‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ मा शिक्षा विधातर्फको अवार्ड उमेश श्रेष्ठलाई

डिसी नेपाल
७ चैत २०८२ १७:३७
16
Shares

इटहरी । नयन मिडिया फाउण्डेसनले प्रदान गर्ने कोशी एक्सिलेन्स अवार्ड अन्तर्गत शिक्षातर्फ यसबर्षको अवार्ड शिक्षाविद् तथा समाजसेवी उमेश श्रेष्ठलाई प्रदान गरिएको छ ।

सुनसरीको इटहरीमा रहेको होटल सोल्टी वेस्टेन्डमा आयोजित कोशी एक्सिलेन्स अवार्ड २०२६ वितरण समारोहमा कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रेष्ठलाई अवार्ड प्रदान गरेका हुन् ।

‘न चोरले चोर्न सक्छ, न भाइले हर्न सक्छ, जति खर्च गर्यो उति बढ्ने-विद्या नै सर्वश्रेष्ठ धन हो’ भन्ने आदर्श वाक्यबाट प्रेरित हुँदै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने र देशका लागि योग्य नागरिक निर्माण गर्ने उद्देश्यका साथ लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित श्रेष्ठ नेपाली शिक्षा क्षेत्रमा बहुआयामिक योगदानकर्ताका रूपमा परिचित छन्।

वि.सं. २०१२ सालमा भोजपुर जिल्लामा पिता बद्रीप्रसाद श्रेष्ठ र माता लिलादेवी श्रेष्ठको कोखबाट जन्मिएका उनले प्रारम्भिक शिक्षा गाउँमै प्राप्त गरेका थिए भने उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयबाट हासिल गरेका हुन्।

तीन दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहँदै आएका श्रेष्ठले हजारौं विद्यार्थीको भविष्य निर्माणमा प्रत्यक्ष योगदान दिएका छन्। उनका लागि शिक्षा केवल पेशा मात्र नभई सेवा, जिम्मेवारी र राष्ट्र निर्माणको आधारका रूपमा स्थापित भएको छ।

लिटल एन्जल्स स्कुलका अध्यक्ष तथा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का संस्थापक केन्द्रीय अध्यक्षका रूपमा उनले नेपाली शिक्षा प्रणालीलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षाको प्रवद्र्धनमा उनको योगदान उच्च सम्मान योग्य रहेको छ ।विद्यालयलाई केवल पढाइको केन्द्र मात्र नभई समाज रूपान्तरणको माध्यम बनाउने उनको दृष्टिकोणले शिक्षा क्षेत्रमा नयाँ जागरण सिर्जना गरेको छ।

हायर इन्स्टिच्युसन एण्ड सेकेन्डरी स्कूल्स एसोसिएसन नेपाल (हिसान) का प्रमुख सल्लाहकार, नेपाल एजुकेशन फाउन्डेसनका अध्यक्ष, चितवनको स्मल हेभेन स्कूलका संस्थापक अध्यक्ष तथा लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्ट लगायत विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध रहँदै श्रेष्ठले शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्।

शिक्षा प्रणाली र पेडागोजी अध्ययनका लागि उनले विश्वका तीन दर्जनभन्दा बढी देशहरूको भ्रमण गरी त्यहाँका उत्कृष्ट अभ्यासहरू नेपालमा लागू गर्ने प्रयास गरेका छन्।

शिक्षासँगै कृषि, पर्यटन, जलविद्युत, स्वास्थ्य र होटल व्यवसायमा पनि सक्रिय रहेका श्रेष्ठले राजनीतिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

नेपालको संविधान निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै उनले नीति निर्माण तथा लोकतान्त्रिक अभ्यासमा योगदान दिएका छन्।
स्वास्थ्य राज्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै स्वास्थ्य क्षेत्रका नीतिगत सुधारमा समेत उनले भूमिका निर्वाह गरिसकेका छन्।

शिक्षा, राजनीति र सामाजिक सेवामा समान निष्ठाका साथ निरन्तर सक्रिय रहँदै आएका श्रेष्ठले नयाँ पुस्तालाई संस्थागत सुधार, पारदर्शिता र उत्तरदायी नेतृत्वमार्फत समृद्ध राष्ट्र निर्माणको सन्देश दिँदै आएका छन्।

शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान, संस्थागत नेतृत्व र सामाजिक चेतनाको विस्तारमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उमेश श्रेष्ठलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत शिक्षा विधातर्फको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

कोशी प्रदेशमा जन्मिएर विभिन्न विद्यामा महत्वपूर्ण योगदान पुर्याउदै आएका सम्मन गर्न लायक व्यक्तित्वहरुलाई नयन मिडिया फाउण्डेसनले कोशी एक्सिलेन्स अवार्ड प्रदान गर्दै आएको छ ।

अघिल्लो संस्करणमा १३ विद्यामा अवार्ड वितरण गरिएकोमा यसबर्ष तीन वटा विद्या थप गरेर १६ विद्यामा अवार्ड वितरण भईरहेको फाउण्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । अवार्ड वितरण समारोह सुनसरीको इटहरीमा आज शनिवार जारी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *