निर्वाचन पर्यवेक्षणको अनुभव

कपिल लोहनी
७ चैत २०८२ ८:०३
36
Shares

गत मध्यावधि निर्वाचनमा म राष्ट्रिय पर्यवेक्षकको रूपमा काठमाडौं जिल्लामा खटिएको थिएँ। निर्वाचन पर्यवेक्षणको मेरो यात्रा सन् १९९४ को मध्यावधि निर्वाचनबाट शुरु भएको हो र त्यसपछिका सबै आमनिर्वाचनमा मैले निरन्तर रूपले राष्ट्रिय पर्यवेक्षक भएर काम गर्ने मौका पाएको छु।

त्यतिबेला म एक द्वैमासिक अंग्रेजी पत्रिका ‘द माइलस्टोन’को सम्पादक थिएँ। सो पत्रिकामा सल्लाहकारको रूपमा मेरा पिताजी गोविन्दप्रसाद लोहनीलगायत डा. भेषबहादुर थापा, डा. विश्वम्भर प्याकुर्‍याल, डा. डिल्लीराज खनाल, डा. मदनकुमार दाहाल र डा. मधुनिधि तिवारी जस्ता आआफ्ना विषयका विद्वानहरू संलग्न हुनुहुन्थ्यो। सल्लाहकारहरूको त्यतिबेलाको भेटघाटमा सो मध्यावधि निर्वाचनको पर्यवेक्षण गर्ने बारे पनि छलफल भएको थियो।

सोही अनुरुप मलगायत मेरा पिताजी र अर्का सम्पादक ऋषिराम भट्टराईले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिमार्फत पर्यवेक्षण गर्ने निधो भयो। सो समितिले हामीसँगै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि सहभागी बनाएको थियो। अन्य विदेशीका साथै पाकिस्तानका केही सांसदहरू हाम्रो समूहमा थिए।

हामीले काठमाडौं उपत्यका अन्तर्गत ललितपुरलाई मुख्य क्षेत्र बनाएर काठमाडांँ र भक्तपुरमा पनि पर्यवेक्षण कार्य गरेका थियौं। प्रजातन्त्रको शैशवावस्था नै रहेको र मुलुकमा राजनीतिक संकट जारी रहेकोले पनि त्यतिबेला अन्तर्राष्ट्रिय पर्यवेक्षक सस्थाहरूको उपस्थिति उच्च थियो।

मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनर्वहाली भएको छोटो समयमा नै राजनीतिक अस्थिरताले गर्दा सन् १९९० पछिको पहिलो आमनिर्वाचनबाट बनेको प्रतिनिधिसभालाई गिरिजा सरकारले आफ्नै बहुमतको संसद भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरेकोले मुलुकमा एक प्रकारको अन्योलको वातावरण छाइरहेको थियो।

तत्कालीन गिरिजा सरकारको त्यो कदम नेपालको प्रजातान्त्रिक विकासमा निकै घातक घटना बन्न पुगेको तर्क आजसम्म पनि राजनीतिक विश्लेषकहरूको छ। सन् १९९० पछिको पहिलो आमनिर्वाचन ताका आफू स्नातकोत्तरको विद्यार्थी नै रहेकोले आन्दोलन र बन्द हडतालको कारण विगतमा शिक्षण संस्थाहरूमा पनि अस्तव्यस्तता छाएकोे हुँदा पढाइ सक्ने काममा नै व्यस्त थिएँ। यही कारणले गर्दा दोस्रो यानी मध्यावधि निर्वाचन १९९४ नै मेरो पहिलो अनुभव थियो निर्वाचन पर्यवेक्षणको।

निर्वाचन पर्यवेक्षण एक नितान्त स्वयम्सेवी काम हो। पर्यवेक्षण गर्ने काम कुनै भत्ता, पारिश्रमिक वा अन्य आर्थिक लाभको आशा विना स्वेच्छाले गरिने भएकोले यो विशेष कार्यको आनन्द आफ्नै प्रकारको हुन्छ।

आफ्नै जिल्लाको सेरोफेरोमा पर्यवेक्षण गर्दा ‘निर्वाचन पर्यवेक्षक’ अंकित ज्याकेट र टोपीको साथमा निर्वाचन आयोगद्वारा उपलब्ध गराइएको परिचय पत्र र मिलेसम्म सवारी साधन उपलब्ध हुने गर्दथ्यो।

तर काठमाडौं बाहिरका जिल्लामा जाँदा भने हवाई वा बसको टिकट, होटेल र खाना खर्च समेत उपलब्ध हुने गर्दथ्यो। पछि पछि भने सीमित बजेट प्रवाहका कारण अधिकांश पर्यवेक्षकहरूले आफ्नै खर्चमा पर्यवेक्षण गर्ने गरेका छन्।

विशेष परिस्थितिमा भएको यसपालीको मध्यावधि आमनिर्वाचन २०८२ को तयारी गर्न निर्वाचन आयोगले निकै व्यस्तता र निपुणताका साथ काम गर्नु परेको थियो।

मतदाता नामावली अद्यावधिक गर्ने काम, दश लाख नवयुवाहरूको नाम मतदाता सूचीमा समावेश गर्ने काम, अन्य मतदाताको तथ्यांक अद्यावधिक गर्ने काम, मुलुकभरका मतदान केन्द्रहरूको पहिचान, मतदाता संख्या र आवश्यक मतदान कर्मचारीको व्यवस्था, मतपेटिका र मत पत्रको व्यवस्थापनदेखि मतदान कर्मचारी र मतदाता शिक्षा, राजनीतिक दल तथा उम्मेदवारीको दर्ता, निर्वाचन आचार संहिता तथा अन्य धेरै काममा निर्वाचन आयोग व्यस्त रहनु पर्‍यो।

मतदानको समयमा र मतदान पश्चात् मतपेटिका सुरक्षित तवरले सम्बन्धित मत गणना केन्द्रमा पु¥याउने, बाँकी रहेको मतपत्रलाई राम्ररी गनेर लगत राख्ने र मतगणना शुरु गर्ने तथा विजयी घोषणा गर्ने कार्य त्यति सजिलो हुँदैन।

निर्वाचन आयोगका यी र यस्तै निकै व्यस्ततापूर्ण कार्यको बीचमा हाम्रो पर्यवेक्षक परिचय पत्र निर्वाचनको अघिल्लो दिनमा मात्र हात प¥यो। तर पनि निर्वाचन अघिका पर्यवेक्षण सम्बन्धी कामहरू व्यक्तिगत तवरमा नै सम्पन्न गरियो।

निर्वाचन प्रचार, मौन अवधिको पर्यवेक्षण, मदिराजन्य पेय पदार्थको विक्रीमा निर्वाचनभन्दा केही दिन अघिदेखि लागेको बन्देजको प्रभावकारिता बारेका निरीक्षण तथा कतिपय मतदान केन्द्रहरूको अनौपचारिक भ्रमण पनि गर्न भ्याइयो।

निर्वाचन भन्दा एक हप्ता पहिले राष्ट्रिय निर्वाचन पर्यवेक्षण आयोग (नियोक) ले हामी पर्यवेक्षकहरूलाई भेला गरेर आधा दिनको जानकारीमूलक कार्यक्रमको पनि आयोजना गरेको थियो।

नियोकका वर्तमान अध्यक्ष तथा मित्र डा. गोपालकृष्ण शिवाकोटीले नियोकले मुलुकका विभिन्न ठाउँमा गएर पर्यवेक्षण सम्बन्धी तालीम प्रदान गरेको र केही अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि नेपालको मध्यावधि निर्वाचनको पर्यवेक्षण गर्ने कुरा बारे जानकारी दिनुका साथै निर्वाचनको दौरान पर्यवेक्षकले गर्न हुने र नहुने कुरा बारे बताएका थिए।

