नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान
जुम्ला। राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको छ। बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको उक्त सडक यस वर्ष नाग्मदेखि हिमा गाउँपालिकाको देवारगाउँसम्मको करिब १५ किलोमिटर कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको हो।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार यही फागुन १७ गते सार्वजनिक सूचनामार्फत ठेक्का आह्वान गरिएको हो। यसका लागि कुल रु ९१ करोड ६६ लाख बजेट स्वीकृत भइसकेको छ। ठेक्का प्रक्रियाबाट स्वीकृत प्रस्तावअनुसार लागत निर्धारण गरिने छ।
नाग्मदेखि देवारगाउँसम्मको १५ किलोमिटर खण्डमा उच्चस्तरीय कालोपत्र, विशेषगरी अस्फाल्ट कङ्क्रिट प्रविधि प्रयोग हुने भएको छ। नाग्म–गमगढी राजमार्गका लागि बहुवर्षीय बजेटसमेत स्वीकृत भइसकेकाले दीर्घकालीन रूपमा निर्माण कार्यले निरन्तरता पाउने अपेक्षा गरिएको कार्यालय प्रमुख महताराको भनाइ छ।
चार वर्षअगाडि यहाँको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा करिब ६ किलोमिटर मात्र कालोपत्र गरिएको थियो। बजेटको सुनिश्चिता नहुँदा नाग्म–गमगढी सडक स्तरवृद्धि हुन सकेको थिएन। अब बजेटको सुनिश्चित भएसँगै कालोपत्रको कामलाई तीव्र गतिमा अगाडि बढ्ने प्रमुख महताराले बताए। नाग्म–गमगढी सडक स्तरवृद्धि नुहँदा राराताल आउने पर्यटकलाई सास्ती हुने गरेको थियो।







डिसी नेपाल







Facebook Comment