ओखलढुङ्गामा अस्मिता थापाप्रति महिला र युवाको ‘क्रेज’
ओखलढुङ्गा -प्रतिनिधिसभा निर्वाचनको संघारमा रहेको ओखलढुङ्गा यतिबेला देशकै ध्यान खिच्ने ‘हटसिट’ बनेको छ। नेकपा (एमाले) ले ‘युवा’ पुस्ताकी शिक्षित र जुझारु युवा उम्मेदवार अस्मिता थापालाई मैदानमा उतारेपछि जिल्लाको वर्षौँदेखिको परम्परागत राजनीतिमा नयाँ तरङ्ग देखिएको छ।
निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा गाउँ-गाउँमा देखिएको जनलहर र विशेषगरी युवा र महिला मतदाताको अभूतपूर्व उत्साहले अस्मिताको पक्षमा बलियो माहोल बनेको विश्लेषण गरिएको छ।
ओखलढुङ्गाको इतिहासमै पहिलोपटक राष्ट्रिय पार्टीबाट महिलालाई उम्मेदवार बनाएपछि जिल्लाभरका आमा-दिदीबहिनीहरूमा “हाम्रो पनि प्रतिनिधित्व हुने भयो” भन्ने सन्देश गएको छ। यसअघि पुरुष उम्मेदवारलाई मात्र मतदान गर्दै आएका महिलाहरू यसपटक आफ्नै छोरी-चेलीलाई संसद् पठाउन उत्साहित देखिएका छन्। मतदाताको यो मनोवैज्ञानिक परिवर्तनले एमालेको परम्परागत मतमा ठूलो संख्यामा ‘स्वतन्त्र , महिला र ‘युवा’ मत थपिने निश्चित देखिन्छ।
थापाले आफ्नो चुनावी अभियानमा प्रतिस्पर्धीप्रति आरोप-प्रत्यारोप नगरी आफ्ना एजेन्डा र कार्यक्रम प्रस्तुत गर्ने रणनीति अपनाएकी छन्। विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधार, कृषि तथा पर्यटन प्रवर्द्धनलाई उनले प्राथमिकतामा राखेकी छन्। उनले मतदाताका गुनासा प्रत्यक्ष सुन्ने र समाधानमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
एमालेका केही नेता पार्टी परित्याग गरी अन्य दलबाट उम्मेदवार बनेपछि प्रारम्भिक चरणमा समीकरण फेरिने चर्चा चलेको थियो। तर निर्वाचन नजिकिँदै जाँदा एमाले संगठन पुनः लयमा फर्किएको र कार्यकर्ता पंक्ति सक्रिय बनेको देखिएको छ। एमालेबाट केही नेताहरु गएपछि भएको क्षतिको पूर्ति गर्दै अघि बढ्दा चुनाव एमालेको लागि सहज बन्दै गएको विश्लेषण गरिएको छ । हिजो एमालेबाट निष्क्रिय भएका र पार्टीमा पेलिएर हिँडेका नेता कार्यकर्ता यसपटक अस्मिता जिताउन एकाएक सबैतिरबाट सक्रिय भएका छन् । यसले पनि एमाले छाडेर जानेहरुले लैजाने मतभन्दा उनीहरुले छाडेपछि पार्टीमा सक्रिय हुनेहरुले थप्ने मत बढी देखिन्छ ।
सिद्धिचरण नगरपालिका, मोलुङ, लिखु र चम्पादेवी गाउँपालिकामा एमालेको पकड बलियो देखिएको छ भने अन्य क्षेत्रमा पनि अस्मिताको सालिन व्यक्तित्व र विकासप्रेमी एजेन्डाले आकर्षण बढाएको छ। उनले चुनावी सभाहरूमा आरोप-प्रत्यारोपभन्दा शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणका ठोस योजना अघि सारेकाले अनिर्णित मतदाताहरू समेत उनीप्रति सकारात्मक बनेका छन्।
तीन वर्षअघिको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा एमालेले २५ हजार २४५ मत प्राप्त गरेको थियो भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ हजार ९९९ मत पाएको थियो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ७ हजार १७२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ४१८ मत र जनता समाजवादी पार्टीले १ हजार ४५० मत प्राप्त गरेका थिए। विगतको मत परिणामलाई हेर्दा एमाले २५ हजार २४५ समानुपातिक मतका साथ जिल्लामा पहिलो शक्ति हो। एमालेको यो आधारभूत मत अझ सुरक्षित र विस्तारित हुने देखिएको छ।
१८ देखि २० हजार मतले जित सुनिश्चित हुने आँकलन गरिएको अवस्थामा अस्मिता थापाले युवा पुस्ता र नयाँ मतदाताको ठूलो हिस्सा आफ्नो पक्षमा पार्न सफल भएको स्थानीय विश्लेषकहरूको ठम्याइ छ।
निर्वाचनको अन्तिम घडीमा देखिएको यो जनउत्साह र मत गणितको विश्लेषणले ओखलढुङ्गामा यसपटक ठूलो राजनीतिक परिवर्तनको संकेत गरेको छ। आफ्नो छोरी-चेलीलाई नेतृत्वमा देख्न चाहने ओखलढुङ्गावासीको यो दृढताले अस्मिता थापालाई विजयको नजिक पुर्याएको देखिन्छ।







डिसी नेपाल







Facebook Comment