अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

डिसी नेपाल
२४ फागुन २०८२ २१:२८
248
Shares

काठमाडौं। अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका-८ मङगलबारे बस्ने मान बहादुर दर्जी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मान बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

दाङको घोराही उपमहानगरपालिका-१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० ग्राम ३ सय २० मिलिग्राम र नगद ३५ हजार ८ सय ३५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उक्त गेष्ट हाउसका संचालक घोराही उपमहानगरपालिका-१४ सरस्वती टोल बस्ने रोल्पा घर भएका ३१ वर्षीय हिरामणी घर्ती र दाङ घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २६ वर्षीय ईश्वर बुढा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ राना टोल बस्ने २३ वर्षीय अमन राना समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले सु.प.प्र.१-०१३ प १८०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ बाणी बस्ने २५ वर्षीय कुबेर शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.