भयरहित वातावरणमा बाजुरामा निर्वाचन सम्पन्न, ४४ हजार बढी मत खसे

डिसी नेपाल
२१ फागुन २०८२ १९:०८
12
Shares

बाजुरा। बाजुरामा पहिलोपटक शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ। २०४८ सालयता बाजुरामा हरेक निर्वाचनमा धाँधली,झैझगडा र बुथ कब्जा हुने गरेका थिए।

यो निर्वाचन भने भयरहित वातावरणमा सम्पन्न हुँदा यसलाई नमुना मतदानको रुपमा लगिएको छ। यहाँका नागरिकले आफ्नो मत आफैंले हाल्न पाएका छन्। पहिलो पटक शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विहान ७ बजेबाट ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा सुरु भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय घटना नघटी शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताए। उनले यो निर्वाचन बाजुराको लागी नमुना निर्वाचन भएको समेत बताए।

बाजुरामा ४५ हजार ४२८ पुरुष,४२ हजार ४३१ महिला र अन्य २ गरेर कुल ८७ हजार ८ सय ६१ मतदातामध्ये ४४ हजार ७ सय ७३ मत अर्थात् ५१ प्रतिशत मत खसेको हो।हरेक वर्षका निर्वाचनमा विवादित बन्दै आएको बाजुराले यो निर्वाचनलाई ऐतिहासिक र नमूना निर्वाचन स्थापित गरेको हो।

एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा ७७ मतदान स्थल र १ सय १८ मतदान केन्द्र रहेका थिए। त्यस्तै जिल्लामा १ अस्थायी मतदान केन्द्र रहेको थियो। जहाँ १ हजार ४ सय बढि मतदाता थिए।यो निर्वाचनमा बाजुरामा उच्च सुरक्षा सतर्कता अपनाईएको थियो।

बाजुरामा २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई जना युवाको मृत्यु भएको थियो।यस पटकको निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको खुसी लागेको सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउने सुरक्षाकर्मी,निर्वाचन प्रहरी,कर्मचारी लगायत सञ्चारकर्मीलाई धन्यवाद समेत दिएका छन्।

बाजुरामा यो निर्वाचनमा करिब सात सय बढी कर्मचारी परिचालन गरिएका थिए। त्यस्तै ४ सयभन्दा बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी, ३ सयभन्दा बढी नेपाली सेना तथा १ हजार ६० जना निर्वाचन प्रहरी परिचालन गरिएका हुन्।बाजुरामा ६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशिल र ३ वटा सामान्य रहेका थिए।

सम्पूर्ण मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेपछि मात्रै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। सर्वाधिक विकट गुम्बा,बिच्छ्या,बौडीका मतपेटिका हेलिकप्टरबाट ल्याईने भएको हो। कतिपय मतपेटिकाहरु सदरमुकाम पुगिसकेका छन्।

बाँकी अन्य मतदान स्थलका मतपेटिका आज राती र भोली विहानसम्म सदरमुकाम पुर्याइने भएको हो।बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन्। मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी नेकपा,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा विच प्रतिस्पर्धा हुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.