लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

डिसी नेपाल
२५ फागुन २०८२ ५:४२
104
Shares

भैरहवा। लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले दुई-दुई तथा नेकपा (एमाले) ले एक क्षेत्रमा विजय हासिल गरेका छन्। रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्।

रुपन्देही-१ मा सुनिल लम्साल, रुपन्देही-२ मा सुलभ खरेल, रुपन्देही-३ मा डा लेखजंग थापा, रुपन्देही-४ मा कन्हैया बनियाँ र रुपन्देही-५ मा तौफिक अहमद खान विजयी भएका हुन्।

त्यसैगरी पश्चिम नवलपरासी-१ मा पनि रास्वपाकै विक्रम खनाल तथा पश्चिम नवलपरासी-२ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ। कपिलवस्तु-१ मा रास्वपाकै मोहनलाल आचार्य र कपिलवस्तु-२ मा विक्रमसिंह थापा विजयी भएका छन् भने कपिलवस्तु-३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले विजय प्राप्त गरेका छन्।

दाङ-१ मा रास्वपाकै देवराज पाठक, दाङ-२ मा विपीनकुमार आचार्य र दाङ-३ मा कमल सुवेदी निर्वाचित भएका छन्। गुल्मी-१ मा पनि रास्वपाकै सागर ढकाल र गुल्मी-२ मा गोविन्द पन्थी विजयी भएका हुन्।

रास्वपाकै उम्मेदवार बर्दिया-१ मा ठाकुरसिंह थारु तथा बर्दिया-२ मा श्रीधर पोखरेल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। रास्वपाकै तर्फबाट बाँके-१ मा सुरेशकुमार चौधरी र बाँके-३ मा खगेन्द्र सुनार विजयी भएका छन् भने बाँके-२ मा नेकपा (एमाले) का मोहम्मद इश्तियाक राईले विजय प्राप्त गरेका छन्। त्यसैगरी रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा रोल्पामा वर्षमान पुन निर्वाचित भएका छन्।

प्यूठानमा रास्वपाका सुशान्त बैदिक विजयी प्राप्त गरेका छन्। पाल्पा-१ मा नेपाली कांग्रेसका सन्दीप राना तथा पाल्पा-२ मा रास्वपाका माधवबहादुर थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ। अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल विजयी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.