त्यस्तै निर्वाचन पर्यवेक्षणमा शुरुदेखि नै लाग्नु भएका तथा नियोकका पूर्व अध्यक्ष र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तको रूपमा सफलतापूर्वक काम गरिसक्नु भएका सूर्यप्रसाद श्रेष्ठले निर्वाचन पर्यवेक्षकले निष्पक्ष तवरले पर्यवेक्षण गर्नु पर्ने कुरा बताउनु भएको थियो। उहाँ आफू पनि यो वयोवृद्ध उमेरमा पर्यवेषण कार्यमा संलग्न हुनु हुन्थ्यो।

नेपालमा निर्वाचन पर्यवेक्षणका धेरै संस्था भएका र यो एक फेसन नै बनेको भए पनि नियोक सबैभन्दा ठूलो र लोकप्रिय संस्था हो। झण्डै ३५ वर्षभन्दा बढी समयको राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव छ नियोकसँग। त्यसैले पनि यो संस्थाको आजिवन सदस्य हुन पाएकोमा र यसै संस्थामार्फत पर्यवेक्षण गर्न र धेरै कुरा सिक्न पाएकोमा निकै गौरवान्वित महसुस हुन्छ।

प्रजातान्त्रिक मुलुकहरूमा आमनिर्वाचनको र निर्वाचन पर्यवेक्षणको ठूलो महत्व हुने गर्दछ। मुलुकमा हुने विभिन्न तहका निर्वाचनहरूको सहजता र निष्पक्षताको सुरक्षण गर्न निर्वाचन पर्यवेक्षण सम्बन्धी निकाय र पर्यवेक्षकहरूको ठूलो भूमिका रहन्छ।

निर्वाचन पर्यवेक्षण गर्ने निकाय र पर्यवेक्षकहरूले निष्पक्ष र स्वतन्त्रतापूर्वक आफ्नो काम गर्नु जरुरी हुन्छ। निर्वाचन पर्यवेक्षणको काम निर्वाचनको दिनमा मात्र हुने जस्तो आम बुझाई भए पनि वास्तवमा यो प्रकृया निर्वाचनभन्दा निकै समय अघिदेखि शुरु हुन्छ र निर्वाचन सम्पन्न भएको धेरै दिनसम्म चलि पनि रहन्छ।

निर्वाचन पर्यवेक्षण गर्ने संस्थाले आफ्नो क्षेत्रको मात्र नभई अन्य मुलुकमा हुने गरेका निर्वाचनको तथा पर्यवेक्षण प्रकृयाको पनि ताजा जानकारी राखिरहनु पर्दछ। खासगरी द्वन्द्वग्रस्त, राजनीतिक अस्थिरता भएको, भ्रष्टाचार र अनियमितताको चपेटामा परेको र सुरक्षा व्यवस्था कमजोर भएका मुलुकका जनतालाई धाँधलीरहित निर्वाचनको प्रत्याभुति दिलाउन पर्यवेक्षण कार्यको ठूलो भूमिका रहन्छ।

त्यस्तै विगतका निर्वाचनहरूको पर्यवेक्षणको सिलसिलामा आर्जेका अनुभवहरूबाट निर्वाचन प्रकृयालाई सरल, पारदर्शी र सबै वर्ग तथा समूहको पहुँचभित्र पुर्‍याउन गर्नु पर्ने बन्दोवस्तीको बारेमा पनि धेरै कुरा थाहा हुन्छ।

निर्वाचनको दौरान हुने झडप, हिंसा, दादागिरी, धाँधलीपूर्ण कार्य तथा अन्य अनियमितताहरू मुख्यतया कम विकसित मुलुकहरूमा बढी हुने गर्दछन्। मुलुकको राजनीतिक स्थिति निकै नाजुक अवस्थामा भएको बेला थुप्रै अन्तर्राष्ट्रिय निकायहरूद्वारा निर्वाचन स्वच्छ तवरले होस् भन्ने हेतुका साथ पर्यवेक्षण गरिन्छ।

माओवादी जनयुद्ध पश्चात् नेपालमा भएका सम्बिधान सभाका दुई निर्वाचनमा धेरै मुलुक र अन्तर्राष्ट्रिय निकायहरूले निर्वाचन पर्यवेक्षण गरेका थिए। अन्य मुलुकमा भएका कतिपय निर्वाचनको पर्यवेक्षण गर्न नेपालका मानव अधिकारकर्मी तथा पर्यवेक्षकहरू पनि ती मुलुकमा पर्यवेक्षकको रूपमा जाने गर्दछन्।

नेपालका दुवै संबिधान सभाका निर्वाचनमा मलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूसँग मिलेर काठमाडौं बाहिर पर्यवेक्षण गर्ने मौका मिलेको थियो। प्रथम संबिधान सभामा फिलिपिन्सका पर्यवेक्षकलाई लिएर हाम्रो समूह चितवन र मकवानपुर जिल्लामा खटिएको थियो।

पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल तथा अमिक शेरचन आदिका चितवनका मतदान क्षेत्रमा पर्यवेक्षण गर्दा र त्यतिबेलाका अनकन्टार जंगल इलाकामा पुग्दाका क्षणहरू निकै रोमाञ्चक थिए।

जनतामा निर्वाचनको उमंग ज्यादै उच्चतम विन्दुमा थियो भने निर्वाचन अघिका छिटफुट झडप वाहेक निर्वाचन हार्दिकताका साथ नै सम्पन्न भएको थियो। चितवनबाट शुरु भएको पर्यवेक्षणको काम निर्वाचनको दिन हेटौंडामा गएर टुंगिएको थियो।

दोस्रो संबिधान सभाको निर्वाचन ताका मेरो अगुवाइमा फिनल्याण्ड र अन्य युरोपेली मुलुकका करिव आधा दर्जन पर्यवेक्षकहरू रुपन्देही र नवलपरासी क्षेत्रमा खटिएका थिए। हवाईजहाजमा भैरहवा पुगेर हामी भैरहवा र वुटवलको बीचतिर पर्ने एक होटेलमा बसेका थियौं। त्यहाँका स्थानीय पर्यवेक्षकहरूको साथमा विभिन्न निर्वाचन क्षेत्र र बुथमा हामी घुमेका थियौँ।

विदेशीहरू नेपालमा निकै अशान्ति छ भनेर डराइ रहेकामा निर्वाचन पर्यवेक्षणको समयमा छाएको शान्तिपूर्ण वातावरण र राजनीतिक दलका नेता र मतदाता सबैले हँसिलो मुहारमा उनिहरूको स्वागत गरेको देख्दा निकै खुशी भएका थिए।

त्यतिबेला हालको नवलपुर र चितवनको सीमा क्षेत्रमा झगडाका केही साधारण घटना पनि घटेका थिए र हामीले सो बारे बुझ्ने मौका पनि पाएका थियौँ। गरिव मुलुक भए पनि नेपालमा मतदान केन्द्रहरू व्यवस्थित हुने गरेको तथ्यबाट उनीहरू प्रभावित भएको देखियो।

साँझमा खाना खाँदा पनि यी कुरा बारे सकारात्मक चर्चा गर्दथे। निर्वाचनको दिन पछिका एकाध दिन लुम्बिनी र अन्य रोचक क्षेत्रको भ्रमण पनि गराइ दिएका थियौं हामीले। अन्त्यमा मतगणनाको प्रकृयाको पनि पर्यवेक्षण गरेका थियांँ।

यस्ता महत्वपूर्ण निर्वाचनहरूमा पर्यवेक्षण गर्न अमेरिकाको कार्टर सेन्टरले पनि निकै चाखका साथ भाग लिने गरेको थियो। सो सेन्टरका संरक्षक तथा पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर आफैं पनि नेपालको निर्वाचनको पर्यवेक्षण गर्न आउने गरेका थिए।

त्यस्तै संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, अन्य युरोपियन मुलुक तथा नेपालका निकटतम छिमेकी भारत र चीनबाट पनि ठूलै संख्यामा पर्यवेक्षकहरू आउने गरेका थिए। जब मुलुकमा शान्तिपूर्ण वातावरण रहन्छ र नियमित निर्वाचन भइरहेको हुन्छ, त्यस्तो बेलाम विदेशी पर्यवेक्षकहरूको संलग्नता त्यति धेरै हुँदैन। विश्वभरका ठूला मेडिया हाउसका प्रतिनिधि भने सबैजसो निर्वाचनमा पर्यवेक्षण र रिपोर्टिङको निम्ति आउने गर्दछन्।

गत मध्यावधि निर्वाचन भन्दा केही वर्ष पहिलेको आमनिर्वाचनमा म सुनसरी र मोरङ जिल्लामा खटिएको थिएँ। त्यतिबेला नियोगमा आर्थिक अभावका कारण सम्पूर्ण खर्च म आफैंले व्यहोरेको थिएँ। नियोकका स्थानीय पर्यवेक्षकहरूको साथमा सुनसरी र मोरङका अधिकांश मतदान केन्द्रमा हामी पुगेका थियौं।

मोरङको पश्चिमी इलाकाको एक विकट गाउँमा भने मतदान केन्द्र सँगैको ढलमा कसैले सकेट बम पड्काएको रहेछ। हामी तत्कालै सो क्षेत्रमा पुगेर घटनाको विवरण जम्मा गर्‍यौं। तर केही समय पछि नै निर्वाचन सुचारु पनि भइहाल्यो।

मोरङको सो इलाका मुस्लिमहरूको वाहुल्य भएको ठाउँ रहेछ। तर त्यहाँका मुस्लिमहरूमा देखिएको महिला हक अधिकार प्रतिको लचकता र महिलाहरूको निकै ठूलो सहभागिताले मनमा ज्यादै सन्तोष गराएको थियो।

यस्ता चुनावी पर्यवेक्षणहरूको समयमा आफ्नो कार्य क्षेत्रका कुना कुनामा पुग्ने अवसर मिल्ने भएकोले ती क्षेत्रको आर्थिक उन्नती, समस्या, सामाजिक तथा धार्मिक सद्भाव र विभिन्न दलका कार्यकर्ताहरू बीचको मेलमिलाप र मतदान केन्द्रहरूमा विद्यमान सुरक्षा र व्यवस्थापन आदि बारे राम्रो जानकारी हुने गर्दछ।

खासगरी विद्यालय परिसरमा मतदान हुने भएकोले विभिन्न स्थानमा रहेका विद्यालयहरूको बारेमा पनि राम्रो जानकारी मिल्ने। मतदान पछि असल सरकार बन्ने आशामा युवा, महिला, वृद्धवृद्धा र अन्य सबै उमेर र वर्गका मतदाताहरू निकै जोशका साथ मतदान गर्न आएका हुन्छन्। तर नेपालमा आजसम्म मुलुकको हितमा दिलोज्यान दिएर काममा तल्लिन हुने नेताहरू विरलै देखिएका छन्।

यसपालीको निर्वाचनमा एकातर्फ अरव (खाडी) राष्ट्रमा चलिरहेको युद्ध र अन्य कारणले गर्दा पनि विदेशी पर्यवेक्षकहरूको संख्या निकै पातलो रह्यो। केही अमेरिकी, युरोपेली र छिमेकी राष्ट्रका पर्यवेक्षक र पत्रकार भने ठाउँ ठाउँमा देखिएका थिए।

बिहानीको मतदान प्रकृयाको शुरुवात हेर्न घरै नजिकको एक मतदान केन्द्रमा पुगेपछि त्यहाँको राम्रो व्यवस्थापन र मतदानको निम्ति बिहानैदेखि लाममा बसेका मतदाताहरूको उत्साह हेरि सकेर नियोगको नयाँ बानेश्वरस्थित सञ्चार केन्द्रमा पुगियो।

टेलिफोनका हटलाइन र इन्टरनेट सहितका कम्प्युटरमा विभिन्न स्थानका सूचना प्राप्त गर्न र प्रवाह गर्न तयारी अवस्थामा रहेका युवायुवतीहरूसँग केही बेरको भलाकुसारी पश्चात् नियोकका एक वरिष्ठ पदाधिकारीसहित म बानेश्वर, बत्तिसपुतली, चावहिल, वौद्ध, जोरपाटी, थली, इन्द्रायणी, शंखरापुर हुँदै साँखुसम्मका विभिन्न मतदान केन्द्रमा पुगेँ। जताततै निकै शान्तिप्रिय वातावरण।

मतदान केन्द्रको सुरक्षा व्यवस्था निकै मजबुत थियो। यसपाली करिव डेढ लाख अस्थायी निर्वाचन प्रहरी भर्ती गरेर मुलुकभरका स्थायी सुरक्षाकर्मीको साथमा खटाइएकोमा अधिकांश मतदान केन्द्रहरूका महिला सुरक्षाकर्मीहरू अस्थायी प्रहरी नै थिए।

नेपाल प्रहरीमा यथेष्ट संख्यामा महिला प्रहरी नभएकोले पनि यसो भएको होला। जम्मा ३०-४० दिनको सेवामा भर्ती भएका भए पनि अस्थायी निर्वाचन प्रहरीहरूको काम निकै सन्तोषजनक रहेको थियो। बेरोजगारीका कारण शिक्षित युवाहरू पनि यसरी अस्थायी प्रहरीमा भर्ती भएका होलान्।

यिनीहरूलाई कुनै तरिकाबाट हाललाई अस्थायी नोकरीमा नै कायम राखेर विभिन्न प्रशासनिक, प्राविधिक र सुरक्षा सम्बन्धी कार्यमा लगाइ रहन सके कति राम्रो हुने थियो होला। नयाँ सरकारको ध्यान यस्तो कुरामा पनि जाओस्।

निर्वाचन पर्यवेक्षणको सिलसिलामा विभिन्न मतदान केन्द्रहरूमा घुम्दा मतदातामा मतदान सम्बन्धी शिक्षा र जानकारीको ज्यादै कमी भएको महसुस भयो। त्यसैले पनि होला करिव पाँच प्रतिशत मत बदर हुने गर्दछ हाम्रो निर्वाचन प्रकृयामा। यसपाली त झनै बढी मत बदर भएको छ।

निर्वाचनको समयमा मात्र नभइ अन्य समयमा पनि मतदाताहरूलाई विभिन्न माध्यमबाट निर्वाचन सम्बन्धी शिक्षा र जानकारी प्रदान गरिरहनु पर्ने देखिन्छ। आजको डिजिटल युगमा सामाजिक सञ्जाल र इन्टरनेटबाट पनि यस्तो शिक्षा दिन सकिन्छ।

साँखुबाट फर्केर बुढानिलकण्ठसम्मका विभिन्न मतदान केन्द्रमा निर्वाचन पर्यवेक्षण गरेर हामी पुनः काठमाडौँको मुख्य शहरी क्षेत्रमा पस्यौँ। दिउँसोको समयमा पनि मतदान केन्द्रहरूमा मतदाताहरूको राम्रै भीड थियो। समग्रमा करिव ६० प्रतिशतले यसपालीको मध्यावधि निर्वाचनमा मतदान गरेको देखियो।

बेलुकी ५ बजे मतदान कार्यको अन्तिम समयमा एउटा मतदान केन्द्रमा बसेर मतपेटिका बन्द गर्ने, बाँकी रहेका मतपत्र गनेर पोको पार्ने र सबै दलका प्रतिनिधि र निर्वाचन आयोगका अधिकृतको रोहवरमा जनपद र सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा मत पेटिकाहरू मत गणना केन्द्रमा लगेको दृश्य हेरियो। यी सबै प्रकृयाहरू शान्तिपूर्ण तवरले सम्पन्न भएका थिए।

