उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

डिसी नेपाल
२९ फागुन २०८२ ११:३९
8
Shares

रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिका-५ प्रीतिको उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुगेको छ। गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयले पूजा गरेर स्वागत गरेका छन्।

स्थानीयले तामाङ संस्कारअनुसार बसको पूजा गरी चालक, सहचालक र जनप्रतिनिधिहरूलाई भव्य स्वागत गरेका थिए।

यसअघि उमाकुण्ड-५ को नासपातीघारीसम्म मात्र बस सेवा पुग्ने गर्दथ्यो। अब बाहुनीडाँडा र जिदु हुँदै उर्माखुसम्म बस पुग्ने नेपाल अरनिको यातायात सेवा प्रा.लि. रामेछापका प्रमुख सुवास फुँयालले जानकारी दिए।

बस उर्माखुसम्म पुगेपछि स्थानीयवासीले जनप्रतिनिधिलाई धन्यवाद दिँदै बाह्रै महिना यातायात चल्ने सडक बनाउन माग गरेका छन्। उमाकुण्ड गाउँपालिका-५ का वडा अध्यक्ष कुलबहादुर बस्नेतका अनुसार यसअघि सो गाउँका बासिन्दाले बस चढ्न एक घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था थियो। अब भने गाउँमै बस पुगेपछि स्थानीयलाई ठूलो राहत भएको छ । उनले बाह्रै महिना बस चलाउने गरी सडक स्तरोन्नति गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

सडक सहज भएमा अब सो रुटमा नियमित रूपमा बस सेवा सञ्चालन गर्ने समितिका प्रमुख फुँयालले बताए। बस गाउँसम्म पुगेपछि आवतजावत, बजारसम्म पुग्ने सुविधा, बिरामी ओसारपसार तथा दैनिक आवश्यकताका काममा सहजता हुने स्थानीयले अपेक्षा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.