ्चालनमा उनको प्रभाव विस्तार भएको सङ्केत गर्दछ।
तस्बिरहरूमा किमकी छोरी पनि राइफल समातेको देखिएकी छन्। नोभेम्बर २०२२ मा अन्तरमहादेशीय मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी किम जु ए त्यसयता विभिन्न सैन्य प्रदर्शन, औद्योगिक कार्यक्रम र कूटनीतिक भेटघाटमा बुबासँगै देखिँदै आएकी छन्। हाल करिब १३ वर्षकी मानिने उनलाई उत्तराधिकारी बनाउने तयारीबारे दक्षिण कोरियाली अधिकारीहरूले चासोपूर्वक निगरानी गर्दै आएका छन्।
सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको पार्टी महाधिवेशन बुधबार प्योङयाङमा सम्पन्न भएको थियो। बैठकमा किमले उत्तर कोरियाको आणविक शस्त्र कार्यक्रमलाई तीव्रता दिने योजनामा दोहोर्याएर जोड दिएका थिए। साथै दक्षिण कोरियाप्रति कडा नीति कायम राख्दै संयुक्त राज्य अमेरिकासँग वार्ताको ढोका खुला रहेको सङ्केत गरेका थिए तर आणविक निशस्त्रीकरणलाई पूर्वशर्त नबनाउन आग्रह गरेका थिए।
दक्षिण कोरियाको जासुसी निकायले यसै महिना किम जु एलाई उत्तराधिकारीका रूपमा औपचारिक रूपमा अघि सार्ने सम्भावना रहेको अनुमान सार्वजनिक गरेको थियो। यद्यपि उनी महाधिवेशनका औपचारिक बैठकहरूमा सहभागी देखिएकी थिइनन्। पार्टी नियमअनुसार औपचारिक पदका लागि कम्तीमा १८ वर्ष उमेर आवश्यक हुने भएकाले तत्काल त्यस्तो घोषणा नभएको सङ्केत गरिएको छ।
महाधिवेशनपछिको राज्य मिडिया रिपोर्टमा ‘हाम्रो पार्टीको गौरवशाली उत्तराधिकार र विकास सुनिश्चित गर्ने ठोस आधारशिला’ राखिएको उल्लेख गरिएको छ। विश्लेषकहरूले यसलाई भावी उत्तराधिकारबारे अप्रत्यक्ष सन्देशका रूपमा व्याख्या गरेका छन्।







डिसी नेपाल







Facebook Comment