दुई सय दश दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितले ताेडे अनशन

डिसी नेपाल
२५ फागुन २०८२ २०:१६
28
Shares

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारले पुनःस्थापनाको माग राख्दै सुरु गरेको अनशन २१० दिनअघि आज अन्त्य गरेका छन्। नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराको उपस्थितिमा विस्थापित परिवारले अनशन तोडेका हुन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित बोहराले विस्थापित परिवारको स्थायी बसोबासको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि विस्थापित परिवारले अनशन अन्त्य गरेका हुन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा आरक्ष) विस्तारका क्रममा विस्थापित भएका परिवारले विगत लामो समयदेखि पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका थिए। पछिल्लो समय विस्थापित परिवार कृष्णपुर नगरपालिका–२ वनहरा नजिक सडक छेउमा पाल टाँगेर निरन्तर अनशनमा थिए। उनीहरूले सरकार तथा सरोकारवाला निकायलाई समस्या समाधानका लागि दबाब दिँदै आएका थिए।

बोहराले विस्थापित परिवारको समस्या गम्भीर रहेकाले यस विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले विगतमा गठन भएका विभिन्न आयोगले तयार पारेका प्रतिवेदन अध्ययन गरेर पुनःस्थापनाका लागि ठोस पहल गर्ने बताए। ‘तपाईंहरूका समस्या धेरै वर्षदेखि समाधान हुुनुपर्ने थियो, भएन’, उनले भने, ‘तपाईहरूसँग थप छलफल, अन्तर्क्रिया गरेर समाधानको बाटो खोज्नेछु।’ सडकछेउमा बसेर अनशन गर्दा दुर्घटनाको जोखिमसमेत रहेको उल्लेख गर्दै उहाँले अनशन तोड्न आग्रह गरे।

अनशन तोड्ने क्रममा आरक्ष विस्थापित संघर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले नवनिर्वाचित सांसद बोहरामाथि विश्वास गरेर आफूहरूले अनशन अन्त्य गरेको बताए। ‘हामीले तपाईंलाई भरोसा गरेर संसदमा पठाएका छौँ’, उनले भने, ‘विगतका सांसद र सरकारहरूले देखाएकोजस्तो व्यवहार दोहोरिनुहुँदैन भन्ने हाम्रो अपेक्षा छ।’

भट्टले आरक्ष विस्थापितको समस्या समाधान गर्न हालसम्म ३४ वटा आयोग गठन भए पनि ठोस उपलब्धि हासिल हुन नसकेकाे बताए। उनका अनुसार विस्थापित परिवारको पुनःस्थापनामा कहिले वन ऐनले अवरोध गरेको बहाना देखाइयो भने कहिले सरकारको अस्थिरताका कारण समस्या समाधान हुन नसकेको बताइयो। उनले आफूहरू विस्थापित हुनुअघि पाँच बिघा जमिनका मालिक रहेको स्मरण गर्दै अहिले घरवारविहीन अवस्थासम्म आइपुगेको दुःखेसो पाेखे। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.