सिन्धुपाल्चोक-२ मा युवराज दुलालको घरदैलो तीव्र
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाका उम्मेदवार युवराज दुलाल “शरद” विकासको निरन्तरता, स्थायित्व र परिणाममुखी कार्यान्वयनलाई मुख्य एजेन्डा बनाउँदै घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्। पछिल्ला दिनमा उनी गाउँ–टोल, बस्ती र बजार क्षेत्रमा पुगेर प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रयासरत छन्।
औपचारिक आमसभाभन्दा प्रत्यक्ष भेटघाटलाई प्रभावकारी माध्यम मान्दै दुलाल मतदातासँग साक्षात्कार गरिरहेका छन्। साना अन्तरक्रियात्मक कार्यक्रममार्फत स्थानीयका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले आफ्ना योजनाबारे स्पष्ट धारणा राखिरहेका छन्। “जनताको विश्वास जित्ने आधार प्रत्यक्ष संवाद नै हो,” उनले एक कार्यक्रममा भने, “घोषणापत्रमा सीमित नभई कामको निरन्तरता र परिणाम देखिनुपर्छ।” घरदैलो अभियानका क्रममा देखिएको स्थानीय उत्साहले उनलाई जितको नजिक पुर्याएको समर्थकहरूको दाबी छ।
दुलालले यसअघि सुरु गरिएका पूर्वाधार योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ग्रामीण सडक स्तरोन्नति, खानेपानी आयोजनाको विस्तार, सिँचाइ व्यवस्थापन तथा कृषि उत्पादनको बजार सुनिश्चितता उनका प्राथमिक एजेन्डा हुन्। कृषकलाई उत्पादनमै सीमित नराखी बजार र मूल्य सुनिश्चिततासम्म जोड्ने नीति आवश्यक रहेको उनको भनाइ छ। स्थानीय तहमा सुरु भएका कतिपय अधुरा योजनालाई समयमै सम्पन्न गरिने आश्वासन पनि उनले दिएका छन्।
युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रवर्द्धन गर्ने विशेष कार्यक्रम ल्याउने तयारीसमेत उनले सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीलाई मात्र विकल्प मान्ने प्रवृत्तिमा परिवर्तन ल्याउँदै स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उनको योजना छ। “युवालाई अवसर दिन सके गाउँमै सम्भावना छ,” उनले भने, “सीप, लगानी र बजारलाई जोड्ने स्पष्ट योजना आवश्यक छ।”
उनले अघि सारेको “विकासको बाकस” अवधारणालाई यसपटक थप परिमार्जित र विस्तारित ढाँचामा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। दीर्घकालीन योजना, पारदर्शी बजेट व्यवस्थापन र नियमित अनुगमनमार्फत परिणाममुखी विकास सुनिश्चित गरिने उनको दाबी छ। प्रदेश तहमा जिम्मेवारी सम्हालिसकेको अनुभवलाई संघीय स्तरमा उपयोग गर्दै क्षेत्र नम्बर २ लाई नमूना विकास क्षेत्र बनाउने लक्ष्य उनले अघि सारेका छन्।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले रोजगारी, कृषि उपजको उचित मूल्य, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा मुख्य प्राथमिकता भएको बताएका छन्। दुलालले ती विषयलाई नीतिगत प्राथमिकतामा समेट्ने आश्वासन दिँदै “विकासलाई नारामा होइन, नतिजामा देखाउने” प्रतिबद्धता दोहोर्याएका छन्।
उता, अन्य उम्मेदवारहरू पनि सक्रिय बन्दै जाँदा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ।







डिसी नेपाल







Facebook Comment