इरानले हिन्द महासागरमा डिएगो गार्सियामा मिसाइल हान्यो, दक्षिण एसियालाई कति खतरा ?

डिसी नेपाल
८ चैत २०८२ १०:३४
160
Shares

काठमाडौं । इरानले हिन्द महासागरको डिएगो गार्सियामा अवस्थित ब्रिटिस सार्वभौम सैन्य आधार शिविरतर्फ दुईवटा मिसाइल प्रहार गरेको छ। यद्यपि, ती दुवै मिसाइल सैन्य अखडासम्म पुग्न भने सकेनन्।

गत शुक्रबार बेलायतले स्ट्रेट अफ हर्मुजमा हुने इरानी हमलाहरू रोक्न आफ्नो सैन्य अखडा प्रयोग गर्न सकिने बताएको थियो। यसको जवाफमा इरानले अमेरिकाद्वारा उक्त सैन्य अखडा प्रयोग गरिनुलाई ‘तनाव बढाउने’ कार्यका रूपमा लिइने चेतावनी बेलायतलाई दिएको थियो।

शनिबार इरानले गरेको यो ‘असफल’ मिसाइल हमलासँगै कैयौँ प्रश्नहरू उब्जिएका छन्। सबैभन्दा ठूलो प्रश्न– के इरान र मध्य-पूर्वको युद्ध अब भारतसहित दक्षिण एसियाको क्षेत्र अर्थात् हिन्द महासागरसम्म आइपुगेको हो ? अनि दक्षिण एसियाका लागि यसको अर्थ के हुन्छ ?

दोस्रो प्रश्न– के अनिच्छाका बाबजुद बेलायत पनि यस युद्धमा सामेल भएको हो ? र, के यसले युद्धको दायरा अझ फैलाउनेछ ?

यी घटनाक्रमलाई नजिकबाट नियालिरहेका विशेषज्ञहरूले बीबीसी हिन्दीसँग कुरा गर्दै यसले भारतका लागि धेरै चिन्ताहरू पैदा गरेको बताएका छन्। साथै, डिएगो गार्सियामा भएको हमलाले यो युद्ध अझ तीव्र हुने आशंका बढेको छ।

डिएगो गार्सियातर्फ मिसाइल प्रहार गरिएको खबर सबैभन्दा पहिले ‘वाल स्ट्रिट जर्नल’ ले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै छापेको थियो। पछि बीबीसीले विभिन्न स्रोतहरूबाट यसको पुष्टि गरेको छ।

बेलायतको रक्षा मन्त्रालयले यसबारे स्पष्ट पुष्टि वा खण्डन नगरे पनि इरानका यस्ता ‘लापरवाह हमला’ ब्रिटिस हित र सहयोगीहरूका लागि खतरा भएको बताएको छ।

इरानबाट डिएगो गार्सिया करिब ३,८०० माइल टाढा छ। अहिलेसम्म इरानसँग २,००० किलोमिटर सम्मको मारक क्षमता भएका मध्यम दूरीका ब्यालिस्टिक मिसाइल मात्रै भएको मानिन्थ्यो। तर, केही सैन्य विश्लेषकहरूका अनुसार इरानको ‘खोर्रमशहर’ मिसाइलको रेन्ज ३,००० किलोमिटर वा सोभन्दा बढी हुन सक्छ।

जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर प्रेमानन्द मिश्रा भन्छन् “डिएगो गार्सियालाई अत्यन्त सुरक्षित इलाका मानिन्छ। यदि त्यहाँ इरानले हमला गरेको छ भने, लक्ष्य नभेदे पनि त्यो ‘अपरेसन’ सफल मानिन्छ र भविष्यका लागि ठूलो खतरा हो। यसले भारतको हिन्द-प्रशान्त रणनीति र सामुद्रिक सुरक्षामा प्रश्न उठाएको छ।”

उनका अनुसार डिएगो गार्सिया भारत-अमेरिका सम्बन्धका लागि पनि महत्त्वपूर्ण छ। यस्तो खतरा बढ्दा चीनको विस्तारवाद रोक्न भारतको निर्भरता अमेरिकामाथि अझ बढ्न सक्छ।

त्यस्तै, ‘मिडल इस्ट इनसाइट्स’ प्लेटफर्मकी संस्थापक डा. शुभदा चौधरीका अनुसार यो घटनाले भारतको सैन्य क्षमताको सीमा पनि उजागर गरेको छ। उनी भन्छिन् ‘डिएगो गार्सिया भारतको दक्षिणी भेगबाट ४,००० किमी टाढा छ, जुन भारतीय लडाकु विमानहरूको पहुँचभन्दा बाहिर छ।’

भारतका ‘अग्नि’ सिरिजका मिसाइलहरू परमाणु प्रतिरोधका लागि हुन्, यस्ता सैन्य अखडामा सटिक परम्परागत हमलाका लागि होइनन्।

अमेरिकी र ब्रिटिस नौसैनिक शक्ति (पनडुब्बी र एअर डिफेन्स) का अगाडि कुनै पनि नौसैनिक टास्क फोर्सका लागि त्यहाँ पुग्नु चुनौतीपूर्ण छ।

यसअघि बेलायत र युरोप इरानसँगको सिधा युद्धबाट जोगिन खोजिरहेका थिए। तर प्रोफेसर मिश्रा भन्छन्, “डिएगो गार्सियामाथिको हमलाले बेलायतको हिचकिचाहट समाप्त गरिदिनेछ। अब उसले अमेरिकाको ओत लाग्नै पर्नेछ।”

डा. शुभदा चौधरीका अनुसार अमेरिका र बेलायतको ‘विशेष सम्बन्ध’ यति गहिरो छ कि अमेरिकाको सैन्य अभियानमा बेलायत तटस्थ बस्नु असम्भव प्रायः छ। डिएगो गार्सिया ब्रिटिस क्षेत्र भए पनि अमेरिकालाई भाडामा दिइएकाले त्यहाँबाट हुने कुनै पनि अमेरिकी अभियानमा बेलायत स्वतः सहभागी बन्न पुग्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *