स्वदेशमै आम्दानी पनि, खुसी पनि

डिसी नेपाल
९ चैत २०८२ २३:०९
28
Shares

अत्तरिया (कैलाली)। कैलालीको गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरका सुरेन्द्र पुनले बङ्गुरपालन गरिरहेका छन्। पाँच वर्षअघि उहाँले यो व्यवसाय सुरु गरेका हुन्।

वैदेशिक रोजगारीमा जाने योजना छाडेर स्वदेशमै बङ्गुरपालन सुरु गरेका पुनले विदेश नगएकामा पछुताउनुपरेको छैन, बरु राम्रो आम्दानीसँगै खुसी मिलिरहेको छ। उनले हाल स्वदेशमै वार्षिक १५ लाखसम्म कारोबार गर्ने गरेको बताए।

“नेपालमा रोजगारीको अवसर नपाएपछि पाँच वर्षअघि विदेश जाने तयारी गरेको थिएँ, तर एकपटक देशमै केही गरेर हेरौँ न भन्ने सोच आयो, त्यसपछि करिब रु सात लाखको लागतमा व्यावसायिक बङ्गुरपालनमा लागेको हुँ”, पुनले भने, “हाल विदेश नगएकामा कुनै पछुतो छैन। सोचेअनुसार नै आम्दानी भइरहेको छ। ठूला बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक रु १५ लाख कारोबार गरिरहेको छु।”

उहाँले हाल देशमै काम गर्दा विदेश गएका साथीहरूका भन्दा पनि राम्रो कमाइ भइरहेको सुनाए। “विदेश गएका साथीहरूसँग पनि कुराकानी हुन्छ। हाम्रो सीप र क्षमताअनुसार त्यहाँ पनि राम्रो काम पाइने होइन”, पुनले सुनाए, “सुरुमा केही समस्या हुन्छ कि भनेर चिन्ता लागेको थियो, तर विस्तारै राम्रो हुँदै गयो। हाल बङ्गुरको दानालगायतको सबै खर्च कटाएर वार्षिक रु सात लाखसम्म बचत हुन्छ। परिवारसँगै बसेर आम्दानी पनि खुसी पनि मिलिरहेको छ, जुन कुरा विदेश गएको भए पाइन्थेन होला।”

उनका अनुसार वर्षमा तीन सय जति पाठापाठी बिक्री भइरहेका छन्। रु पाँच हजारका दरले पाठापाठी बिक्री हुने गरेका छन्। ठूला बङ्गुर मासुका लागि प्रतिकिलो रु तीन सय २० मा बिक्री हुने गरेका छन्। पुनले भने, “बजारको समस्या छैन। खोरबाटै ठूला बङ्गुर र पाठापाठी बिक्री हुन्छन्। पाठापाठीको माग धेरै छ। माग धान्न सकिरहेको छैन। हाल पाठापाठी बिक्री गरेर सकेको छु, अब खोरमा बच्चा पाउने आठवटा माउ बङ्गुर छन्।”

पुनले उन्नत जातका बङ्गुरपालन गर्दै आएका छन्। हाल उनको खोरमा डिउरो, हेमसार, ल्याण्ड्रेस र स्क्वायर जातका बङ्गुरपालन छन्। मेहनत गर्न सके आफ्नै देशमा राम्रै आम्दानी गर्न सकिने भन्दै पुन अन्य साथीलाई पनि काम गर्न उत्प्रेरित गरिरहेका छन्। उनले आफूकहाँ आउनेलाई धेरै युवाहरूलाई देशमै केही गर्न सकिन्छ भनेर सम्झाउने गरेको र कतिपयले व्यवसाय पनि सुरु गरिसकेको बताए।

“कुनै पनि काम सजिलो त हुँदैन, तर हात हाल्यो भने दत्तचित्त भएर काम गर्दा पछुताउनु पर्दैन, त्यसको उदाहरण म आफैँ हो। हामीजस्ता उद्यमीलाई सरकारले पनि पनि अनुदान दिए व्यवसाय विस्तार गरी रोजगारीसमेत सृजना गर्न सकिन्छ। यसमा स्थानीय तहले पनि ध्यान दिनुपर्छ”, पुन भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *