सच्चिएन कांग्रेस, सक्किएन कलह
काठमाडाैं। बिपी कोइराला भन्थे, ‘एउटै विचार बोकेको पार्टीभित्रै फुट हुनु हुँदैन। त्यसरी फुट हुनु भनेको वैचारिक स्पष्टताको अभाव हो। विचारमा बहस हुन सक्छ तर त्यसले विभाजन होइन, परिमार्जन ल्याउनुपर्छ।’ नेपाली कांग्रेसमा हाल न बिपीले भने जस्तो वैचारिक स्पष्टता देखिएको छ न परिमार्जनको हुटहुटी।
कांग्रेस केवल आन्तरिक कलहमा रुमलिएको छ। कांग्रेसले पुस २७ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेको थियो। सोही महाधिवेशनबाट माघ १ मा गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भए।
यद्यपि, विशेष महाधिवेशनलाई पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले बहिष्कार गरेको थियो। विशेष महाधिवेन पक्षधर ६० प्रतिशत मत आफ्नो पक्षमा रहेको दाबीसहित निर्वाचन आयोगमा पुगेको थियो।
यसरी कांग्रेसमा दुई चिरा देखिँदा निर्वाचन आयोगले पनि विशेष महाधिवेशनधरलाई आधिकारिक कांग्रेसको मान्यता दिएको थियो। देउवा पक्षका नेताले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको भन्दै विरोध गरिरहेका छन्।
सर्वोच्च अदालतमा देउवा पक्षले असन्तुष्टि जनाउँदै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर रिट दायर गर्यो। यतिबेला कांग्रेस आधिकारिकताको विवाद सर्वोच्चमा विचाराधीन छ। माघ १ मा गगन सभापतिमा निर्वाचित भइसकेपछि ६ माघमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने समय थियो।
देउवा समूहका नेतना चुनावमा कसरी सहभागी हुने भन्नेमा रनभुल्लमा परे। उनीहरूले गगनलाई सभापति नस्वीकारे पनि उनको हस्ताक्षर भएको टिटक लगेर चुनावमा सहभागी भए। त्यसरी टिकट लिनेमा देउवा समूहकै प्रभावशाली नेताहरू शेखर कोइराला‚ विमलेन्द्र निधि, एनपी साउद‚ महेन्द्र यादवलगायत छन्।
उता शेरबहादुर देउवा‚ पूर्णबहादुर खड्कालगायत केही नेता आफैँ रिट निवेदक भएकाले गगनको हस्ताक्षर स्वीकार्न तयार भएनन्। र, उनीहरू निर्वाचनमा सहभागी पनि भएनन्।
माघ ६ बाट २१ फागुनसम्म निर्वाचन कार्यक्रम भएकाले पार्टी विवाद सतहमा देखिएको थिएन। तर‚ देउवा, खड्कालगायत नेताहरू चुनावमा पार्टीका उम्मेदवार जिताउने अभियानमा कतै सहभागी भएनन्। मौन विद्रोह गरिरहे। गगन नेतृत्वमा चुनावमा होमिएको कांग्रेसले निराशाजनक नतिजा हात पार्यो।
कांग्रेस ३८ सिटमा खुम्चिएयो। कांग्रेसको पराजयले विशेष महाधिवेशनबाट बिदाइ भएको देउवा-कोइराला समूह पुन: जुर्मुराएको छ। उनीहरू कांग्रेसभित्र गगनले गरेको विद्रोहको औचित्य समाप्त भएको र आफूलाई प्रमाणित गर्न नसकेको आरोप लगाइसेका छन्।
गगन पनि चुनावमा फेरिएको कांग्रेस नाराका साथ प्रतिस्पर्धामा थिए। तर, उनले भने जस्तो कांग्रेसलाई फेर्न सकेनन्। सर्लाही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अमरेशकुमार सिंहसँग गगन १२ हजार ८५७ मतको फराकिलो अन्तरले पराजित भए।
त्यसपछि पार्टी पराजयको नैतिकताको जिम्मा लिँदै उनले पदबाट राजीनामा नै गर्नुपर्यो। तर, पार्टी अप्ठ्यारोमा रहेको निष्कर्षसहित चैत ७ को कांग्रेस केन्द्रीय समिति बैठकले उनको राजीनामा अस्वीकृत गरिदिएको छ।
‘सभापति गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ कांग्रेस प्रवक्ता देवराज चालिसे भन्छन्।
कांग्रेसले गगनको राजीनामा अस्वीकार गर्नुका आधारसमेत सार्वजनिक गरेको छ। निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थिति रहेको, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले निष्कर्ष निकालिएको छ।
त्यस्तै राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको, सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्धान्तमा आधारित रहेको, विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेको, पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोलगायत विषय कांग्रेसले औंल्याएको छ।
चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु, गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु, विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तन समेत) का कारण जनआक्रोश बढ्नु, जेनजी युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु, डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरूलाई प्रतिकृयात्मक लाभ पुग्नु पनि कांग्रेस हार्नुको कारण रहेको निष्कर्ष निकालिएको छ। पार्टी नवनिर्माण र सुदृढीकरणको लक्ष्य आफूहरूको रहेको गगन नेतृत्वको दाबी छ।
तर, देउवा-कोइराला समूहले छुट्टै गतिविधि अगाडि बढाएका छन्। चैत ७ मा नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा धुमबाराहिमा पार्टी कार्यसम्पादन समितिको बैठक बसेको थियो। उक्त बैठकले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ।
देउवा-कोइराला समूहको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई भने बोलाइने छैन। यसअघि पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले थापा र शर्मालाई कारबाही गरेकोले उनीहरूलाई बैठकमा बोलाउनु आवस्यक नरहेको जनाएको छ।
कार्यसम्पादन समिति बैठकमा नेताहरू खड्का, शेखर कोइराल, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए। बैठकबारे मिति भने तय भइसकेको छैन। यसरी कांग्रेसभित्रको आन्तरिक कलह पुन: छता छुल्ल हुन थालेको छ।
नेपाली राजनीतिमा लामो इतिहास बोकेको कांग्रेस जेनजी आन्दोलनपछिको फरिक परिदृश्यमा पनि मिल्नुपर्ने, एकजुट र एकतावद्ध हुनुपर्नेमा फेरि आफ्नै अन्तरद्वन्द्वको भूमरीमा अल्झिएको देखिन्छ।
लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको, जनआन्दोलनको अगुवाइ गरेको र बहुदलीय व्यवस्थाको स्थापनामा निर्णायक भूमिका खेलेको कांग्रेस आन्तरिक कलहका कारण कमजोर बन्दै गएको छ। समय फेरिएको छ, जनताको अपेक्षा बदलिएको छ तर कांग्रेसभित्रको प्रवृत्ति भने खासै सच्चिएको देखिँदैन। कांग्रेसको मूल समस्या नेतृत्वको द्वन्द्व र गुटगत राजनीति हो।
पार्टीभित्र विचारभन्दा व्यक्ति हाबी भएको अवस्था छ। एउटा गुट अर्को गुटलाई कमजोर पार्न व्यस्त छ भने पार्टीको समग्र हित ओझेलमा परेको छ। विशेष महाधिवेशनपछि पनि एकता कायम हुन नसक्नु, निर्णय प्रक्रियामा सहमति नहुनु, र सार्वजनिक रूपमा आरोप–प्रत्यारोप चलिरहनु यसैको परिणाम हुन्। यस्तो अवस्थामा कार्यकर्ता अन्योलमा पर्छन् र जनतामा पार्टीप्रति विश्वास थप घट्दै जान्छ।
पार्टीभित्रको कलह केवल नेतृत्व तहमा सीमित छैन। यसको प्रभाव तल्लो तहसम्म फैलिएको छ। वडा, नगर र जिल्ला तहसम्म गुटीय विभाजनले संगठनलाई कमजोर बनाएको छ। संगठन कमजोर हुँदा जनताको समस्या सम्बोधन गर्ने क्षमता पनि घट्छ।
परिणामतः कांग्रेस आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न असफल देखिन थाल्छ। र, जनताले पत्याउन छोड्छन्। त्यसको उदाहरण हामी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजालाई लिन सक्छौं। कांग्रेसले आफूलाई प्रजातान्त्रिक, समाजवादउन्मुख पार्टी भन्छ तर व्यवहारमा त्यसको स्पष्ट झल्को देखिँदैन।
आर्थिक नीति, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा पार्टी एकीकृत धारणा बनाउन असफल देखिन्छ। जब पार्टीभित्र नै स्पष्ट दिशा हुँदैन, तब जनतामा भ्रम सिर्जना हुन्छ। यस्तोमा कुहिरोमा हराएको काग जस्तै बन्न पुग्दो रहेछ राजनीतिक दल पनि।
यद्यपि, कांग्रेस पूर्णरूपमा सकिएको भने होइन। यसको ऐतिहासिक विरासत, देशव्यापी संगठन र जनतासँगको भावनात्मक सम्बन्ध अझै बलियो छ। तर, यसलाई जोगाउन र पुनर्जीवित गर्न आत्मसमिक्षा अनिवार्य छ। नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी हितलाई प्राथमिकता दिनुपर्छ।
गुटगत राजनीतिलाई अन्त्य गरी सहमति र सहकार्यको संस्कृति विकास गर्नुपर्छ। पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुदृढ गर्न, पारदर्शिता कायम गर्न र योग्यताका आधारमा नेतृत्व चयन गर्न सके मात्र कांग्रेसले आफ्नो विश्वसनीयता पुनः प्राप्त गर्न सक्छ।
साथै, जनताका वास्तविक समस्यामा केन्द्रित भई ठोस नीति र कार्यक्रम ल्याउन आवश्यक छ। भाषणभन्दा कामले विश्वास जित्ने समय आएको छ। अन्ततः ‘सच्चिएन कांग्रेस, सक्किएन कलह’ केवल एउटा शीर्षक मात्र होइन, आजको यथार्थ हो। यदि कांग्रेसले समयमै आफूलाई सच्याउन सकेन भने, यो कलहले पार्टीलाई अझ कमजोर बनाउँदै लैजानेछ।
तर, सही दिशा र दृढ इच्छाशक्तिका साथ सुधारको मार्ग समातियो भने फेरिएको बलियो कांग्रेस बन्न समय लाग्ने छैन। त्यसका लागि पूराना नेताहरूले आफ्नो ढिपी त्याग्ने र नयाँ नेताहरूले पूराना नेताहरूलाई साधमै लैजान सक्ने क्षमता राख्नुपर्छ। यसो हुँदा मात्रै बलियो कांग्रेस बन्न सक्ला। नत्र उहिहो, भीरको गोरुलाई रामराम भन्न सकिएला, काँधै थाप्न सकिँदैन।















Facebook Comment