पशुपति घिमिरेको नियात्रा तीन महादेशका केही तरङ्ग विमोचित
काठमाडाैं। नियात्रा साहित्यमा सक्रिय कलम चलाउँदै आएका पशुपति घिमिरेको नवीनतम कृति ‘तीन महादेशका केही तरङ्ग’ गत शनिवार लोकार्पण भएको छ।
राजधानी काठमाडाैंमा सम्पन्न एक समारोहमा प्रा.डा. गोविन्दराज भट्टराई, विश्व साइकलयात्री एवं नियात्राकार पुष्कर शाह, समीक्षक राजकुमार बानिया, कवि प्रल्हाद पोखरेल, निबन्धकार कुमारी लामा र लेखक घिमिरे र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. भट्टराईले नियात्रामा विशेष किसिमको आकर्षण हुने बताए । घिमिरेको नियात्रा संग्रह बौद्धिकता र परिष्कृत भाषा शैलीका कारण विशेष भएको पनि उनले बताए ।
नियात्रामा उल्लेख भएका कतिपय प्रसंगहरू औपन्यासिकताले भरिएका र कतिपय प्रसंगहरूमा अझ विस्तारपूर्वक वर्णन गर्न सकिने ठाउँ रहेको जनाउँदै नियात्राकार पुगेका कतिपय ठाउँमा आफू पनि पुगेको उनले बताए ।

समीक्षक राजकुमार बानियाले पुस्तकको अनौपचारिक र कवितात्मक भाषाशैली यसको विशेष पक्ष भएको बताए । अनुभव र अनुभूतिले भरिएका यी नियात्रामा पाठकको संवेदनालाई छुन सक्ने क्षमता रहेको उनको भनाइ थियो । सो सङ्ग्रहमा जीवन जगतका मार्मिक बिम्बहरू समेटिएको पनि उनले बताए ।
विश्व साइकलयात्री पुष्कर शाहले यस कृतिले जादु जस्तै घुमफिरको चाहना जगाउने बताए। जीवनदर्शन र भौतिक विज्ञानजस्ता गहन विषयलाई समेत सहज ढङ्गले पाठकसमक्ष पुर्याएका घिमिरेको लेखन प्रतिभा विशेष भएको उनको भनाइ थियो ।
लेखक पशुपति घिमिरेले यस्ता विशिष्ट साहित्यकर्मीहरूको बीचमा आफ्नो कृतिको लोकार्पण हुनु आफ्नो लागि गौरवपूर्ण क्षण भएको बताउँदै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा लेखक अनिता कोइराला, नियात्राकार राजेन्द्रमान डङ्गोल, लेखक नारायण नेपाल, सम्पादक पारस नेपाल, सम्पादक माधव नेपाल,पत्रकार ओमआस्था राई, नरेन्द्र रौले,जयराम विडारी लगायत करिब चार दर्जन साहित्यप्रेमीको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन सीता रिजालले र स्वागत मन्तव्य प्रकाशक शिखा बुक्सका निर्देशक पुष्पराज पौडेलले गरेका थिए ।







डिसी नेपाल







Facebook Comment