चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु
काठमाडौं। काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ-मुहूर्त गर्दै छायांकन थालिएको हो।
ठूलो लगानी र नाम चलेका कलाकारहरूको समिश्रण रहेकाले यो चलचित्रलाई यस वर्षको प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ। क्यामेरा पूजा गर्दै छायांकन थालिएको सिनेमाको पहिलो दिनको सेड्युलमा चलचित्रका मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन्। यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन्। ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन्।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित सिनेमा भने होइन। निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) हो। चलचित्रमा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ।
निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन्। चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गर्दैछन्।
नेपाली फिल्म क्षेत्रमा सफल पटकथा लेखकको पहिचान बनाएका सुशील पौडेलले यसको कथा, पटकथा तथा संवाद लेखेका हुन्। पौडेल यसअघि समीक्षक र दर्शक दुवैले रुचाएको चर्चित फिल्म ‘प्रसाद’का लेखक हुन्, जसका कारण ‘पाँच पाण्डव’को कथावस्तु पनि बलियो हुने अपेक्षा गरिएको छ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन्। हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए।
यो चलचित्रलाई श्याम तामाङले खिच्ने छन्। करिब ४० दिनको छायाकंन तालिका तय गरिएको अधिकांश दृश्य झापा मै खिचिने निर्माण टिमले जानकारी दिएको छ।
चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने छ ।
झापाका विभिन्न रमणीय स्थानहरूमा छायांकन सकेपछि टोलीले अन्य स्थानको सेड्युल तय गर्ने निर्देशक निरौलाले जानकारी दिए। दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको एउटै पर्दामा उपस्थिति रहने भएकाले चलचित्रलाई लिएर सिने वृत्तमा अहिलेदेखि नै चर्चा चुलिएको छ।







डिसी नेपाल







Facebook Comment