नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
काठमाडौं। प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ। मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन्। कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन्। नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू।
यसै त वसन्त ऋतुमा सिंहदरबारका बगैँचामा फूलहरू ढकमक्क छन्। त्यसैमा अहिलेको सजावटले ‘सुनमा सुगन्ध’ थपिदिए जस्तै भएको छ। यसो हेर्दा लाग्छ, सिंहदरबारमा फुलेका फुलहरू पनि नयाँ सरकारको स्वागतार्थ लामबद्ध छन्।
निर्वाचनको अन्तिम परिणाम आइसकेको छ र सांसदहरूको शपथ चैत १२ गतेका लागि तोकिएको छ। त्यसलगत्तै सरकार गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहकार्यमै छ। त्यसैले केही दिनमै बन्ने सरकारको स्वागतका लागि सिंहदबारभित्र तयारी भइरहेको हो।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मुहार पनि यसै मेसोमा फेरिँदै छ, सिँगारिँदै छ। मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार जेनजी आन्दोलनका बेला टेलिफोनका जलेका टेलिफोनका तारहरू व्यवस्थित हुँदैछन्। उनले भने, ‘मन्त्रालय चिरिच्याट्ट बन्दै छ। नयाँ मन्त्रीको स्वागतमा तयार हुँदै छ।’
युवा खेलकुद मन्त्रालयमा पनि नयाँ मन्त्रीको स्वागतका तयार गरिँदै छ। यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि नयाँमन्त्रीसँगै नीतिगत कार्य सम्पादनको पर्खाइमा छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर रानामगरले कार्यकारी अर्थात मन्त्री नहुँदा नियमित सामान्य कामसमेत प्रभावित भइरहेको अवस्थामा नयाँ मन्त्रीको स्वागत गर्न मन्त्रालयका कर्मचारी उत्साहित रहेको बताए।
उनले विगतमा जस्तै भौतिक संरचनाको हिसाबले मन्त्रीकक्ष पूर्ण व्यवस्थित नै रहेको सुनाए। ‘मन्त्री हुँदा पब्लिक चहलपहल हुने गर्यो। अहिले सुनसान जस्तै छ,’ उनले भने, ‘मन्त्रीको प्रतीक्षामा कार्यालयदेखि कर्मचारी रहेका छौँ।’
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि जलेको अघिल्लो भाग पेन्टिङ गरेर चिरिच्याट्ट पारिएको छ। मन्त्रालयका एक कर्मचारीले भने, ‘अब नयाँ सरकार आएसँगै चहलपहल बढ्ला, अहिले त सुनसानै छ।’
मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले नयाँ मन्त्रीको आगमनसँगै मन्त्रालयमा सेवाग्राहीले चाप बढ्ने हुनाले आवश्यक सबै तयारी सकिएको बताए। जेनजी आन्दोलनका क्रममा मन्त्रालयको क्षतिग्रस्त भवनको पुनः निर्माण सम्पन्न भइसेको छ। नियमित प्रशासनिक कामबाहेक नीतिगत मन्त्रिस्तर निर्णयका लागि मन्त्रालय प्रतिक्षारत रहेको उनको भनाइ छ।
जेनजी आन्दोलनले पूर्ण रूपमा क्षति भएको मन्त्रालयमध्ये, बेला रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थियो। भवनको क्षति भएसँगै कार्यालय व्यवस्थित बनाउने सङ्घर्षमै रहेको छ।
मन्त्रालयको आधा कार्य कार्यालय अहिले सिंहदबारस्थित अस्थायी टहरामा सीमित छ। यद्यपि आगामी सरकार गठनले ल्याउने स्वास्थ्यमन्त्रीको स्वागत गर्न मन्त्रालय प्रशासन चुस्त छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार भवन जलेपछि स्वास्थ्य मन्त्रालयको आफ्नो स्थायी संरचना छैन।
उनका अनुसार हालका स्वास्थ्यमन्त्री डा सुधा गौतमले आइतबारदेखि अत्यावश्यक कामबाहेक मन्त्रालयमा नियमित उपस्थित नहुने गरी धन्यवाद दिएर गएकी छन्। आगामी बजेटको तयारीमा लागेको मन्त्रालयले बेलैमा नयाँ मन्त्रीको स्वागत गर्न पाए प्रभावकारी हुने आशा रहेको मन्त्रालयका प्रवक्ता बुढाथोकीको धारणा छ।
‘टहरामा मन्त्रालय चलाउनु परेको अवस्था छ,’ उनले भने, ‘हाम्रो यति मात्र आशा छ कि बजेटको तयारी गर्दै गर्दा स्वास्थ्यमन्त्री छिटो नियुक्ति भएको खण्डमा पछि पनि सजिलो हुन्थ्यो।’
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले नयाँ मन्त्रीको स्वागतका लागि खास तयारी आवश्यक नभएको बताए। उनले भवन संरचना पूर्ण तयार रहेकाले पनि तयारी आवश्यक नभएको बताए। नियमित प्राशासनिक काम सञ्चालन भइरहेको र नीतिगत कामहरू सम्पादन गर्न मन्त्रीको पर्खाइमा रहेको उनले सुनाए।















Facebook Comment