फागुन २१ गते मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हो : ओली

डिसी नेपाल
२१ फागुन २०८२ १५:३९
16
Shares

काठमाडौं। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेलाई मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिनका रुपमा स्मरण गरेका छन्।

विहीबार सामाजिक संजाल फेसबुकमार्फत उनले फागुन २१ गते सुखानी शहीद दिवस साथै दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएकाले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको स्मरण गरेका हुन्।

उनले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मंैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।’

उनले जेल सार्ने बहानामा हत्या गर्न लाग्दा मृत्युको मुखबाट फर्केर आएको र १४ वर्षको कठोर कारावास बिताएको बताए।

उनले लेखेका छन्, ‘झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरङ्कुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो। जेल सार्ने बहानामा हत्या गरिन लाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ।’

उनले आफ्नो जीवनका दुई संयोगहरूको दिन भएकाले फागुन २१ कहिल्यै नबिर्सने दिन रहेको उल्लेख गरे। ‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो। फागुन २१ कहिल्यै नबिर्सने दिन हो,’ उनले लेखेका छन्।

उनले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.