कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

डिसी नेपाल
२४ फागुन २०८२ ७:१३
56
Shares

महेन्द्रनगर। प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित भएका छन्।

यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी भएका छन्।

२४ हजार ३३२ मतसहित उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरे। त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गरेका छन्। कञ्चनपुर १ मा कुल ६१ हजार ७४ मत खसेको थियो।

त्यसैगरी कञ्चनपुर २ मा पनि रास्वपाका दीपकराज बोहरा भारी मतान्तरले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई पराजित गरेका हुन्।

बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै विजय हासिल गर्दा कांग्रेस उम्मेदवार साउदले १० हजार ८२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए। त्यसैगरी एमालेका बचनबहादुर सिंह छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले छ हजार ३३७ मत प्राप्त गरेका छन्। यहाँ कुल ६५ हजार ३४७ मत खसेको थियो।

त्यसैगरी यहाँको कञ्चनपुर ३ मा रास्वपा ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भएका छन्।

यहाँ कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले नौ हजार ४४३, नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले सात हजार ५७५ मत प्राप्त गरेका छन्। कञ्चनपुर ३ मा कुल ५८ हजार ३६१ मत खसेको थियो। जिल्लाका तीनवटा क्षेत्रमा निर्वाचित भएका धामी, बोहरा र महता पहिलोपटक सांसद निर्वाचनमा होमिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.