पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
विराटनगर। कोशी प्रदेशमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडीपी) ले उल्लेखनीय प्रगति हासिल गरेको छ। परियोजनालाई दिगो पर्यटन प्रवद्र्धनमार्फत प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको छ।
पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित परियोजनाको तेस्रो परियोजना निर्देशक समिति बैठक बुधबार सम्पन्न भएको हो। पर्यटन मन्त्री भीम पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेपालका लागि स्वीस राजदूत डा. डानियेल म्युवलीको विशेष उपस्थिति रहेको थियो।
नेपाल र स्विट्जरल्यान्ड सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालनमा आएको परियोजना हाल कोशी प्रदेशका ८ जिल्लाका २९ स्थानीय तहमा विस्तार गरिएको छ। हेल्भटास नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको परियोजना स्थानीय तहसँगको सहकार्यमा अघि बढिरहेको छ।
परियोजनाको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै दिगो पर्यटनमार्फत स्थानीयको आयआर्जन वृद्धि गर्नु रहेको छ। करिब २ अर्ब ४५ करोड रुपैयाँ लागतको यो परियोजना २०८५ साउनसम्म सञ्चालन हुनेछ।
परियोजना अन्तर्गत चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्दुम गरी चार प्रमुख पदमार्ग विकास भइरहेका छन्। करिब ४०० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएकोमा हालसम्म ४५५ किलोमिटर सर्वेक्षण सम्पन्न भइसकेको छ। गत वर्ष २० किलोमिटर निर्माण सम्पन्न भएकोमा यस वर्ष १३२ किलोमिटर निर्माण भइरहेको छ भने आगामी वर्ष २३४ किलोमिटर निर्माण गर्ने योजना अघि सारिएको छ।
परियोजनाले हालसम्म ३३ हजार दिन बराबरको रोजगारी सिर्जना गरिसकेको छ भने अन्त्यसम्म एक लाखभन्दा बढी स्थानीय लाभान्वित हुने लक्ष्य राखिएको छ। साथै, सीप विकास तालिममार्फत महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता बढाइएको जनाइएको छ।
भौतिक पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धन, बजारिकरण, ब्रान्डिङ तथा नीति सुधारमा पनि परियोजनाले काम गरिरहेको छ। मुन्दुम क्षेत्रमा स्थानीय खानाको अध्ययन, वास्तुकला अभिलेखीकरण तथा टेम्कैमैयुङ गाउँपालिकामा समुदायमा आधारित पर्यटन नीति निर्माणजस्ता पहलहरू अघि बढाइएको छ।
बैठकले चालु तथा आगामी आर्थिक वर्षका कार्ययोजना पारित गर्दै पर्यटक सुरक्षाका लागि पर्यटक प्रहरी भर्ना गर्ने, पदमार्ग मापदण्ड तयार गर्ने तथा प्रदेशको पर्यटन ब्रान्डिङ सुदृढ गर्ने निर्णय गरेको छ।
संघ, प्रदेश र स्थानीय तहको सहकार्य तथा स्वीस सरकारको सहयोगमा सञ्चालन भइरहेको यो परियोजना कोशी प्रदेशलाई दिगो, वातावरणमैत्री र सांस्कृतिक रूपमा समृद्ध पर्यटन गन्तव्य बनाउने महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले परियोजनाले प्रदेशको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment