बुढिनन्दा नगरपालिकाको पहलमा कोल्टी अस्पतालमा शल्यक्रियासहित विशेषज्ञ सेवा सुरु हुने
बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालमा अब शल्यक्रियासहितका विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन हुने भएका छन् । नगर प्रमुख जनककुमार बोहराको पहल र समन्वयमा निक सिमोन्स इन्स्टिच्युटको सहयोगमा अस्पतालको सेवा २०८३ को श्रावणबाट सुदृढ गरिने भएको हो ।
निक सिमोन्स इन्स्टिच्युटले आठ देखि दश करोड सम्म खर्च गर्ने अनुमान गरीएको छ ।
संस्थाका सिनियर म्यानेजर डा. कसिम शाहका अनुसार दुर्गम क्षेत्रका नागरिकलाई नजिकै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा आवश्यक जनशक्ति, उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ । यसअन्तर्गत अस्पतालमा एमडीजीपी चिकित्सक, एसबीए तालिम प्राप्त मेडिकल अफिसर, ओटी तालिम प्राप्त नर्स, एनेस्थेसिया असिस्टेन्ट तथा बायोमेडिकल उपकरण टेक्निसियनसहित विशेषज्ञ टोली रहनेछ ।
अस्पतालमा सिजेरियन सेक्सन, एपेन्डिसाइटिस, हाइड्रोसिल र हर्नियासहित विभिन्न शल्यक्रिया सेवा सञ्चालन हुनेछन् भने टाइफाइड, झाडापखाला, क्षयरोग, निमोनियालगायत सामान्य रोगहरूको उपचार पनि उपलब्ध हुने जनाइएको छ । साथै अपरेसन थिएटरका उपकरण व्यवस्थापन, डेलिभरी कक्ष स्तरोन्नति, आकस्मिक सेवा व्यवस्थित गर्ने तथा एक्स–रे र अल्ट्रासाउन्ड मेसिनको स्तरोन्नति गरिनेछ। चिकित्सक, नर्स र प्यारामेडिक्सका लागि तालिम तथा स्वास्थ्यकर्मीका लागि बसोबासको व्यवस्था समेत गरिने बताइएको छ ।
यसअघि स्थानीयवासीले सामान्य उपचारदेखि शल्यक्रियासम्मका सेवाका लागि मार्तडी वा नेपालगञ्ज लगायत अन्य क्षेत्रमा जानुपर्ने बाध्यता रहेको थियो । अब कोल्टीमै विशेषज्ञ सेवा उपलब्ध हुने भएपछि बुढिनन्दा मात्र होइन जुम्ला, कालिकोट र मुगु आसपासका नागरिकलाई पनि स्वास्थ्य सेवामा सहजता हुने अपेक्षा गरिएको छ ।
नगर प्रमुख बोहराले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ आफूले निरन्तर पहल गरेको बताउँदै आगामी दिनमा पनि जनताका लागि थप सेवा सुविधा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







डिसी नेपाल







Facebook Comment