सर्लाहीमा सब–ईन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गरेका चार प्रहरी पुरस्कृत

डिसी नेपाल
१६ फागुन २०८२ २०:०६
60
Shares

सर्लाही। जिल्ला पूर्वाधार विकास कार्यालय मलंगवामा सब–इन्जिनियरका रूपमा कार्यरत ३६ वर्षीय प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनामा सफल अनुसन्धान गरि संलग्न आरोपितलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नगद पुरस्कारसहित सम्मान गरेको छ।

पुरस्कृत हुनेहरुमा प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी, प्रहरी निरीक्षक विरेन्द्र वि.सी, प्रहरी नायव निरीक्षक सुजन पुडासैनी र प्रहरी जवान अजय सहनी रहेका छन्। उनीहरूले उक्त हत्या प्रकरणको सफल अनुसन्धान गरी अभियुक्तलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यालयले जनाएको छ।

घटनापछि फरार रहेका आरोपितहरूलाई प्राविधिक तथा गोप्य सूचनाको आधारमा पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले अपराध नियन्त्रण तथा दोषीलाई कानुनी दायरामा ल्याउने कार्यमा खटिने प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने नीति अनुरूप सम्मान गरिएको बताएको छ।

सिरहा सुखीपुर नगरपालिका – ९ बैशाखा घर भई हाल सर्लाही मलंगवा नगरपालिका १० मा डेरा गरी बस्दै आएका यादवलाई गत फागुन ३ गते साँझ करिब ७ ः ५५ बजे फोन गरेर डेराबाट बाहिर बोलाइएको थियो। उनी बाहिर निस्किएको केहीबेरमै गोली प्रहार भएको थियो। उनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको थियो।

उनको हत्या लोक सेवा आयोगको वैकिल्पक सूचीमा परेका उम्मेदवारबाट भएको खुलेको छ। उनीसँगै मधेश प्रदेश लोक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धामा रहेका र वैकल्पिक उम्मेदवारको सूचीमा परेका व्यक्तिको योजनामा हत्या भएको पाईएको छ। सर्लाही प्रहरीले घटनामा संग्लग्न तिन जनालाई पक्राउ गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.