आजको बदलिँदो परिवेश र विज्ञान तथा प्रविधिले ठूलो फड्को मारेको बेलामा पनि नेपाल लगायत धेरै मुलुकहरूमा डिजिटल यानी इलेक्ट्रोनिक भोटिङ प्रणालीलाई नअँगालेको देख्दा अचम्म लाग्दछ।

यो प्रणाली अन्तर्गत निर्वाचन गर्दा मुलुकले मतपत्र, मतपेटिका लगायत धेरै कुरामा हुने ठूलो खर्च जोगाउन सक्ने थियो भने मत परिणाम पनि चुट्की भरमा आउने थियो। यसपालीको निर्वाचनमा राज्यले ५ अर्ब ३७ करोड रुपैयाँ प्रत्यक्ष रूपमा खर्चेको छ।

डिजिटल भोटिङ बारेको अध्ययन, परिकल्पना र तयारी यो भन्दा पहिलेका निर्वाचनका समयमा पनि गरिसकिएको हो र परिक्षण समेत गरिएको थियो। तर यसको प्रयोग किन नगरिएको हो र प्रयोग गर्ने ज्यादै सजिला तरिका मतादाताहरूलाई किन नसिकाइएको हो भन्ने कुरा निकै गौढ छ।

निकै कम शिक्षित वा साक्षर मात्र रहेका मानिसले पनि आजको विश्वमा मोवाइल फोन र सामाजिक सञ्जाल प्रयोग गर्न सक्छन् भने थोरै तालीम र प्रचार–प्रसार गर्‍यो भने किन नसक्नु र। तर बुझ्दै जाँदा सो प्रणालीमा धाँधली गर्ने सम्भावना बढी हुन्छ भन्ने मिथ्या प्रचार बढी भएको पाइन्छ।

भारत धेरै कुरामा निकै विकास गरिसकेको मुलुक भएपनि त्यहाँ पनि इलेक्ट्रोनिक भोटिङ प्रणली त्यति प्रचलनमा भएको देखिँदैन। तर अन्त धेरै ठाउँमा प्रयोग भएको छैन भन्दैमा हामीले यो प्रविधिलाई अपनाएर एक कदम अरु भन्दा अगाडि जान किन नहुने र?

कमसेकम आउँदो स्थानीय निर्वाचनमा सम्भव भएसम्मका पालिकाहरूमा यसको प्रयोग शुरु भए हुने थियो र अहिलेदेखि नै परिक्षण प्रयोग शुरु गरिहाल्नु उत्तम हुनेछ। एक पटक उच्च लगानी गरेर यो बारेका प्राविधिक सामग्री खरिद र बन्दोवस्ती गरेपछि यो प्रणालीले निर्वाचनको निकै धेरै खर्च कम गर्न मद्दत पुर्‍याउने थियो।

यसपालीको चुनावी नतिजा ज्यादै चाख लाग्दो भएको र युवाहरूको जीत भएको देखिए पनि सबैभन्दा राम्रो कुरा भने यसपालीको प्रतिनिधि सभामा अत्यधिक संख्यामा महिला प्रतिनिधिहरू पुग्नु नेपालको लागि मात्र नभई दक्षिण एशिया र सम्यूर्ण कम विकसित मुलुकहरूको लागि पनि गर्व र प्रेरणाको क्षण हो। यो कुरामा नेपालले धेरै मुलुकहरूलाई उछिनेर उदाहरणीय र अग्रणी राष्ट्र बन्न पुगेको छ।

यसरी सन् १९९४ को मध्यावधि निर्वाचनदेखि २०२६ को अर्को मध्यावधि निर्वाचनसम्म आउँदा झण्डै ३२ वर्षको निर्वाचन पर्यवेक्षणको अनुभव बटुल्न भ्याइएछ। ज्यान र परिस्थितिले साथ दिएमा यस पछिका निर्वाचनहरूमा समेत पर्यवेक्षकको रूपमा काम गर्ने जोश र जाँगर अझै छँदैछ।

लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *