सडक सुरक्षाका लागि गरुडामा सवारी चेकजाँच र सचेतना अभियान तीव्र

डिसी नेपाल
९ चैत २०८२ १८:२४
12
Shares

रौतहट। रौतहटको गरुडा क्षेत्रमा सडक सुरक्षालाई मजबुत बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी साधन चेकजाँच अभियानलाई तीव्र पारिएको छ।

यातायात व्यवस्था कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय गरुडा र अस्थायी ट्राफिक पोस्ट गरुडाको संयुक्त पहलमा सोमबार बिहानैदेखि विशेष अपरेसन चलाइएको हो।

अभियानका क्रममा सडकमा गुड्ने सवारी साधनहरूलाई रोकी चालकहरूको अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लु–बुक) लगायतका आवश्यक कागजातहरूको सूक्ष्म जाँच गरिएको थियो। साथै, ट्राफिक नियमको महत्त्वबारे चालक र सह–चालकहरूलाई स्थलगत सचेतना समेत प्रदान गरिएको छ।

चेकजाँचका क्रममा कागजात साथमा नबोक्ने र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूलाई पहिलो पटकका लागि सम्झाइ–बुझाइ गरी छोडिएको प्रहरीले जनाएको छ। तर, आगामी दिनमा नियम उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी सम्बन्धित निकायले दिएको छ।

सडक सुरक्षा कायम गराउन यातायात अधिकृत कामेश्वर साह र अस्थायी ट्राफिक पोस्ट गरुडाका प्रहरी सहायक निरीक्षक (असई) उपेन्द्र कुमार यादव आफैं सडकमा खटिएका थिए। ‘हाम्रो मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण गर्नु र चालकहरूलाई जिम्मेवार बनाउनु हो,’ अनुगमनका क्रममा अधिकारीहरूले भने।

पछिल्लो समय गरुडा खण्डमा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै ट्राफिक नियम पालनामा कडाइ गर्न यो सक्रियता देखाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *