नेपालीको पहिचानको पुस्तान्तरण गर्न हङकङमा एएनओ गठन
हङकङ। मध्यपूर्वका मुलुकमा कार्यरत नेपालीहरुको सुरक्षाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)को हङकङ सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनले स्थानीय युवा व्यवसायी विक्की थापाको अध्यक्षतामा हङकङ कमिटी घोषणा गरेको छ। हङकङ सरकारको डिस्ट्रिक काउन्सिलर प्रथम नेपाली अरुणा गुरुङ र एएनओका अन्तर्राष्ट्रिय कमिटीका महासचिव चूडामणि भट्टराईले शनिवार साँझ पानसमा बत्ति बालेर संयुक्तरुपमा उद्घाटन गरेको सो सम्मेलनले विश्वका जुन ठाउँमा जन्मे पनि र जुन देशको नागरिकता बोके पनि नेपाली मूलको पहिचान गरी आपसी एकता कायम गर्दै नेपाली जातिको शक्तिलाई नेपालको हितमा प्रयोग गर्नु पर्ने प्रस्ताव पारित गरेको छ।
एएनओकी केन्द्रीय सदस्य खुसी गुरुङको सभापतित्वमा सम्पन्न सम्मेलनले हाल विश्वमा देखापरिरहेको सुरक्षा चुनौतीका सन्दर्भमा मध्यपूर्वमा बसोवास गरिरहेका नेपाली जातिका मानिसहरुको सुरक्षालाई नेपाल सरकारले विशेष ध्यान पुर्याई उचित कदम चाल्न विशेष प्रस्ताव पारित गरेको छ।

सम्मलेनको उद्घाटन गर्दै एएनओको अन्तर्राष्ट्रिय कमिटीका महासचिव चूडामणि भट्टराईले संसारभरिका जुन सुकै मुलुकमा जन्मे हुर्के पनि र जतिसुकै पुस्ता भए पनि नेपाली जातिका मानिसहरुलाई एकआपसमा जोड्ने अभियानका रुपमा एएनओ अगाडि बढेको बताए।
उनले पुर्खाको अदम्य साहस प्रतिविम्बित हुने हङकङका नेपालीको गौरवपूर्ण इतिहासले नेपाली जातिका बीच उल्लेखनीय स्थान ओगटेको बताउँदै नेपाली जातिलाई आपसमा जोड्ने उनीहरुलाई मातृभूमि पितृभूमि नेपालसंग जोड्न हंगकंगको नेपाली समुदायले थप योगदान दिने विश्वास व्यक्त गरे ।
नेपाली जातिको आफ्नै पहिचान र अतित्वसहितको जीवन यापनका लागि सामाजिक संस्कृतिक अभियान चलाइरहनु भएका अमेरिका निवासी समाजसेवी डिल्ली अधिकारीको नेतृत्वमा सन् २०२४ मा एएनओको स्थापना भएको यो संस्थाको हङकङ अधिबेशनले जतिसुकै पुस्ता वाहिर बस्नु परेपनि जहाँ बस्यौं त्यहीँ नेपाली भाषा, कला, संस्कृति, रितिरीवाज र यी सबैसँग जोडिएको नेपाली पहिचानको निरन्तरता तथा यसको विस्तार एवं पुस्तान्तरणको अभियानमा क्रियाशिल रहने घोषणा पनि गरेको छ। नवनिर्वाचित हङकङको कार्यसमितिको उपाध्यक्षमा अजय राई, महासचिवमा सुकु लिम्बू, सचिवमा अनुज रोक्का, कोषाध्यक्षमा सोफिया गुरुङ र प्रबक्तामा सुरेश याक्सो छन्।

त्यसैगरी सदस्यहरुमा सरला तामाङ, टपराज तामाङ, रिस्ता गुरुङ, मेजिला गुरुङ, भीम गुरुङ, जुनू राना, विन्नी लामा राई र करन तमाङ चयन भएका छन्।
विश्वभरका नेपालीको श्रम, पूँजी र बौद्धिक क्षमतालाई नेपालको समृद्धिमा लगाउन आफ्ना जातिका मानिसहरुलाई नेपाल सरकारले पहिचान गर्नुपर्ने र सो कार्यमा एएनओले सहयोग गर्न सक्ने प्रस्ताव पनि अधिवेशनले पारित गरेको छ।
कार्यक्रममा हङकङ सरकारमा डिष्ट्रिक प्रतिनिधि रहेकी प्रथम नेपाली काउन्सिलर अरुणा गुरुङले नेपाली जातिको एकता र संस्कृतिको पुस्तान्तरणसहितको उद्देश्यमा एएनओले सफलता प्राप्त होस् भन्दै शुभकाना दिएकी थिइन्।
नेपाली मूलका मानिसहरुको विशेषज्ञता र क्षमता मातृभूमि पितृभूमिका हिसावले पनि उपयोग गर्न नेपालले सकोस् भन्ने कामना पनि अधिबेशनले गरेको छ। आफ्ना मूलका मानिसहरुलाई नेपालले आफूसंग जोड्ने नीति बनाउन नेपाल सरकारको ध्यानाकर्षण गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
सम्मेलनमा सम्मेलनलाई तनहुँ समाज हङकङका बरिष्ठ उपाध्यक्ष रोशन गुरुङ, एनआरएनए लिमिटेडकी अध्यक्ष जयन्ती गुरूङले एएनओको हङकङ कमिटीको कार्य सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा मेरो भ्वाइस युनिभर्स सिजन २ का उपबिजेता हङकङ निवासी टपराज नेगी तामाङ र सोही प्रतियोगिताकी प्रतिष्पर्धी विन्नी लामा राईले सांगितिक प्रस्तुति दिएका थिए।







डिसी नेपाल







Facebook Comment